coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सवारी बजार छिर्ने, साताभित्र सहमति खोजिने

इलाम–इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीको मागबारे आउँदो ७ दिनभित्र समाधान खोज्ने सहमति भएको छ। शनिबार सदरमुकाममा भएको छलफलमा सवारीका साधन इलाम बजार प्रवेश खुला गर्ने र ७ दिनसम्म नगरले सवारीलाई पार्किङ शुल्क नलिने सहमतिसमेत भएको छ।

शनिबार आन्दोलनरत व्यवसायी, नगरपालिका, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सम्मिलित छलफलमा यस्तो सहमति भएको हो। आन्दोलनरत पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघ अध्यक्ष गृष्म सुब्बाले नगरपालिका, पार्किङ शुल्क उठाउने जिम्मा लिएका ठेकेदार र व्यवसायीको त्रिपक्षीय बैठकले ७ दिनभित्र यस विषयमा निकास निकाल्ने सहमति भएको बताए । उनले यो अवधिसम्म आफूहरूले सवारीका साधन बजार प्रवेश खुला गर्ने र त्यस अवधिभर नगरले शुल्क पनि नलिने सहमति भएको जानकारी दिए ।

नगरपालिकाले स्थानीय स्वायत्त शासन नियमावलीको ‘अपव्याख्या’ गरी पार्किङ शुल्क बढाएको भन्दै यातायात व्यवसायीले बिहीबार र शुक्रबार इलाम बजारमा सवारी प्रवेश गराएनन् । उनीहरूले बिब्ल्याँटेतिरबाट आउने सवारी इलाम बजारभन्दा करिब डेढ किलोमिटरको धोविधारा तथा माइखोलातिरबाट आउनेलाई त्यति नै टाढाको जिरो किलोमिटरसम्म मात्र आउन दिएका थिए । पुनः छलफल गरी निकास निकाल्ने सहमतिपछि शनिबार भने पार्किङ शुल्क नलिने सर्तमा सवारी साधन बजार प्रवेश गराउन व्यवसायी सहमत भएका थिए ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७३÷०७४ मा लागू हुनेगरी सवारी साधनको पार्किङ शुल्क गतवर्षहरूभन्दा दोब्बर बनाएको भन्दै ट्याक्सी, जिप, बस, ट्र्याक्टर र पिकअप व्यवसायी आन्दोलनमा थिए । गतवर्ष जिल्लाबाहिर जाने गाडीलाई ५० रुपैयाँ लिने गरेकामा यो वर्ष ८७ रुपैयाँ ७५ पैसा लिइरहेको छ । बस, ट्रकलगायत ठूला गाडी र नेपाली पर्यटक सवारीलाई गतसाल ८५ रुपैयाँ लिने गरेकामा चालू वर्ष १ सय १३ रुपैयाँ पु¥याइएको छ ।

भारतीय गाडीलाई १ सयबाट बढाएर २ सय २६ रुपैयाँ, लोकल भ्यानहरूलाई २० बाट ३३ रुपैयाँ ९० पैसा, गाउँ जाने ट्र्याक्टर, पिकअपलाई ५० बाट बढाएर ८५ रुपैयाँ लिइरहेको छ । कुद्ने दूरी हेरेर पार्किङ शुल्क लिने व्यवस्था ऐनले नगरे पनि नगरले भने दूरीलाई समेत आधार मानेर शुल्क लिइरहेको व्यवसायीको गुनासो छ ।

शनिबारको छलफलमा व्यवसायीले बसलाई ७५, साना सवारीलाई ६०, लोकललाई २० र अलि टाढाबाट आउने सवारीलाई प्रतिदिन ४० रुपैयाँमात्र पार्किङ शुल्क लिन नगरपालिकालाई आग्रहसमेत गरेका थिए । तर, यसबारे नगरपालिका, सम्बन्धित ठेकेदार र व्यवसायीबीच सहमति हुन बाँकी नै छ ।

नगरले आफूले निर्माण गरी सञ्चालन गरेको आधुनिक सुविधासम्पन्न बसपार्कमा नगरपरिषद्ले निर्धारण गरेको पार्किङ शुल्क लिन सक्ने व्यवस्थाअनुसार शुल्क लिएको दाबी गरेको छ । तर, व्यवस्थित पार्किङ नभइ सडकमै पार्किङ शुल्क उठाएर नगरले त्यसैलाई सुविधासम्पन्न भन्न खोजेको व्यवसायी बताउँछन् ।

पार्किङ शुल्क बढाउने निर्णयको विरोधमा पूर्वाञ्चल जिप व्यवसायी संघ, नेपाल रात्रिबस व्यवसायी संघ, ट्र्याक्टर व्यवसायी संघ, इलामेली यातायात ट्र्याक्टर मजदुर संघ, पिकअप व्यवसायी संघ, पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघ इलाम, बिब्ल्याँटे, फिक्कल र गोलाखर्क शाखाले आन्दोलन गरेका थिए ।

 

प्रकाशित: २९ श्रावण २०७३ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App