६ वैशाख २०८१ बिहीबार
समाज

छाउपडीविरुद्ध विद्यार्थी संगठनको जागरण अभियान

अछाम – छाउपडी प्रथा अन्त्यका लागि संयुक्त विद्यार्थी संगठनका केन्द्रीय नेताहरू जागरण अभियान लिएर अछाम पुगेका छन्। प्रदेश नम्बर ६ र ७ मा व्याप्त छाउपडी प्रथाका कारण महिलाले अकालमै ज्यान गुमाउनु परिरहेकोप्रति चिन्ता व्यक्त गर्दै जनचेतना जगाउन जागरण अभियान लिएर अछाम आएको संयुक्त विद्यार्थी संगठनले जनाएको छ।

संगठनले बुधबार अछाममा सर्वदलीय सर्वपक्षीय भेलाको आयोजना गर्दै छाउपडी प्रथा उन्मुलनका लागि राय सुझाव संकलन गरेका छन्। संकलित सुझावको आधारमा प्रतिवेदन तयार पारी सरकारलाई छाउपडी प्रथा उन्मुलनका लागि दबाब दिन प्रतिवेदन बुझाइने नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प कुमार शाहीले बताए।

हरेक कालखण्डमा विकृती र विसंगतीविरुद्ध विद्यार्थी अग्र मोर्चामा रहेर काम गरेको बताउदै अनेरास्ववियु अध्यक्ष नविना लामाले छाउ बार्ने कुप्रथा अन्त्यको लागि डटेर लाग्ने प्रतिबद्धता जनाइन्। ‘आधा आकाश ढाक्ने महिलाहरू नै हुन्’, लामाले भनिन्, ‘सुदूरपश्चिममा महिलाले जीवन जोखिममा राखेर छाउ बार्नु परिरहेको छ। यो कुनै एक व्यक्ति वा क्षेत्रको मात्र समस्या नभएर समग्र देशको समस्या हो। यसको अन्त्यको लागि संयुक्त विद्यार्थी संगठनले नेतृत्व लिइसकेको छ। अब यो समस्यालाई किनारा लगाएर छोड्ने छ।’

अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष विजय गौतमले छाउपडी प्रथाविरुद्ध पहिलो चरणको कार्यक्रम अछाम र दैलेखमा गरिने बताए। यो अभियानलाई प्रदेश नम्वर ६ र ७ का अन्य जिल्लामा पनि विस्तार गरिने उनको भनाई छ। अभियानमा लामा, शाही र गौतम सहभागी छन्।

कार्यक्रमका सहभागिहरूले शिक्षित बर्ग र दलका नेताहरूले नै छाउपडी बार्ने गरेकाले अझै समस्या थपिएको धारणा राखेका थिए।  बर्षेनी महिनावारी भएको समयमा छाउगोठमा अकालमा ज्यान गुमाउनु दुःखद् रहेको सरोकारवालाहरूले बताएका छन्। केही दिन पहिले जिल्लाको तुर्माखाँद गाउँपालिका–३ की २२ बर्षीया गौरी बुढाले छाउपडी गोठमै ज्यान गुमाएपछि सरोकारवाला पुनः जुरमुराएका छन्।

महिला मानवअधिकार रक्षक संजाल अछामी अध्यक्ष मना अधिकारीले पहिलेको भन्दा अहिले महिला महिनावारी हुँदा घरमै बस्ने क्रमम बढेको पनि पूर्ण रूपमा निर्मुल हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन। उनले जनप्रतिनिधिले छाउपडी प्रथा उन्मुलनका प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समेत बताइन्।

सरकारले कानून बनाएर छाउपडी प्रथालाई प्रसय दिनेलाई दण्ड जरिवानाको व्यवस्था गरेपनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या झन जटिल बनेको रामारोशन गाँउपालिकी उपप्रमुख सरस्वती रावलले बताइन्। छाउडी प्रथा अन्त्यका लागि सबैभन्दा पहिला घरकै मान्छेमा चेतना जागृत हुनुपर्ने उनको धारणा छ। घरमा आमा–बुबा, दाजु–भाई, श्रीमान र ससुराले चाहेमा सबै महिला महिनावारी भएको बेला गोठ छोडेर घरमा बस्न सक्ने उनले बताइन्।

पछिल्लो करिव डेढ दशकको अवधिमा अछाममा गोठमै १३ महिलाले ज्यान गुमाएको तथ्याङ्क छ।

प्रकाशित: १७ माघ २०७४ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App