७ वैशाख २०८१ शुक्रबार
समाज

अनुसन्धान गर्न म्याद थप

काठमाडौं– अनुमति नलिई अस्पताल सञ्चालन गरेको अभियोगमा पक्राउ परेका  सञ्चालक र विदेशी डाक्टरलाई  थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले एक साता म्याद थप गरेको छ । तीनजना सञ्चालकसहित १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पहिलो एक साताका लागि म्याद थप गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए । 

‘एक साता म्याद थपेर अनुसन्धान सुरु गरेका छौं, अनुसन्धान नसकिए पुनः म्याद थपका लागि आग्रह गर्छौं,’ श्रेष्ठले भने । सिआइबीले नियामक निकाय नेपाल मेडिकल काउन्सिलबाट अनुमति नै नलिई विदेशी चिकित्सकले काम गरिरहेको सूचनाका आधारमा गत सोमबार उनीहरुलाई पक्राउ गरेको थियो । ठमेलको एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, चाइना डेन्टल, चाइना पिपुल तथा सिबिक अस्पतालमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये अधिकांश चिनियाँ डाक्टर छन् ।  पक्राउ पर्नेमा अपोलो इन्टरनेसनल पोलिक्लिनिक ठमेलकी सञ्चालक मीनाकुमारी श्रेष्ठ तथा उक्त अस्पतालमा कार्यरत हुवाङ शावेन, पान माइ सङ, जेङ सुह्वा, लुव लिमिङलगायत आठ चिनियाँ डाक्टर छन्।

त्यस्तै सिविक अस्पताल लैनचौरकी सञ्चालक प्रतिभा पाण्डेसहित एकजना अस्ट्रेलियन डाक्टर पक्राउ परेका थिए । चाइना ग्रेटवाल हेल्थ सेन्टर बौद्धका सञ्चालक नारायण तिमिल्सिनासहित त्यहाँ कार्यरत दुई चिनियाँ डाक्टर पनि पक्राउ परेका छन् । चाइना पिपल्स अस्पताल बौद्धबाट दुई चिनियाँ डाक्टर तथा चाइनिज डेन्टल अस्पताल बौद्धबाट एक चिनियाँ डाक्टर पक्राउ परेका छन्।

नेपालमा विदेशी डाक्टरले काउन्सिलको अनुमति लिएरमात्र काम गर्न पाउँछन् । काउन्सिलले नेपालमा नभएका विशेषज्ञलाई मात्र अनुमति दिने गर्छ । त्यसरी अनुमति लिएकाले दुर्गम ठाउँमा पनि गएर काम गर्नुपर्ने हुन्छ । विदेशी डाक्टरले काठमाडौं उपत्यकाभित्रै अनुमति नलिई काम गरेको सूचनाका आधारमा उनीहरुलाई सिआइबीले पक्राउ गरेको हो ।

प्रकाशित: १८ माघ २०७४ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App