काठमाडौं – नेपाली कांग्रेसभित्र गुटहरू स्थायी बन्दै जाँदा दोस्रो तहका नेताहरू नेतृत्वलाई चुनौती दिनेभन्दा उनीहरूको मुख ताकेर नेतृत्वमा पुग्ने रणनीतिमा जुटेका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कांग्रेसमा नेतृत्व परिर्वतनबारे बहस सुरु हुँदा दोस्रो तहका नेताहरू भने नेतृत्वको कमी कमजोरीबारे मौन देखिएका हुन्।
पार्टीको १३ औं महाधिवेशनमै शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई चुनौती दिंदै सभापतिको प्रत्यासी बनेका नेता कृष्णप्रसाद सिटौलाले समेत नेतृत्व परिर्वतनबारे मुख खोलेका छैनन् । देउवा र पौडेल निटक दोस्रो तहका अधिकांश नेता नेतृत्वको मुख ताकिरहेका छन्।
कोइराला, निधि र सिंहप्रति पार्टी नेता तथा कार्यकर्ताको श्रद्धा अहिले पनि छ । तर, अब त्यतिले मात्र पुग्दैन । पार्टीलाई अघि बढाउने नीति कार्यक्रमसहित आउनुपर्छ।
यी दुई नेतापछि कांग्रेस नेतृत्वमा पुग्ने नेताका रूपमा महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि, रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइरालालाई हेर्ने गरिएको छ । तर,पार्टीलाई अघि बढाउने योजना र कार्यक्रमसहित नेतृत्वको दाबी गर्नुको साटो उल्टै दुई ठूला गुटको नेतृत्व गर्ने सभापति देउवा र नेता पौडेलको मुख ताकिरहेका छन्।
केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीभित्र यतिठूलो संकट आउँदासमेत दोस्रो पुस्ताका नेताहरुले नेतृत्वका लागि आँट नगरेको सुनाए। ‘सभापति र वरिष्ठ नेता जसलाई पहिलो पुस्ता भनिरहेका छौं, उहाँहरूले देश र पार्टीलाई ठूलो योगदान गर्नुभएको छ,’ पौडेलले भने, ‘त्यसपछिका नेताहरूको पनि योगदान र अनुभव प्रशस्त छ । तर, उहाँहरू नेतृत्वका लागि आँट गरिरहनु भएको छैन।’
गाउँ तहसम्म गुटहरू कसिँलो हुँदैजाँदा नेतृत्वलाई चुनौती होइन सहयोगीको भूमिकामा देखिएका छन् । आगामी महाधिवेशनबाट आफ्नो पोल्टामा नेतृत्व ल्याउन भन्दै देउवा वा पौडेल नै नेतृत्वका लागि तयार देखिए उनीहरूलाई नै स्वीकार गर्ने देखिन्छ । यद्यपी उनीहरूले आफ्ना स्वार्थ पूरा गर्न उपगुट र समुह निर्माणमा भने समय खर्चेने गरेका छन्।
‘पार्टीभित्र गुटहरू स्थायी र बलियो हुनपुग्दा नेतृत्व रिसायो भने अप्ठेरो पर्नसक्छ भनेर उसैलाई खुसी बनाएर अघि बढ्ने प्रवृत्ति देखिएको छ,’ केन्द्रीय सदस्य प्रदीपले भने, ‘यसले नेतृत्व विकास पनि हुँदैन आन्तरिक लोकतन्त्रलाई बलियो पनि बनाउँदैन ।’
उपसभापतिको प्रतीक्षामा रहेका महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रले देउवापछि उक्त गुटको नेतृत्व गर्ने धेरैको आकलन छ । तर, १४औं महाधिवेशनमा उनको भूमिका कस्तो हुन्छ भन्नेमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाकै हातमा रहेको निकटहरू बताउँछन् । देउवा नै आगामी महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बन्ने अवस्थामा निधिसहितका गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँणसहितका नेताहरू प्रत्यासी होइन अहिलेसम्म सहयोगी बन्ने देखिन्छ ।
पार्टीको १३औं महाधिवेशनमा सभापतिमा पराजित पौडेल आगामी महाधिवेशनमा अझै प्रत्यासी बन्ने सम्भावना रहेको निकटहरू बताउँछन् । गुटको महासंघ जस्तो रहेको पौडेल समुहमा भित्र उनले निकट महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह र पूर्वसहमहामन्त्री महतसँग सहयोग माग्न पनि सकेका छैनन्।
बिपी पुत्रसमेत रहेका महामन्त्री कोइराला नेता पौडेल मात्र होइन सभापति देउवाको समेत समर्थनमा सभापतिको प्रत्यासी बन्ने रणनीतिमा रहेको निकटहरूको दाबी छ । गणेशमानपुत्र सिंह पौडेल गुटको नेतृत्व गर्दै संसदीय दलको नेता र पार्टी सभापतिको प्रत्यासी बन्न चाहन्छन् । तर त्यसका लागि पौडेल र कोइरालासहितका नेताको समर्थनको उनी प्रतीक्षामा छन् ।
फेरिएको परिवेशअनुसार पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन अब नयाँ ढंगबाट सोच्ने र अघि बढ्ने नेतृत्व आवश्यक रहेको प्रदीपले औंल्याए । ‘अहिले जे देखिएको छ त्यो स्वभाविक होइन,’ उनले भने।
बदलिँदो परिस्थितिअनुसार पार्टीलाई अघि बढाउन अहिलेको नेतृत्वले नसक्ने बताउँदै युवा केन्द्रीय सदस्यहरूले ७० वर्ष पार गरेका नेताहरूले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने पक्षमा उभिएका छन्।
तर, कांग्रेस पुराना नेता पुरुषोत्तम बस्नेतले बिपी कोइरालाले ३४ वर्षमै नेतृत्वमा पुगेको २०४६को आन्दोलनको नेतृत्व गर्दा गणेशमान सिंह ७५ वर्ष मात्र भएको र ८० वर्ष पूरा भएका गिरिजाप्रसाद कोइरालाले २०६२÷०६३को आन्दोलनको नेतृत्व गरेको सुनाए । ‘कांग्रेसमा पहिलो, दोस्रो पुस्ता र उमेरको कुनै सीमा छैन,’ उनले भने, ‘जसले जनताको विश्वास जित्छ उसैले नेतृत्व गर्ने हो, उमेरले होइन।’
संघीयतासहित मुलुक नयाँ संरचनामा गएपछि सोहीअनुसार पार्टीलाई अघि बढाउन सक्ने नेतृत्व कांग्रेसलाई खाँचो रहेको उनले बताए । ‘पार्टीलाई इनट्याक राख्नु अहिलेको पहिलो आवश्यकता हो,’ बस्नेतले थपे, ‘प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि मुलुक र कांग्रेस नयाँ फेजमा प्रवेश गरेको छ । त्यसअनुसार पार्टीलाई अघि बढाउने नीति र कार्यक्रम ल्याउनेले नै नेतृत्व गर्छ।’
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ तेस्रो स्थानमा धकेलिएको पार्टीलाई माथि उठाउन विधानमा पनि आमुल परिवर्तन आवश्यक रहेको उनले सुनाए । ‘नेतृत्व खोज्ने मात्र होइन नयाँ काम र कार्यक्रमको खाका ल्याउन सक्नुपर्छ,’ उनले भने, ‘अब काम गरेर देखाउन सक्नुपर्छ।’
पार्टी नेतृत्वमा नेतापुत्र त्रय कोइराला, निधि र सिंहतिर नेता तथा कार्यकर्ताले आँखा लगाइरहेका बेला बस्नेतले भने, ‘उहाँहरूप्रति पार्टी नेता तथा कार्यकर्ताको श्रद्धा अहिले पनि छ । तर, अब त्यतिले मात्र पुग्दैन । पार्टीलाई अघि बढाउने नीति कार्यक्रमसहित आउनुपर्छ।’
बिपी कोइरालादेखि जिपी कोइराला जस्ता नेता कांग्रेसमा नरहेको सुनाउँदै उनले भने, ‘एउटा व्यक्तिबाट अब कांग्रेस चल्न सक्दैन । सामुहिक नेतृत्वसहित पार्टीलाई अघि बढाउनुपर्छ।’
प्रकाशित: १८ माघ २०७४ ०२:३४ बिहीबार