७ वैशाख २०८१ शुक्रबार
कला

चेतन कार्की र कोमल वलीसहित ८ सम्मानित

मकवानपुर – एक लाख राशीको ११ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भाषा, संगीत, साहित्य, कला एवम् संस्कृतिविद् चेतन कार्की सम्मानित भएका छन्।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले भीम विरागको ८४ औं जन्मजयन्तीको अवसरमा कार्कीलाई सोमबार हेटौंडामा सम्मान गरेको हो । नेपाली संगीत तथा साहित्यमा योगदान पुर्‍याएबापत कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि गायक, गितकार तथा संगीतकार जगतमर्दन थापाले पुरस्कार प्रदान गरेका हुन्।

त्यस्तै, ख्यातिप्राप्त लोक गायिका कोमल वली २० हजार राशिको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट सम्मानित भएकी छिन् । कार्यक्रममै तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कारबाट साहित्यकार अनिता न्यौपाने, भीम–मथुरा बाल प्रतिभा पुरस्कारबाट बालगायक चिराग डंगोल, शीला नारी संगीत पुरस्कारबाट गायिका विद्या तिवारी, हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट नाट्यकर्मी कुमार शाह, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट साहित्यकार निमेश निखिल, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट स्वास्थ्यकर्मी चम्पा कोजुलाई नगदसहित सम्मानित गरिएको छ।

तुलसीमायाँ शिवकुमारी सृजनशील नारीको १० हजार, भीम–मथुरा बाल प्रतिभाको ७ हजार ५ सय, शीला नारी संगीतको १५ हजार, हर्षनर बज्राचार्य स्मृतिको २५ हजार, चिनुकुमारी लामा स्मृतिको ११ हजार १ सय ११ र मंगलादेवी श्रेष्ठ स्मृतिको १० हजार रुपैंया राशि रहेको छ । कार्यक्रममा साहित्यकार एवम् सङ्गीतकार प्रकाश सायमी, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका निवर्तमान अध्यक्ष तुल्सी थापा, साहित्यकारहरु सुकबहादुर सोनाम, मुरारी सिग्देल, प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीको उपस्थिति रहेको थियो।

प्रतिष्ठानले वरिष्ठ सङ्गीत साधक, कवि एवम् गीतकार भीम विरागको जन्मजयन्तीको अवसरमा हरेक वर्ष हेटौंडामा कार्यक्रम गरी कला, साहित्य, संगीत, स्वास्थ्यसँग सम्वन्धित व्यक्तिलाई सम्मान गर्दै आएको छ।

प्रकाशित: १७ माघ २०७४ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App