८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

एक लाख रोहिन्जा खतरामा : राष्ट्रसंघ

क्याप्सन : बंगलादेशको कोक्स बजारस्थित रोहिन्जा शरणार्थी शिविर । फाइल तस्बिर : रोयटर्स

न्युयोर्क– बंगलादेशको शरणार्थी शिविरमा बसिरहेका एक लाखभन्दा बढी रोहिन्जा शरणार्थी वर्षायाम सुरु भएसँगै बाढी पहिरोबाट प्रभावित हुने संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी नियोगले चेतावनी दिएको छ ।

बंगलादेशको कोक्स बजार क्षेत्रमा रहेको शिविरमा हाल नौ लाखभन्दा बढी शरणार्थी रहेका छन् । जसमा गत अगस्ट महिनामा म्यानमारको रखाइन प्रान्तमा भएको हिंसापछि भागेर आउनेको संख्यामात्रै करिब ६ लाख ८८ हजार रहेको बताइएको छ । सहायताकर्मीका अनुसार उक्त क्षेत्रमा आउने नयाँ रोहिन्जाका लागि शिविर अपर्याप्त भइसकेको छ ।

शरणार्थी शिविरमा वर्षायामा आउने बाढी र पहिरोका कारण कम्तीमा एक लाख रोहिन्जाको ज्यान असुरक्षित रहेको र उनीहरुलाई तत्कालै अन्यत्र सुरक्षित स्थानतर्फ लानुपर्नेमा संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘रोहिन्जा शरणार्थी बसिरहेको क्षेत्र अत्यन्तै साँघुरो छ जसका कारण उनीहरु कष्टप्रद जीवन बिताउन बाध्य भइरहेका छन् । उनीहरुका लागि सुविधा प्रदान गर्नसमेत ठाउँ अभाव रहेको छ । साँघुरो ठाउँका कारण सुरक्षा संवेदनशीलतामा पनि वृद्धि भइरहेको छ र विभिन्न रोगको संक्रमण बढ्ने सम्भावना पनि उत्तिकै रहेको छ,’ उक्त निकायले जारी गरेको रिपोर्टमा जनाइएको छ । हैजाविरुद्ध शरणार्थीलाई खोप दिन सुरु गरे पनि चार हजार आठ सय ६५ रोहिन्जा भ्यागुते रोगको संक्रमित पाइएको र सोही रोगका कारण ३५ जनाको मृत्यु भइसकेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले पाँच लाखभन्दा बढी रोहिन्जालाई भ्यागुते रोगविरुद्ध खोप प्रदान गरेको छ र शनिबारबाट तीन लाख ५० हजार बालबालिकालाई दास्रो मात्रा पनि दिन थालिएको छ । विश्व स्वास्थ्य संगठनले कुनै रोगको महामारी फैलिहालेको अवस्थाका लागि भनेर दुई हजार पाँच सय डोज ‘एन्टी–टक्सिन’ पनि तयारी अवस्थामा राखेको बताएको छ । तर बंगलादेशको कोक्स बजार शरणार्थी शिविरमा बसिरहेका रोहिन्जामा गलगाँणसम्बन्धी रोगको पनि प्रकोप सुरु भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा पछिल्लो केही सातादेखि यो रोगको बिरामीमा वृद्धि भएको छ । उनीहरुलाई म्यानमार र बंगलादेश दुवैले यस रोगविरुद्ध खोप प्रदान नगरेको पनि राष्ट्रसंघीय रिपोर्टमा जनाइएको छ ।

करिब पाँच लाख ८५ हजार शरणार्थी कुटुपालोङ–बालुखली क्षेत्रमा रहेको अत्यन्तै साँघुरो क्षेत्रमा रहेका छन्।
हाल शरणार्थी बसिरहेको अधिकांश भूभाग बाढी र पहिरोको उच्च जोखिममा रहेको क्षेत्र भएको राष्ट्रसंघीय रिपोर्टले जनाएको छ । ‘आउँदो वर्षायामको बाढी र पहिरोले उक्त क्षेत्रमा अवस्था थप खराब बनाउने छ,’ उक्त रिपोर्टमा जनाइएको छ ।

शरणार्थी बसिरहेको क्षेत्रका बाटो साँघुरो भएकाले विश्व स्वास्थ्य संगठनले भरियाको माध्यमबाट खाद्यान्न आपूर्ति गरिरहेको छ ।केही घटना भइहालेमा शरणार्थीलाई राख्नका लागि बंगलादेशले उखियामा आठ सय नौ हेक्टरमा अवस्थित नयाँ शरणार्थी शिविर खडा गरेको छ । ‘मानवीय सहायता संस्थाले खराब अवस्थाका लागि जुध्नका लागि सानो क्षेत्रफल नै भएपनि आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिरहेको छ,’ संयुक्त राष्ट्रसंघीय रिपोर्टमा जनाइएको छ ।

प्रकाशित: १७ माघ २०७४ ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App