coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृत्रिम गर्भाधान अभियानले किसानको आर्थिकस्तर सुध्रदै

इलाम –  जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दुध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ।  आर्थिक वर्ष २०७३–७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२–७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो। 

पशुलाई कृत्रिम गर्भाधान गराउन किसान आजभोलि पशुसेवा प्राविधिकलाई सम्पर्क गर्न थालेका छन् । कृत्रिम गर्भाधानले दुध उत्पादन बढ्दै गएको किसानको भनाइ छ । गर्भाधानका लागि गाईलाई थला सार्नु नपर्ने, सजिलो हुने, समयको बचत हुने र चाहेको जातको सिमेन मगाई बाँच्छाबाँच्छी चाहेकै जातको उत्पादन गर्न सजिलो हुने भएकाले कृत्रिम गर्भाधान गर्न थालिएको हो । यसरी उत्पादन गरेको प्रजननयोग्य बाच्छी गाउँ तथा छिमेकी जिल्लामा बिक्री गर्ने गरेका छन्। 

जिल्लामा झण्डै ३५ वर्ष अगाडिदेखि नै कृत्रिम गर्भाधान शुरु भए पनि ४ वर्ष अघिदेखि जिल्ला पशुसेवा कार्यालयले थालेको अभियानको प्रभावले नश्ल सुधारसँगै दूध उत्पादनसमेत बढ्न थालेको पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्की बताउछन् । जिल्लामा दर्ता भएका र नभएका गरी २०० भन्दा बढी दुग्धजन्य उद्योग रहेका छन्। 

जिल्लामा आर्थिक वर्ष २०७३–७४ मा १ लाख २३ हजार ७०० मेट्रिक टन दुध उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७२–७३ मा १ लाख २१ हजार ५६२ मेट्रिक टन दुध उत्पादन भएको थियो । सरदर प्रतिलिटर रु ३८ देखि रु ४५ का दरले दुध बिक्री भएको छ । दुध बिक्रीबाट रु ४ अर्ब ७० करोड ६० हजार किसानले आम्दानी गरेका छन् । जिल्लामा उन्नत जातको करिब ४० हजार दुधालु गाई रहेको कार्यालयले जनाएको छ।  (रासस)

प्रकाशित: १८ माघ २०७४ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App