६ वैशाख २०८१ बिहीबार
अर्थ

फागुन ३ देखि प्रदेशस्तरीय पाल्पा महोत्सव

पाल्पा – आगामी फागुन ३ देखि १३ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा पाल्पा महोत्सव–२०७४ हुने भएको छ। आयोजक पाल्पा उद्योग वाणिज्य संघले बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय महोत्सव सञ्चालन गर्न लागिएको जानकारी गराएको हो।

संघले १२ औं संस्करणका रुपमा गर्न लागेको महोत्सव संघीयतामा गइसकेको अवस्थामा प्रदेश नम्बर ५ अन्तर्गतका २७ उद्योग वाणिज्य संघहरुसँगको समन्वयमा गर्न लागिएको जानकारी दिएको हो। कृषि, शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटनलाई प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको संयोजक मोहनप्रसाद श्रेष्ठले बताए। महोत्सवको आम्दानीबाट पर्यटन क्षेत्र प्रवर्द्धन, जिल्लाको उद्योग व्यवसायको विकास र ५ प्रतिशत टुँडिखेल मैदान स्तरोन्नतीमा खर्च गर्ने लक्ष्य राखिएको संघले जनाएको छ।

महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका साथै धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो ग्यालरी र स्वरुप प्रदर्शनी रहनेछन्।  महोत्सवमा स्थानीय कलाकारका साथै स्थानीय संस्कृति जस्तै वालन नाच, घाटु नाच, लाखेनाच प्रदर्शन हुनेछ। बालउद्यान, बैंक तथा वित्तिय संस्थाहरु, अटो मोबाइल्सका स्टल र नेवारी तथा मगरी खानाका परिकारहरु समेत रहने महोत्सवमा राखिने भएको छ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसँगै विभिन्न प्रतियोगिता र विभिन्न कलासंस्कृति प्रदर्शनी गरिने कार्यक्रम रहेको छ। सो अवसरमा खुला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना पनि गरिने भएको छ। महोत्सवले जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवाका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवर्द्धनमा सहयोग पु¥याउने बताईएको छ। महोत्सव आर्थिक तथा सामाजिक रुपान्तरणको ढोका खुल्न सहयोगी बन्ने आयोजकको दावी छ। महोत्सवमा चार सय बढी स्टलहरुको सहभागिता रहने छ।

प्रकाशित: १७ माघ २०७४ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App