७ वैशाख २०८१ शुक्रबार
विचार

नेपाली भाषाको स्तर

यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ सहभागी करिब ४ लाख ३७ हजार विद्यार्थीमध्ये नेपाली विषयमा केवल ६३ जनाले 'ए प्लस' ल्याए, जबकि अंग्रेजीमा उक्त ग्रेड प्राप्त गर्न २० हजारभन्दा बढी विद्यार्थी सफल भए। यसको सीधा अर्थ हुन्छ, विद्यार्थी आफ्नै राष्ट्रभाषामा सबैभन्दा कमजोर छन्। सरकारले विद्यालय तहमा नेपाली विषय अनिवार्य बनाएको छ। तर, सरकारी विद्यालय हुन् वा निजी दुवैतर्फका विद्यार्थी नेपाली विषयमा निकै कमजोर देखिएका छन्। निजी विद्यालयका विद्यार्थी त उसै पनि नेपालीभन्दा अंग्रेजी सहज मान्छन्। कारण पनि स्पष्ट छ, निजी विद्यालयमा नेपालीबाहेक अन्य सबै विषय सानो कक्षादेखि नै अंग्रेजी माध्यममा पढाइ हुन्छ। यसकारण विद्यार्थीको अंग्रेजी भाषा बलियो बन्दै जान्छ। सरकारी विद्यालयमा अन्य विषय पनि नेपाली माध्यमै पढाइन्छ, यसकारण पनि नेपाली बलियो हुनुपर्ने हो। तर, अवस्था त्यस्तो छैन। यस पटककको एसएलसीले सरकारी विद्यालयका विद्यार्थी पनि नेपालीमा अब्बल हुन सकेको देखाएन। समग्रमै पनि सरकारी र निजी विद्यालयबीचको स्तरको दूरी पछिल्लो समय झनै बढ्दै गएको छ।

कतिपय विद्यार्थी नेपाली विषयको पाठ्यक्रम रूचिकर नभएर झन्झटिलो भएको बताउँछन्। पाठ्यक्रम निर्माण तथा त्यसमा राखिने रचनाहरूमै पनि राजनीतिका नाममा भागबन्डा हुन थालेको विडम्बनापूर्ण स्थिति देखापरेको छ। साथै, नेपालीमा शुद्धाशुद्धि मिलाएर लेख्नै पनि विद्यार्थीका निम्ति कठिन काम भएको छ। यसले दुईवटा कुरा नमिलेको देखाउँछ। पहिलो, नेपाली भाषा सहज र वैज्ञानिक हुन सकेको छैन। दोस्रो, नेपाली विषयको पाठ्यक्रम अत्यन्तै अरूचिकर छ। थोरै समयमा धेरै लेख्न पर्नाले पनि नेपालीमा कम नम्बर आउने विद्यार्थीको गुनासो रहँदै आएको छ। यसबाहेक नेपाली विषयको उत्तरपुस्तिका जाँच्ने शिक्षकमा कम नम्बर दिने मानसिकता हुने आरोप पनि विद्यार्थीले विगत लामो समयदेखि लगाउँदै आएका छन्। पछिल्लो समय अधिकांश अभिभावकमा आफ्ना छोराछोरी नेपाली होइन, अंग्रेजी जानून् भन्ने चाहना बढ्दो छ। कतिपय विद्यालयमा नेपालीको कक्षाबाहेक अन्य समयमा अंग्रेजी बोल्नुपर्ने नियम छ। नेपाली बोलेमा सजाय र जरिवाना लिने विद्यालय यत्रतत्र छन्। टुटेफुटेका अंग्रेजी बोल्ने विद्यार्थीको मानमर्यादा बढी हुने, तर शुद्ध नेपाली बोल्नेलाई हेप्ने चलन अभिभावकबीच नै व्याप्त छ। यस्तो मानसिकता हाबी हुँदै जानाले क्रमशः नेपाली भाषा कमजोर बन्दै गएको छ। नेपाली भाषाको मुख्य जग भनेको वर्णविन्यास, वाक्य गठन, शब्दभण्डार हो, यसलाई मिलाएर लेख्न सक्दा नै भन्न खोजेको विषय सम्प्रेषणीय बन्न पुग्छ। तर, यी तथ्यमा न त विद्यार्थी न त शिक्षक कसैको पनि उचित ध्यान पुग्न सकेको छैन।

नेपाल बहुभाषी मुलुक हो। यहाँ करिब सवा सय भाषा बोलिन्छन्। कतिपयको मातृभाषा नेपाली नभएर अन्य छन्। तिनका निम्ति नेपाली विषय गाह्रो हुन सक्छ। शिक्षकले जति बुझाए पनि बु‰न कठिनाइ पर्न सक्छ, यस्तो अवस्थामा पाठ्यक्रमलाई सरस, सहज र रूचिकर बनाउनुको विकल्प रहँदैन। एकातिर विद्यार्थीमा क्रमशः नेपाली मोह कम हुँदै गएको छ भने अर्कोतिर नेपाली भाषालाई जटिल पार्न कथित भाषाविद् नै लागिपरेका छन्। केही समयदेखि नेपाली भाषालाई नयाँ रूप दिने नाममा यसको प्राचीन तथा स्थापित स्वरूपमै प्रहार गर्न थालिएको छ। यसमा नेपाल प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयस्थित नेपाली केन्द्रीय विभाग तथा भाषासम्बन्धी काम गर्दै आएका अन्य निकायले चासो लिनुपर्छ। भाषालाई आधुनिक बनाउने नाममा जटिल पार्नु वा केही व्यक्तिको सनक र लहडका भरमा नेपाली भाषालाई जथाभावी चलाउनु यो भाषाको हुर्मत लिनु हो। यस्ता क्रियाकलापबाट नेपाली भाषा बलियो र प्राञ्जल होइन, लोप हुने दिशामा उन्मुख हुनेछ। नेपालमा नेपाली भाषा सम्पर्क भाषाका रूपमा प्रयोग हुन्छ। कानुनी प्रयोजन होस् वा कार्यालयमा यही भाषाको प्रयोग हुन्छ। यसकारण पनि नेपाली विषयलाई बलियो पार्ने सवालमा सरकारीस्तरबाटै पहल हुनु जरुरी छ। सरकारले नेपाली विषय तथा भाषाको कक्षा र सिकाइ उपलब्धि सुधार गर्न नयाँ नीति बनाएरै अघि बढ्नुको विकल्प छैन।      

प्रकाशित: ३० श्रावण २०७३ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App