coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हलेसीमा ठूला लगानीका होटल थपिँदै

स्वदेशी विदेसी पर्यटक तथा दर्शनार्थी लक्षित गरी हलेसी आसपासमा खुलेका होटल । तस्बिर : दमन राई-नागरिक

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा होटल थपिने क्रम बढेको छ । मध्यपहाडी लोकमार्गको स्तरोन्नति एवं दूधकोसीमा बनेको पक्की पुलका कारण सहज आउजाउको वातावबरण बनेसँगै त्रि–धार्मिकस्थल हलेसीमा सुविधा सम्पन्न होटल थपिने क्रम बढेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनलाई ध्यानमा राखेर हलेसीमा नयाँ होटलमा लगानी गर्ने बढेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । ‘हलेसी देश विदेशका पर्यटकको आस्थाको केन्द्र हो । यस क्षेत्रमा दैनिक हजारौं पर्यटक÷दर्शनार्थी आवतजावत भइरहन्छ,’ अध्यक्ष लयालुले भने, ‘हलेसीमा हुने भीडले लगानी सुरक्षित हुने र राम्रो प्रतिफल प्राप्त हुने भएकाले लगानीकर्ता नयाँ होटल थप्न उत्साहित भएको पाइन्छ ।’

हलेसी आसपासमा सानाठूला गरी करिब दुई सय होटल सञ्चालनमा छन् । सडक विस्तारसँगै हलेसी आउने पर्यटक तथा दर्शनार्थीलाई ध्यानमा राखेर रोयल हलेसी, होटल हलेसी भिलेज, पद्मा, जम्बाला रिसोर्ट, तारा, होली प्यालेस लगायत ठूला लगानीका होटल खुलेका छन् । अनिता, सांग्रीला, कल्याण, सायमी, नमो हलेसी, शिवकिरात, दुंदेलो, नाछिरिङ लगायत होटल पनि हलेसीका पर्यटकको रोजाइमा पर्छन् ।

हलेसीमा दुई–तीन वर्षको अवधिमा ‘अरुभन्दा फरक र सुविधायुक्त’ होटल थपिने क्रमले तीव्रता पाएको हो । हलेसीका चिउरीखोला हुँदै पुरीडाँडासम्मका सडक आसपासमा ग्राहकले अपेक्षा गरेअनुसारका नयाँ–नयाँ होटल थपिँदै गएको छ । यद्यपी, दैनिक हजारौं पर्यटक तथा दर्शनार्थी आउने हलेसीका होटलहरुले अझै पनि धान्न सकेको छैन । कतिपय नयाँ लगानीकर्ताले हलेसीमै करोडौंको लगानीमा होटल सञ्चालन गर्ने योजना बनाइरहेका अध्यक्ष लयालुले बताए ।

किरात, हिन्दु, बौद्धमार्गी र इसाई धर्मावलम्बीको धार्मिकस्थल हलेसी घुमफिर गर्ने, दर्शन गर्ने, भाकल पूरा गर्ने र ध्यान गर्नेको बाक्लो आउजाउ हुने गरेको छ । हलेसीमा काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, धरान, झापा लगायत छिमेकी देश भारतको सिक्किम, दार्जिलीङबाट तिर्थयात्री र पर्यटक आउने गरेका छन् । चीन, तिब्बत, भुटान, फ्रान्स लगायत कतिपय पर्यटक भने सिधै हेलिकप्टरमार्फत हलेसी आउने जाने गरेका छन् । हलेसीलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलकारुपमा बिकास गर्न सरसफाई, जग्गा अतिक्रमण, महंगी नियन्त्रण लगायतमा ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ ।

 

प्रकाशित: १९ माघ २०७४ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App