८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेशसभा दोस्रो बैठकमा सभामुख निर्वाचन

काठमाडौं – सातवटै प्रदेशमा प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ। प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४  बमोजिम प्रदेशसभा बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन गराउनुपर्ने र नवनिर्वाचित सभामुखले उपसभामुखको निर्वाचन गराउनुपर्ने भएका कारण पहिला सभामुखको निर्वाचन गर्न लागिएको हो।

कार्यविधिको दफा ६ मा उल्लेख छ ‘सभामुखकोे निर्वाचन प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले तोकेको दिन र समयमा हुनेछ तथा त्यसको सूचना सचिवले प्रकाशन  गर्नेछ।’  

यसैगरी, दफा ७ लेखिएको छ  ‘उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ तथा त्यसको सूचना सचिवले प्रकाशित गर्नेछ।’

संविधानबमोजिम  १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सकाउनुपर्ने भएकाले सभामुखको निर्वाचन प्रक्रिया बैठक सुरु भएलगत्तै गर्न लागिएको हो । संविधानको धारा १८२ (१) मा प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने उल्लेख छ।

सामान्यतया संसद्को पहिलो बैठक बसेको एक सातासम्म बैठक स्थगित गर्ने परम्परा हुन्छ । ‘एक सातापछि सुरु हुने बैठकमा सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था छ’, स्रोतले भन्यो । सभामुखको निर्वाचन प्रक्रिया सुरु भएको एक वा दुई दिनमै निर्वाचन सम्पन्न हुनेछ । प्रदेशमा दलीय रुपमा बोल्ने सदस्यहरू पनि धेरै नभएका कारण एकै दिन सभामुखको निर्वाचन सम्पन्न हुनसक्ने पनि देखिएको छ । सभामुखको निर्वाचनलगत्तै उपसभामुखको चयन प्रक्रिया थालिनेछ।  प्रदेश १ ले माघ २२, प्रदेश २ ले माघ २१, प्रदेश ३ ले माघ १८, प्रदेश ४ ले  माघ २२ , प्रदेश ५, ६ र ७ ले माघ २१ मा अधिवेशन बोलाएका छन् । प्रदेश  १ र ४ मा फागुन ८ गतेसम्म  सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्नेछ । प्रदेश ३ मा फागुन ४ भित्र र बाँकी प्रदेशमा फागुन ७ भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ।

अन्तरिम कार्यविधिमा उल्लेख भएअनुसार सभामुखको निर्वाचनका लागि तोकिएको दिनको निर्धारित समयभित्र कुनै सदस्यले अर्को कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने अनुसूची–१ बमोजिमको ढाँचामा प्रस्तावको सूचना सचिवलाई दिनुपर्नेछ।  

प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ । त्यस्तो प्रस्तावको सूचना एउटामात्र प्राप्त भए समर्थक सदस्यले बोलिसकेपछि बैठकमा अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ । सभामुखका लागि एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भए प्रस्तावक सदस्यले दर्ता क्रमनुसार प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि बैठकमा अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछ ।  निर्णय दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ।

सभामुखका लागि एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भई निर्णयार्थ प्रस्तुत गर्दा जुन प्रस्ताव प्रदेशसभाको सम्पूर्ण सदस्यहरुको बहुमतबाट पारित हुन्छ, त्यस्तो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने छैन ।  यसैगरी, उपसभामुखको निर्वाचन प्रक्रिया सभामुख निर्वाचन प्रक्रिया अनुसारै हुनेछ । आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखले प्रदेश प्रमुखसमक्ष र उपसभामुखले सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ।

प्रकाशित: १८ माघ २०७४ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App