१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतले अदुवामा अवरोध हटायाे

काठमाडौं – नेपाली किसानलाई मर्का पर्ने गरी भारतले अदुवा निकासीमा लगाएको अवरोध खुल्ला गरेको छ । भारतले बिनाअवरोध अदुवा निकासी गर्न सहमति जनाएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
अदुवाको अवरोध खुलेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए । ‘अहिले मापदण्डलाई खुकुलो बनाएर थप सहज गर्न भारतीय पक्ष सहमत भएको छ,’ सैंजुले भने, ‘शुक्रबारबाट अदुवा निकासी सुचारु हुन्छ ।’

नेपाली अदुवालाई प्रवेश गर्ने दिने जानकारी काँकडभित्ता भन्सार कार्यालयमा पनि आइसकेको प्रवक्ता सैंजुले बताए । ‘कस्मटमा पनि सूचना आइसकेको छ,’ सैंजुले भने, ‘भारतीय पक्षले पोजेटिभ्ली कन्सिडर गरेको छ ।’ अदुवा निर्यात गर्न मन्त्रालयले भारतीय दूतावासमार्फत पनि पहल गरेको थियो । दूतावासले भारत सरकारलाई पनि समस्या सुल्झाउन पत्राचार गरेको थियो ।

भारतीय विदेशमन्त्री शुष्मा स्वराज नेपाल आएकै दिन अवरोध खोल्ने निर्णय भएको छ । तत्कालको लागि समस्या समाधान भए पनि अदुवा निकासीको दीर्घकालीन समस्या भने बाँकी नै रहेको मन्त्रालयले जनाएको छ । यो सिजनको अदुवा पठाउने सहमति भए पनि फेरि समस्या आउन नदिन हल भइरहेको सैंजुले बताए ।

नेपाल–भारत वाणिज्य सन्धिविपरीत नेपाली कृषि उपज निकासीमा भन्सारले अवरोध गर्ने गरेको छ ।  
भारतले कहिले चिनियाँ अदुवाको मिसावट र कहिले वस्तु तथा सेवा कर (जिएसटी)को कारण देखाएर नेपाली अदुवा आयातमा अवरोध गर्ने गरेको छ । करिब तीन वर्षयता नेपाली कृषिजन्य वस्तु भारत निकासीमा समस्या देखिँदै आएको छ । काँकडभिट्टा नाकामा नेपाली अदुवा अलपत्र पारेको यो तेस्रोपटक हो । अदुवा उत्पादक संघले यो सिजनमा आठ सय ट्रक अदुवा निकासी भइसकेको र दुई हजार पाँच सय ट्रक हाराहारी अदुवा निकासी हुन बाँकी रहेको जनाएको छ । देशको कुल अदुवामध्ये ३१ प्रतिशत उत्पादन पूर्वका जिल्लामा हुन्छ । नेपालमा बर्सेनि करिब पाँच लाख मेट्रिक टन अदुवा उत्पादन हुने गरेको तथ्यांक छ ।

भारतीय पक्षले नियतबस अबरोध गर्ने गरेको व्यवसायी बताउँछन् । कुनै जानकारी बिना भारतीय पक्षले एक्कासी निकासी रोक्दा लोड भएर भन्सार पुगेका अदुवा बिग्रिएर नेपाली व्यवसायीलाई ठूलो घाटा व्यहोर्नु परेको छ । लामो समय ट्रकमै अदुवा राख्दा कुहिएर किसानलाई क्षती भएको छ । ट्रक तथा मजदुरको खर्च व्यहोर्नु पर्दा व्यवसायी पनि चिन्तित छन् ।

वस्तु तथा सेवा कर (जिएसटी) प्रणाली लागू भएर  कर तिर्नुपर्ने भएपछि नेपाली पक्ष आफैंले अदुवा नल्याएको भारतीय भन्सार अधिकारीले आरोप लगाउँदै आएका थिए । नेपालमा उत्पादन हुने कृषि वस्तु अदुवाको मुख्य बजार भारत हो । भारतीय पक्षले हरेक वर्ष जसो नेपाली अदुवाको निकासीलाई समस्यामा पार्दै आएको छ । गत वर्ष दुई महिनासम्म विषादी मिसिएको र चिनियाँ अदुवा मिलावट भएको आरोप लगाउँदै भारतले अदुवा रोकेको थियो । तर, पछि प्रयोगशालामा परीक्षण हुँदा भारतीय दाबी असत्य ठहर भएको थियो ।

भारतीय पक्षले अवरोध गरेपछि व्यवसायीले अदुवा बंगलादेश पठाउन थालेको बताएका छन् । फूलबारी बंगलाबन्द मार्ग हुँदै अदुवा बंगलादेश जान थालेको बताए । बंगलादेश निर्यात भएको अदुवाको मूल्य भारतभन्दा प्रतिकेजी दुई रुपैयाँ बढी रहेको व्यवसायीको दाबी छ । यो मार्ग भारतले नेपाललाई तेस्रो देशसँग पारवहन सुविधा निश्चित गर्न उपलब्ध गराएको हो । यही मार्ग भएर २०५४ देखि बंगलादेशसँग आयात निर्यात गर्दै आएको छ ।यसअघि नौ वर्ष पहिले पनि नेपाली अदुवा बंगलादेश निर्यात भएको थियो । नेपालबाट इलाम जिन्जर एक्सपोर्ट प्रालिले बंगालदेशको ढाकास्थित एमआर ट्रेडर्सलाई अदुवा पठाउन थालेको जनाएको छ ।

 

 

प्रकाशित: १९ माघ २०७४ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App