जीवन यात्रा

हजारौँ बालबालिकाका जीवनदाता: डा. मणिन्द्ररञ्जन बराल

बुधबार, १७ माघ २०७४, १५ : २५ विश्वमणि पोखरेल

असीको उमेरमा हिँडिरहेका बाल चिकित्सक डा. मणिन्द्ररञ्जन बरालको डेढ दसक यताको परिचय प्राध्यापक हो र उनी काठमाडौं मेडिकल कलेज (केएमसी)को स्थापनाकालदेखि आबद्ध छन् । सरकारी डाक्टरका रुपमा विभिन्न अस्पतालमा ३० वर्ष सेवा गरेका डाक्टर अहिले आफ्नो जीवनको भोगाई अक्षरमा उतार्ने अभियानमा छन् । केएमसीस्थित उनको कार्यकक्षमा भेट हुँदा हातमा १५० पृष्ठको पाण्डुलिपि थियो र भन्दै थिए ‘भोलि एउटा सेमिनारका लागि भारत जाँदैछु, त्यहाँ एकसाता बसेपछि फुर्सद भएको समयमा यसमा सम्पादन, पु्रफिङको काम गर्ने सक्ने विचारमा छु ।’ साहित्यकार ईश्वर बरालका उनी साख्य भाइ हुन् । उनले गर्व गर्दै थपे, ‘म पनि ईश्वर बरालको भाइ हो, थोरबहुत साहित्यको रस पनि छ । त्यसैले आफ्नो भोगाई आफैँ लेख्ने योजना बनाएँ ।’ लामो सयम बाल चिकित्सकको ख्याति कमाएका बरालको जीवनीलाई अक्षरमा उतार्न गोस्ट राइरटहरू पछि नलागेका भने होइनन् । उनी अरुबाट लेखिन मानेनन् । 

उनले उपचार गरेका कतिपय बालबालिका अहिले मुलुकको राजनीतिक, सामाजिक क्षेत्रमा नेतृत्व गरिरहेकोमा उनलाई सन्तोष लाग्छ ।

दार्जिलिङ—बनारस—काठमाडौ—बनारस—ग्वालियर 
डा. बरालको जन्म सिरहाको बस्तीपुरमा वि.सं. १९९४ (सन् १९३७) बाबु देवरञ्जन र आमा भुवनेश्वरीको साँहिला छोराका रूपमा भएको हो । उनको प्रारम्भिक शिक्षा संस्कृतमा भएको हो । बाबु त्यसबेलाका प्रख्यात पण्डित थिए र आमा पनि त्यसबेलाको जमानमा लेखपढ गर्न सक्ने थिइन् । उनले विदुषी आमा भुवनेश्वरीबाट अक्षराम्भ गरेका हुन् । घरमै संस्कृतमा प्रथमा र मध्यमाको अध्ययन गरेका हुन् । घरमै अध्ययन गर्ने र भारत विहारको मधुवनीबाट जाँच दिएर प्रथमा उत्तीर्ण गरेका मणिन्द्र  २००४ सालमा बस्तीपुरमा स्कुल स्थापना भएपछि आधुनिक शिक्षामा मोडिएका हुन् । २००७ सालमा ६ कक्षामा भर्ना भएको उनी सम्झन्छन् । ‘त्यसबेला खुलेको बस्तीपुर स्कुल अहिलेसम्म पनि नामुद छ, बस्तीपुरका महिषपालहरूले एसएलसी गरेका हुन्छन् भनिन्थ्यो,’ उनी ठट्यौली गर्छन् । नेपालका सरकारी स्कुलहरूमा अहिले पनि राम्रो कहलिएको बस्तीपुरमा भने उनी लामो समय पढेनन् । ७ कक्षा पास गरेपछि उनलाई परिवारले दार्जिलिङमा पढाउने निर्णय ग¥यो । त्यस बेला उनका जेठा दाजु ईश्वर बराल दार्जिलिङमा शिक्षण पेसामा जमेका थिए । उनी बस्तीपुर छोडेर परिवारजनको करबलकै कारण दार्जिलिङ गए । त्यहाँ उनले क्रिस्चियन  टर्नबल हाइस्कुलमा ८ कक्षा पढे । बाहुनको छोरा, टुप्पी पालेर रुद्री, चण्डी वाचन गरेको पृष्ठभूमिका मणिन्द्र दार्जिलिङमा भने बाइबालको पाठबाट कक्षा सुरु गर्थे । दार्जिलिङमा उनी लामो समयसम्म बसेनन् । ८ कक्षाको पढाइ सकिएपछि उनी बनासर आए । दाजु ईश्वर बरालले बनारसको सेन्ट्रल हिन्दु स्कुलमा भर्ना गराए । बरालका निम्ति दार्जिलिङको क्रिस्चियन स्कुलमा बाइबल पढेर कक्षा सुरु गर्ने चलनविपरीत बनारसको स्कुलमा भने खानाअघि, सुत्नुअघि, साँझ–बिहान संस्कृतमा पाठ र ईश्वर बन्दना हुन्थ्यो । पछि  पेसाका क्रममा कुनै धर्मप्रति आशक्ति र विरोध नराख्ने बरालका लागि बनारसको माहोलले आकर्षित गरेको थियो । बराल भन्छन्, ‘बनारसको दार्जिलिङ भन्दा भिन्न वातावरण थियो, त्यो मलाई मन प¥यो ।’ बनासरबाट हाइस्कुल परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि उनी काठमाडौं आए । त्रिचन्द्र कलेजमा आइएस्सीमा भर्ना भए । त्यतिबेलासम्म ईश्वर बराल पनि त्रिचन्द्रमै अंग्रेजी पढाउन थालिसकेका थिए । दाजु पढाउने, भाइ पढ्ने भए पनि त्रिचन्द्रमा उनी जम्न सकेनन् । पढाइ नहुने, हडताल भैरहने र विद्यार्थीहरू राजनीतिमा लागिरहने त्रिचन्द्रको पढाइबाट आइएस्सी गर्न नसकिने र डाक्टर बन्ने सपना अधुरै हुने डरले बराल पुनः बनारस नै हान्निए । उनी भन्छन्, ‘त्यसबेला बनारस पढन जाने निधो गरेर मैले राम्रो गरेँ, यहीँ बसेको भए डाक्टर हुन पाइन्थ्यो वा पाइन्नथ्यो भन्न सकिन्न ।’ काशी विश्वविद्यालयको सेन्ट्रल हिन्दु कलेजबाट आइएस्सी दोस्रो श्रेणीमा पास बरालले काठमाडौं फर्किएलगत्तै कोलम्बो प्लानअन्तर्गत भारतको ग्वालिएरस्थित गजराज मेडिकल कलेजबाट एमबिबिएस गरे । 

  अम्बरको संगीत, बरालको संस्कृत 
दार्जिलिङको छोटो बसाइले उनमा एउटा छाप छोडेको छ । त्यो भनेको सहपाठी अमर गुरूङसँगको संगत । संस्कृत पृष्ठभूमिका बराल दार्जिलिङको क्रिश्चियन स्कुलमा पपुपर बने । कारण, त्यसबेला स्कुल शिक्षामा संस्कृत अनिवार्य थियो र बराल आफ्ना दौँतरीलाई संस्कृत सिकाउन सक्ने थिए । संगीतमा रुचि राख्ने अमर गुरूङ र संस्कृतमा दखल राख्ने बरालबीच घनिष्ठ सम्बन्ध बन्यो । बराल भन्छन्, ‘मैले अमरबाट संगीत सिकेँ, मबाट उनले संस्कृत सिके ।’ किशोरावस्थामा अमरलाई गुरु थापेर सिकेको संगीत अहिले पनि उनले बिर्सेका छैनन् । ‘म त्यसबेला तबला बजाउँथेँ,’ उनले भने, ‘पछि सिक्दै जाँदा धेरै बाजा बजाउन थालेँ । अहिले पनि ६÷७ वटा खालमा बाजा बजाउन सक्छु । डाक्टरी कामबाट फुर्सद पाएको समयमा संगीतमा रम्छु, संगीत डुब्न पाउँदा खुसी लाग्छ ।’ 

३० वर्षे सरकारी जागिर 
ग्वालिएरबाट डाक्टरी पढेर काठमाडौं आएपछि बराल जागिरे जीवनमा प्रवेश गरे । उनी सुरुमा जेलका डाक्टर भए । राजधानीका सेन्ट्रल, भद्रगोल जेलमा रहेका राजनीतिक नेता, चोर, फटाहा, डाँकाहरूको चेकचाँच गर्नु उनको काम थियो । २०१७ पुस १ मा राजा महेन्द्रले प्रजातन्त्र ‘कू’ गरेपछि ठूलो संख्यामा कांग्रेस नेता, कार्यकर्ता जेलमा थिए । जहाँ उनकै आफ्नी बहिनी विजया बराल पनि थुनिएकी थिइन् । राजा महेन्द्रलाई कालो झण्डा देखाएको अभियोगमा शैलजा आचार्य, गौरी राणा, कुन्दन शर्माहरू जेल परेका थिए । सहिद दुर्गानन्द झा, कांग्रेस नेता तारिणीप्रसाद कोइराला, मंगलादेवी सिंहजस्ता नेताहरूको उपचार गरेको उनलाई सम्झना छ । राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गर्ने दुर्गानन्द झाले कांग्रेस नेता सरोज कोइरालाको हत्यामा सहयोग गर्न अस्वीकार गरेपछि उनलाई जनकपुरबाट काठमाडौं सेन्ट्रल जेलको कालकोठरी ‘गोलघर’ मा राखेको बुझाइ बरालको छ । झालाई गोली ठोकेर हत्या गरेको २०२० माघ १५ को त्यो दिन जेलका हातामा छरिएको मुर्दा शान्ति जेलमा रहेका नेताहरूमा देखिएको सन्त्रासलाई उनी अहिले पनि सम्झन्छन् । मौखिक कानुनका आधारमा मृत्युदण्ड सुनाउनुअघि झाकी कलिली श्रीमती र परिवारका अन्य सदस्यलाई भेट्न दिइएको उनी बताउँछन् । मृत्युदण्ड दिनुअघि त्यस्ता मानिसको स्वास्थ्य जाँच गर्ने भनिएकाले आपूmले त्यसदिन अपर्झट बिदा लिएको उनी सम्झँदै भन्छन्, ‘झाले आफ्नो अन्तिम इच्छामा लोकतन्त्रका लागि म हाँसीहाँसी मर्न तयार छु भनेका थिए ।’ 
त्यसबेला जेलमा रहेका नेताहरू ठूलो रोग लागेको भन्दै जेल बाहिरका अस्पतालहरूमा जान चाहने र पञ्चायती व्यवस्था भने सकेसम्म कुनै पनि नेतालाई जेलबाहिर जान नदिने नीतिमा रहेको उनी बताउँछन् । ‘हामी डाक्टरहरूलाई नेतालाई जेलभित्रै विशेषज्ञ सेवा आवश्यक परे उपलब्ध गराउनु तर बाहिर निस्कन नदिनु भन्ने गृहको आदेश थियो,’ बराल भन्छन्, ‘नेताहरू भने बिरामी परेको बहाना गर्दै अस्पतालमा जान दबाब दिन्थे, हामी दोहोरो मारमा थियौं ।’ 

बाल अस्पतालमा अढाई दसक 
जेलको डाक्टर भएर कार्यरत रहिरहँदा बराल बिहान वीर अस्पतालमा बाल रोग आउटडोरमा काम गर्थे । पछि उनी वीर अस्पतालको आर.एम.ओ. (रेजिडेन्ट मेडिकल अफिसर) नियुक्त भए । वीर अस्पतालमा कार्यरत रहेकै समयमा उनले बालरोग विशेषज्ञताको छात्रवृत्ति पाएपछि बेलायत गए । यहीबीच २०१८ सालमा उनको विवाह सुस्मिता गौतमसँग भयो । नवदुलहीका साथ उनी बेलायततर्फ लागे । बेलायतमा आफूले र पत्नीले पनि काम गरेकाले त्यस कालखण्डलाई उनी ‘लर्निङ एन्ड अर्निङ’ अवधि भन्ने गर्छन् । बेलायतबाट बाल विशेषज्ञको अध्ययनपछि उनी पुनः वीर अस्पताल फर्किए । त्यसबेला वीर अस्पताल, अमेरिकीले चलाएको शान्त भवन (अहिलेको पाटन) अस्पताल र रसियनले बनाएकाले रसियन अस्पताल भनिने अहिलेको बाल अस्पताल थिए । ‘रसियनले बनाएर केही वर्ष चलाएपछि सरकारलाई जिम्मा दिए । त्यसपछि अस्पताल लथालिंग भयो,’ बराल भन्छन्, ‘पछि २०२६ सालमा सरकारले त्यस अस्पताललाई कान्ति बाल अस्पताल नाम दिइयो र हामी वीर अस्पतालका डाक्टरहरूले त्यसलाई गति दिएका हौं ।’ आफ्नो र डाक्टर हेमाङ्ग दीक्षित मिलेर कान्ति बाल अस्पताललाई सुविधा सम्पन्न बनाउन सकेको बराल बताउँछन् । त्यस बेलाका ठूला नेता, पहुँचवाला र दरबार परिवारका केटाकेटीको उपचारमा संलग्न हुन पाएकाले कान्तिलाई राम्रो बजेट पार्न सकेको दाबी उनको छ । कान्ति बाल अस्पताल स्थापनाको प्रारम्भमै अस्पताल प्रमुखको जिम्मेवारी निर्वाह गरेका बरालले त्यसै अस्पतालमा २४ वर्ष सेवा गरे । जापानको सहयोगमा छिमेकको शिक्षण अस्पतालले काया फेरेको नजिकबाट देखेका बरालले कान्तिमा पनि जापानी सहयोग भिœयाएका हुन् । उनी भन्छन्, ‘त्यसबेला नेपाललाई माया गर्ने जापानका सांसद रियोतारो हासिमोतो नेपाल आएका थिए, जो पछि प्रधानमन्त्री बने । उनीसँग भेट गरेर अस्पताललाई सहयोग गर्न भनेको थिएँ ।’  भ्रमणकै क्रममा हासिमोतोले कान्ति अस्पताल भ्रमण गरेको र पछिल्लो वर्र्षदेखि सहयोग गर्न थालेको बरालको कथन छ ।

जापानको सहयोग थालनी भएपछि उत्साही डाक्टर त्यसबेलाको गिरिजाप्रसाद कोइरालाले ३० वर्षे सेवा अवधि वा ५८ वर्ष उमेर हदका आधारमा अनिवार्य अवकास दिने नीतिको चपेटामा परे । उमेरले ५५ वर्ष मात्र टेकेका बराल सेवा अवधिका कारण अवकाश पाउनेहरूको लामो सूचीमा थिए । त्यसो त उनले अस्पतालको जागिरबाट तत्काल बाहिरिनु परेन । कारण, प्रधानमन्त्री कोइरालाले अवकाशको नीति कार्यान्वयकै समानान्तर बराललगायत केही व्यक्तिलाई जिम्मेवारीमा थमौती गरेका थिए । बराल कोइरालाले अस्पतालको विकासमा सेवा गरिरहेको भन्दै ठाडो आदेशमा दुई वर्ष थप जिम्मेवारीमा रहेको बताउँछन् । थपिएको जिम्मेवारीमा बराल उत्साहका साथ अस्पतालको विस्तारमा लागेको जानकारी दिँदै उनी भन्छन्, ‘हासिमोतोसँग कुरा गरेपछि जापानले नेपाललाई दिने सहयोगबाट १ अर्ब ३० करोड रुपैयाँ बराबरको भवन निर्माण र उपकरण दिने नीति लियो ।’ जापानले दिने त्यति ठूलो सहयोगकै कारण आफू अस्पतालको जिम्मेवारीबाटै हट्नृु परेको विगत उनी सुनाउँछन् । मेडिकल काउन्सिलको अध्यक्ष र कान्ति बाल अस्पतालको प्रमुखको जिम्मेवारीमा रहेका बराल सहयोग सम्झौता अन्तर्गतको टेन्डर प्रक्रियामा जापानको टोकियो उडिरहेकै बेला स्वास्थ्य मन्त्रालयले उनलाई सेवाबाट अवकाश मात्र दिएन, मेडिकल काउन्सिलको अध्यक्ष पदबाट पनि हटायो । त्यसबेलाको राजनीतिक प्रपञ्चबारे उनी तोकेर कसैको नाम लिन चाहँदैनन् तर तत्कालिन स्वास्थ्यमन्त्री डा. रामवरण यादवको ठाडो आदेशमा अस्पतालको करार जागिर खोसिएका र मेडिकल काउन्सिलको अध्यक्षबाट हटाइएका थिए । तत्कालीन प्रधानमन्त्री कोइरालाले विभागीय मन्त्रीले गरेको निर्णय आफूले उल्टाउन नसक्ने भनी बताएको सम्झन्छन् । काउन्सिल अध्यक्षबाट हटाइएकोमा उनी सर्वोच्च गए । सर्वोच्चले उनलाई मेडिकल अध्यक्षमा पुनस्र्थापित गरिदियो । डा. रामवरण यादवको कारबाहीमा परेका बराल त्यसकै आवेगमा २०५६ को चुनावमा सिरहाबाट स्वतन्त्र हैसियतमा उम्मेदवारी दिए ।

जनसम्पर्कका लागि निःशुल्क सेवा 
बरालले डाक्टरी पढेर फर्किएको सुरुवाती दसकमा यहाँ अस्पताल कम थिए । बिरामी पर्दा डाक्टरी जाँच गर्नुपर्छ भन्ने चेतना क्रमशः बढ्दै थियो भने उपचार गर्ने चिकित्सक पनि कम थिए । त्यस्तो अवस्थामा बरालले सरकारी अस्पतालमा ड्युटी सकिएपछि निजी उपचारमा संलग्न हुनथाले जसलाई उनी जनसम्पर्क अभियान भन्ने गर्दछन् । ‘म सिरहामा जन्मे, हुर्केको, बनारस र ग्वालियरमा पढेको मानिसका लागि काठमाडौँ नयाँ हुने नै भयो,  यहाँ जनसम्पर्क थिएन, त्यसैले मैलै दिनरात मिहिनेत गर्नुपर्ने भयो ।’ जनसम्पर्क बढाउन सुरुका केही वर्षसम्म औषधि पसलहरूमा निःशुल्क उपचार गरेको उनको कथन छ । ‘मेरो वीर अस्पतालको ड्युटी राति थियो,’ बराल भन्छन्, ‘२÷४ घण्टा सुत्यो अनि मेडिकल पसलहरूमा गएर निःशुल्क उपचारमा सक्रिय रह्यो ।’ वीर अस्पतामा रहँदा गरेको निःशुल्क सेवाबाट जनसम्पर्क बढेको उनी बताउँछन् । वीर अस्पतालबाट कान्ति बाल अस्पतालको प्रमुखको जिम्मेवारी पाएपछि भने काठमाडौंका राजनीतिक पहुँचवालाहरू, यहाँका कहलिएका परिवारका केटाकेटीहरूको उपचारमा संलग्न हुने वातावरण बन्यो । उनले उपचार गरेका कतिपय बालबालिका अहिले मुलुकको राजनीतिक, सामाजिक क्षेत्रमा नेतृत्व गरिरहेकोमा उनलाई सन्तोष लाग्छ । ‘डाक्टरहरूको नाम र दाम दुवैका लागि जनसम्पर्क आवश्यक हुन्छ, जनसम्पर्क भएन भने पढेको कुरा काम लाग्दैन,’ बराल भन्छन्, ‘सुरुमा धेरै मेहनत गरेको थिएँ, पछिल्ला वर्षहरू आफसेआफ प्रचार भयो । आफूले मिहिनेत गरेका कुराको प्रयोग गर्न पाइयो ।’ 

पत्रपत्रिका र किताब 
बाल विशेषज्ञ हेमाङ्ग दीक्षित र बराल मनमिल्ने साथी थिए । बरालले आफूहरुबीचको सम्बन्धलाई लिएर कतिपय डाक्टर साथीहरूले प्रश्नसमेत गर्ने गरेको बराल सम्झन्छन् । बरालका शब्दमा उनीहरू जनसाधारणलाई स्वास्थबारे जानकारी दिनेखालको यति परिवार डाइजेस्ट पत्रिका प्रकाशित गरिएको थियो । ‘हामी दुवै मिलेर लामो समयसम्म यति परिवार डाइजेस्ट स्वास्थ्य पत्रिका निकाल्यौँ । त्यस्तै जनस्वास्थ्य विशेष गरेर बालबालिकाको स्वास्थ्यबारे किताब पनि प्रकाशित गरेको छु,’ बरालले भने, ‘अहिले भने एमबिबिएसका विद्यार्थीलाई आवश्यक पर्ने किताबहरू लेख्दैछु ।’ 

५० वर्षअघिका रोग पनि, नयाँ रोग पनि 
पाँच दसक बढी समय चिकित्सा पेसामा आबद्ध बराल नेपाल र विकसित देशहरूको रोगहरू र चिकित्सकले दिनुपर्ने सेवामा भिन्नता देख्छन् । विकसित देशहरूमा झाडा पखाला, जन्डिस, टाइफाइड, बच्चालाई हुने दमजस्ता रोगहरू अहिले भेटिँदैनन् भने नेपालमा तिनै रोग भयावह देखिन्छ । ‘उनीहरूले हामीकहाँ जस्तो ५० वर्ष अघिका रोगबारे सोच्नै पर्दैन,’ बराल भन्छन्, ‘हामी भने सामान्यभन्दा सामान्य रोगको उपचार गर्नुपर्छ, अनि क्यान्सर, ब्लड प्रेसर लगायतका रोगहरूको उपचार गर्नुपर्छ । यस्तो अवस्था अन्त्यका पछाडि शुद्ध पानी, स्वच्छ हावा आवश्यक छ ।’ सरकारले जनतालाई शुद्ध पिउने पानी पु¥याउन सकेको अवस्थामा ५० प्रतशित रोग त्यत्तिकै समाप्त हुन्छन् भन्ने बरालको बुझाइ छ । ‘राजधानीमा त धुलैधुलैको समस्या छ भने अन्यतिरको कुरै नगरौँ । यस किसिमको धुलोको समस्याले बच्चाको छातीमा प्रहार गर्छ । बच्चामा देखिने दमको अरु कारण छैन, धुलो नै प्रमुख समस्या हो,’  बराल भन्छन् ।

बालबालिका आयोग चाहियो 
बालबालिकहरूका लागि मुलुकभर एउटा मात्र कान्ति बाल अस्पताल रहेकोमा बराल चिन्तित देखिन्छन् । पाँच दसक बढी समय बालबालिकाको नाडी छाम्दै आएका बराल मुलुकमा विभिन्न स्थानमा बाल अस्पताल स्थापनाको खाँचो औँल्याउँछन् । ‘अहिलेको जनसंख्याको आधा ओगट्ने बालबालिकाका लागि एउटा त्यो पनि अपुग स्रोत, साधनको अस्पताले हुँदैन,’ बरालले भने, ‘बालबालिकाको अधिकार खोस्ने काम भएको छ, स्वास्थ्य सेवा पाउने उनीहरूको अधिकार हो ।’ 

आफू सुरुमा वीर अस्पतालमा कार्यरत रहँदा बच्चा लिएर कोही महिला आए भने जँचाउन आएको हो भने सोधीखोजी गर्नुपर्ने अवस्था थियो । अहिले भने अहिले जता गयो उत्तै बिरामीको भिड देख्दा बरालको चित्त दुख्छ । ‘सरकारी अस्पताल, मेडिकल कलेज, नर्सिङ होमहरू, क्लिनिक जताततै बिरामीको धुँइचो मात्र देख्छु, कतै पुरै काठमाडाँै बिरामी त भएको छैन, कहिलेकाँही त्यस्तै लाग्छ,’ दिक्क मान्दै बराल भन्छन् ।

अहिले अधिकारको राजनीतिको हावा लागिरहेको अवस्थामा पनि बालबालिकाबारे सोच विचार नपु¥याइएकोमा बरालको गुनासो छ । ‘जताततै आयोगहरू छन्, खै त बालबालिका आयोग ?’ बरालको प्रश्न छ, ‘बालबालिकालाई केही दिइन्न, सायद उनीहरू भोटर नभएकोले होला !’ 

अहिलेसम्म कति बालबालिकाको उपचार उनले गरे होला ? यो प्रश्नको उत्तर उनीसँग छैन । उनी भन्छन्, ‘ ५० वर्षभरिमा मैले कति हजारलाई हेरेँ, त्यसको लेखाजोखा छैन । अझै पनि हेर्देछु ।’ 

राजनीतिक मैदानमा  
कान्ति बाल अस्पतालमा कार्यरत भैरहेको समयमा बराल नेपाल मेडिकल काउन्सिलको अध्यक्षको जिम्मेवारीमा थिए । सरकारले ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरका आधारमा अवकाश दिने नीतिले पनि उनलाई अप्ठ्यारो पारेको थियो । सेवा अवधिका आधारमा अवकाश पाएका बराललाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आदेशमा करारमा कान्ति अस्पतालको प्रमुखमै थिए तर बरालको बुझाइमा कान्ति अस्पताललाई ठूलो परिणाममा सहयोग जुटाइरहेको अवस्थामा तत्कालीन स्वास्थ्य मन्त्रीले बरालको कान्तिको करार जागिर मात्र खोसेनन्, मेडिकल काउन्सिलको अध्यक्षबाट पनि हटाइदिए । सर्वोच्चबाट काउन्सिलको अध्यक्ष पद जोगाउन सकेका बराल आफूमाथि राजनीतिक हतकण्डा प्रयोग भएको निचोडमा पुगेर इँटको जवाफ पत्थरले दिने रणनीतिमा लागे । त्यसका लागि उनी राजनीतिमा हाम्फाले । २०५१ सालको संसदीय निर्वाचनमा उनी आफ्नो गृह जिल्ला सिरहा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदबार बने । आफ्ना प्रायजसो परिवारजन, नातागोता कांग्रेसमा आबद्ध भएको समयमा उनी स्वतन्त्र उम्मेदवार बने र घढी चिह्न लिए । ‘मेरो प्रचार, सिरहामा बितेको बाल्यकाल, मेरो डाक्टरी पेसा र मैले गरेको मिहिनेत सबैका आधारमा सजिलै चुनाव जित्छु भन्ने थियो,’ बराल भन्छन्, ‘तर त्यस्तो होइन रहेछ, राजनीति मैरो काम होइन रहेछ ।’ राजनीतिक यात्राबारे उनी भन्छन्, ‘कान्ति अस्पतालको निर्देशक र मेडिकल काउन्सिलको पदबाट हटाइएर तिरस्कृत भएपछि मलाई आफ्नो गाउँ, जिल्ला, देश र संस्थालाई अघि बढाउन राजनीतिको वैशाखी टेक्नै पर्ने रहेछ भन्ने आत्मबोध भयो । चुनावमा होमिने भएपछि कांग्रेसबाट अलग भएका बरालका सामु सद्भावना पार्टी र एमालेको महŒवपूर्ण जिम्मेवारीमा रहेका आफन्तले उम्मेदवार बनाउने संकेत दिए पनि आफू स्वतन्त्रबाटै उठेको उनको दाबी छ । चुनावी प्रतिस्पर्धामा जनवादी मोर्चाका उम्मेदवार रामराजाप्रसाद सिंह, कांग्रेसका चित्रलेखा यादव, कांग्रेसका बागी नथुनी सिंह दनुवार र एमालेका नरेन्द्र पोखरेल मैदानमा थिए । चुनावी राजनीतिमा होमिएका डाक्टरले सिरहाको धनगढीमा निःशुल्क क्लिनिक र प्रचार कार्यालय बेग्लाबैग्ला खोलेका थिए । निःशुल्क जाँच्ने र औषधि पनि निःशुल्क उपलब्ध गराउने डा. बरालले त्यसबेला करिब ४÷५ हजार बालबालिका जाँचेको अनुभव सुनाउँछन् । ‘५ हजार जति बालबालिका जाँचेको थिएँ, आफ्ना नानी जँचाउन आउने सबैले मेरो घडी छापमा ‘मोहर’ लगाउने भनेका थिए,’ बराल भन्छन्, ‘म त चुनाव जित्न १० हजार मत चाहिने र आफूले संजिलै जित्नेमा ढुक्क थिएँ तर २२ सय मत मात्र आयो ।’ त्यस चुनावमा राजनीतिको फोहेरी खेलले जितेको र सधैँ त्यसैगरी सांसदहरू विजयी हुने विश्लेषण बरालको छ । ‘सूर्यको रापलाई रुखले छहारी दिन सकेन,’ बराल भन्छन्, ‘चुनावमा एमालेका युवा नेता नरेन्द्र पोखरेललाई चिठ्ठा प¥यो ।’ राजनीतिमा लागेर सिरहाको मुहार फेर्ने उनको योजना पहिलो चुनावबाटै पाखा लाग्यो । बराल भन्छन्, ‘राजनीति मेरो बाटो होइन रहेछ, म फेरि आफ्नै पेसामा फर्किएँ र नेपाल मेडिकल कलेजमा आबद्ध भएँ ।’ 

काम गर्न डर लाग्दैन 
असीको उमेरका डा. बरालको दैनिकी बिहान ४÷५ बजेबाट सुरु हुन्छ । काठमाडौं मूलपानीमा बसोबास गर्ने बराल बिहान ९ नबज्दै केएमसी कलेजमा आइपुग्छन् र साँझ ७÷८ बजे घर फर्कन्छन् । एमबिबिएस पढ्ने विद्यार्थीका प्राध्यापक बराल विद्यार्थीलाई पढाउनुअघि प्रत्येक दिन तयारी गर्नुपर्ने बताउँछन् । ‘आजकलका विद्यार्थी सबै इन्टरनेटमा हेरेर तयार हुन्छन्, त्यसैले उनीहरूभन्दा अगाडि आफैँ तम्तयार हुनुपर्छ,’ बराल भन्छन्, ‘आफूले तयारी गरेन भने त पछि परिन्छ ।’ 
नयाँ–नयाँ रोग, औषधि र प्रविधिबारे जानकारी लिन आवश्यक हुने बराल बताउँछन् । ‘दैनिक १७÷१८ घण्टासम्म खट्न सक्छु,’ बराल भन्छन्, ‘म काम गर्न डराउँदिन, दिनको ४÷५ घण्टा निदाए पुग्छ ।’ केही वर्षयता प्राध्यापन र क्लिनिक दुवै केएमसीमा रहेकाले बरालको दैनिकी अधिकांश समयमा सिनामंगलमै बित्छ । ‘म चाहन्छु, मैले अन्तिम समयमा पनि बालबालिकाको नाडी हेर्न सकौं ।’ 

मेडिकल कलेजपछि सरकारी अस्पतालाई हाइसन्चो 
२०४६ को जनआन्दोलपछि मुलुकले अपनाएको खुला बजार नीतिबाट मेडिकल कलेजहरू स्थापना भएका र तिनले नेपाली जनताको उपचारमा ठूलो योगदान गरेको विश्लेषण छ बरालको । ‘मेडिकल कलेजहरूले जनशक्ति उत्पादन गरेका छन् र ठूलो संख्यामा बिरामीको सेवा पनि गरेका छन्,’ बराल भन्छन्, ‘मेडिकल कलेज आएपछि सरकारी अस्पताललाई हाइसन्चो भएको छ । पहिलाजस्तो बिरामीको चाप झेल्नु पर्दैन सरकारी अस्पतालहरूले । अहिले चर्चामा रहेको प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापनबारे उनको विमति छैन तर उनी प्रदेश–प्रदेशमा एउटा सुविधा सम्पन्न बाल अस्पताल हुनुपर्ने बताउँछन् । बराल भन्छन्, ‘अब केन्द्रमा रहेको एउटा मात्र बाल अस्पतालले धान्दैन । प्रत्येक प्रदेशमा कम्तिमा एउटा बाल अस्पताल चाहिन्छ ।’ 

परिवार 
बरालकी धर्मपत्नी सुस्मिता बराल गृहिणी हुन् । जेठा छोरा रवि बराल फिल्म क्षेत्रमा सक्रिय छन् । उनकी पत्नी लता गृहिणी हुन् । कान्छो छोरा विजयेन्द्र बाबुको पदचापमा छन् । उनी बाल चिकित्सक हुन् र सिंगापुरको एक अस्पतालमा कार्यरत छन् । उनकी पत्नी लीला बराल पेसाले इन्टेरियर डिजाइनर हुन् । 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad