८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

शरणार्थीमाथिको प्रतिबन्ध हट्यो

वासिङ्टन – अमेरिकी प्रशासनले ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ ।यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका ती देशका शरणार्थीमाथिको प्रतिबन्ध सोमबार हटाइएको अमेरिकी अधिकारीले जानकारी गराएका छन् ।

११ देशका शरणार्थीमाथिको प्रतिबन्ध हटेपनि अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने अधिकारीहरुले बताएका छन् ।  त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने बारेमा भने केही बताइएको छैन । तर ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न पाउने र उनीहरुले सुरक्षासम्बन्धी नयाँ व्यवस्थाको सामना गर्नुपर्ने नियम रहेको अधिकारीको भनाइ छ ।यसरी प्रतिबन्ध हटाइएका देशहरुमा इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमन रहेका छन् ।

शरणार्थीसम्बन्धी समूहका अनुसार विगतदेखि प्रतिबन्ध झेल्दै आएका यी देशमाथि अबदेखि अमेरिका प्रवेशमा रोक लगाइने छैन ।अमेरिकी अधिकारीका अनुसार तीन वर्षयता अमेरिका प्रवेश गर्नेमध्ये ४० प्रतिशतभन्दा बढी शरणार्थी यिनै ११ देशबाट आएको बताइएको छ ।

अमेरिकाको आन्तरिक सुरक्षा मामिलासम्बन्धी निकायले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा ती देशले अब पहिले जस्तो प्रतिबन्धको सामना गर्नु नपर्ने भए पनि अमेरिका प्रवेशका क्रममा कडा सुरक्षाको सामना भने गर्नुपर्ने जनाइएको छ ।

यी देशका शरणार्थीलाई अमेरिका प्रवेशका लागि के कसरी व्यवस्था गर्ने भन्ने बारेमा गएको करिब तीन महिनादेखि आन्तरिक रूपमा मूल्याङ्कन सुरु भएको थियो ।शरणार्थीसम्बन्धी ह्वाइट हाउसको एक समितिले गरेको तीन महिना लामो मूल्याङ्कनपछि सोमबार यस्तो निर्णय गरिएको प्राप्त पछिल्लो विवरणमा जनाइएको छ ।

आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री क्रिस्चन निल्सनले पनि ती देशका नगरिकलाई शरणार्थीको मान्यता दिनुअघि आवश्यक मात्रामा सुरक्षा जोखिमको जाँच गरिने बताएकी छिन् ।अमेरिकी प्रशासनले सन् २०१७ को अक्टोबरमा विभिन्न दश वटा मुस्लिम बाहुल्यता रहेका देश र उत्तर कोरियाबाट शरणार्थी स्वीकार नगर्ने बताएको थियो ।

‘आफ्नो देशमा को प्रवेश गर्दैछ भन्ने बारेमा थाहा पाउनुपर्ने हाम्रो अधिकारको विषय भएकाले पनि हामीलेसुरक्षामा कडाइ गरेका हौं,’ वासिङ्टनमा आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री निल्सनले बताइन् । अतिरिक्त सुरक्षा व्यवस्थाले खराब तत्वलाई अमेरिकाको शरणार्थी कार्यक्रमको दुरूपयोग गर्न गाह्रो हुने मूल्याङ्कन अमेरिकी प्रशासनको रहेको पनि उनले बताइन् ।  

यसरी शरणार्थीको प्रवेश अगावै गरिने जाँचका साथै जोखिमका आधारमा अमेरिकाले अवलम्बन गर्ने नीतिले देशको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने धारणा पनि मन्त्री निल्सनले राखेकी छिन् ।
गत अक्टोबरमा ट्रम्प प्रशासनको प्रतिबन्ध कार्यान्वयनमा आएपछि आर्थिक वर्ष २०१८ मा शरणार्थीहरूको संख्या आधाले घटेर ४५ हजार पुगेको बताइएको छ । समाचार संस्था रोयटर्सका अनुसार अक्टोबर यता प्रतिबन्धित ती ११ देशबाट २३ जना शरणार्थी मात्रै अमेरिका पुगेका छन् ।

सियाटलस्थित एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको प्रतिबन्धमाथि आंशिक रोक लगाएपछि उनीहरूलाई अमेरिका प्रवेश गर्न दिइएको थियो । न्यायाधीशले प्रतिबन्ध कार्यान्वयन भइरहँदा पनि अमेरिकासँग विशेष सम्बन्ध भएकाहरूलाई प्रवेश गर्न दिइनुपर्ने बताएका थिए ।

 

प्रकाशित: १७ माघ २०७४ ०५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App