६ वैशाख २०८१ बिहीबार
राजनीति

के के छन् पहिलो प्रदेश सभा बैठकका एजेन्डा

हेटौंडा- प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक अहिले हेटौंडामा बसिरहेको छ। यो सातै प्रदेश मध्ये पहिलो पटक बसेको प्रदेश सभा बैठक हो। प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तोक्ने र प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गर्ने कार्यसूची रहेको छ।

त्यस्तै बुधबार साँझ बसेको सर्वदलीय बैठकले सभामुखले प्रदेश प्रमुखबाट अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउने, प्रदेश सभाको ऐतिहासिक पहिलो अधिवेशन प्रारम्भका अवसरमा प्रदेश नम्बर ३ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक  दलका एक/एक जना र एक स्वतन्त्र सांसदलाई बोल्न दिने निर्णय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। साथै संसदमा सभामुखको अनुपस्थितीमा अध्यक्षता गर्ने सांसदको मनोनयन गरी प्यानल तयार गर्ने निर्णय गरेको सर्वदलीय बैठकले सभामुख निर्वाचन माघ २९ गते प्रस्ताव गर्ने पनि छ। बैठकको संसद्का जेष्ठ सदस्य ७१ वर्षीय डोरमणि पौडेलले अध्यक्षता गरेका छन् ।

संविधानको धारा १८२ मा प्रदेशसभाको पहिलो बैठक भएको १५ दिनभित्र सभामुख र प्रदेश उपसभामुखमध्ये एक महिलाको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने सभामुख वा उपसभामुख फरक–फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था छ।

सभामुख र उपसभामुखको छनोटपछि प्रदेश अधिवेशन धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन अह्वान गर्नुपर्ने व्यवस्था छ।
प्रदेशसभामा एमालेका ५८, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २१, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, नयाँ शक्ति पार्टी नेपाल, राप्रपा र राप्रपा(प्रजातान्त्रिक)का १–१ जना सांसद रहेका छन्।

 

प्रकाशित: १८ माघ २०७४ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App