७ वैशाख २०८१ शुक्रबार
विचार

हाकुको कहर

रसुवाको विकट गाउँ, हाकु । सतप्रतिशत तामाङ बस्ती । भिरालो जमिन । पहिरो नै पहिरोको कहरा । ज्यादै डरलाग्दो पहाड । यही पहिचान बनेको छ हाकुको । मानवीय बस्ती छ, यहाँ । करिब पाँच सय घरधुरी बसोवास छ । सबै गुठी पीडित छन् । उनीहरूले पुस्तौँदेखि खेतीपाती गर्दै आएको र घर बसोवास गरिआएको जमिनसमेत आफ्नो छैन।

सुकुमवासी सरहझैँ जीवन । लालपुर्जा भएको परिवार कोही छैन । आफ्नै जग्गाको लालपुर्जा लिन पनि हाकुवासीले लामो सङ्घर्ष गरिरहेका छन्, तर पनि सरकारले हाकुवासीको पीडा सुनेको छैन । भूमि अभियानकै सफलतास्वरूप मोही पुर्जा दिने अभियान पनि यस वर्षदेखि सुरु भएको छ । केही प्रमाण आफूसँग नभएका परिवारलाई मोही पुर्जा पनि भोलि बलियो आधार बन्ने ठानिएको छ, र त गुठी जग्गा दर्ताका लागि सघाइरहेका छौँ । १३२ परिवारको नाममा पुर्जा बनिसकेको छ भने बाँकीको निवेदन दिने प्रक्रियामा छ। 

हाकु गाविस २ सानो हाकु बस्ती माथिबाट पहाड खस्न सक्ने जोखिम भएको हुँदा पूरै सार्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भौगर्भिक अध्ययन प्रतिवेदन आयो । उनीहरूलाई नयाँ ठाउँमा स्थानान्तरण गराउन प्रक्रिया अघि बढ्दै छ । हाकु डाँडामा प्राधिकरण टोलीबाट नै केही महिना स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गरिएको थियो । उक्त टोलीमा विज्ञहरू पनि सहभागी हुनुभएको थियो । उक्त भ्रमणमा म पनि सहभागी हुने मौका पाएका थिएँ । टोलीको अध्ययन भ्रमणपछि गाउँ जोखिममा देखिएकाले अन्यत्र स्थानान्तरणका लागि सिफारिस गरिएको रहेछ। 

गत १२ वैशाख २०७२ मा आएको भूकम्पका कारण यहाँ पहिरोले प्रभावित गरेको र माथिबाट पहाड खस्न सक्ने भय छ । सोही कारण हाकुवासी भूकम्पपछि सदरमुकाम धुन्चेमा आई अस्थायी शिविर बनाई बसिरहेका छन् । केही फर्किएर घर बनाउन थालेका छन् भने केही धुन्चेमै छन् । हाकुको वडा नं. २ बाहेक अन्य स्थानमा पुनः त्यहीँ घर बनाई बस्न सकिने प्राधिकरणका भूगर्भविद्हरूले बताएपछि वडा कार्यालयले अघिल्लो महिनादेखि सम्झौता गरी घर बनाउनका लागि अनुदान वितरण प्रक्रिया थालेको छ। 

हाकु गाविस वडा नं. २ मा करिब ११४ घर छन् । एकै ठाउँमा झुरुप्प परेको बस्ती । भूकम्पले तहसनहस भएको छ । त्यसमाथि पनि भूकम्पका कारण गाउँमाथिको पहाड हल्लिएर चिरा परेको छ । गाउँ नै जोखिममा परेको छ । उनीहरू गाउँ तलको पाङलिङमा बस्ने तयारीमा छन् । यो पटकको यात्रा पाङलिङ क्षेत्रको भूगोल अध्ययन गर्नका लागि काठमाडौँबाट आउनुभएको भूगर्भविद्सँग थियो। 

हाकुवासी विस्थापित भई धुन्चेलगायतको ठाउँमा अस्थायी शिविरमा बसेका बेला पनि त्यहीँ गई राहत सामग्री, न्यानो सामग्रीहरू पनि वितरण गरिएको थियो भने शिविरमै बस्दै गर्दा गत वर्ष हावाहुरीका कारण अस्थायी शिविर उडाएर बिचल्ली पारेका कारण अस्थायी आवास पुनःनिर्माण गर्नका लागि काठमाडौँस्थित भोलेन्टियर टिमसँग समन्वय गरी सहयोग गरिएको थियो । र उनीहरूको सुरक्षित पुनर्वासका लागि पटकपटक डेलिगेसन र अभियान गरी सरोकारवालाहरूको ध्यानकर्षण गराउन पहल लिएका छौँ । अभियान अझै जारी छ।  

हाकु जानका लागि धेरै हिँड्नुपर्ने र बाटोमा कतै घरहरू नभएको र धेरै समय लाग्ने भएको हुँदा धुन्चेमा नै बिहानीको खाजा खाएर आरालो लागेका थियौँ । करिब ५ घन्टाको हिँडाइपछि मात्र पाङलिङ पुगेका थियौँ । गाउँमा जग्गा देखाउने र समन्वय गर्ने कार्य स्थानीय सोमबहादुर तामाङले गर्नुभयो । उहाँ हाम्रो अभियानका लागि पनि सहयोगी अगुवा हुन् । 
बाटोमा जाँदा देखियो । धुन्चेबाट त्रिशूली खोला झर्न चाहिँ कठिन छ । तर पारिपट्टि हाकु भाग पुगेपछि भने भर्खरै गोरेटो बाटो निर्माण गरिएको रहेछ । पिन संस्थाले उक्त बाटो निर्माणमा सहयोग गरेको स्थानीयले बताए । केही वर्षअघि हाकु पुग्दा र अहिलेको हाकुमा परिवर्तनहरू देखिए । घरहरू ढलिरहेका छन्, ती अब कहिले उठ्ने हुन् त्यसै भन्न सकिने अवस्था देखिएन । यद्यपि केही घरहरू निर्माणको क्रममा छन्। 

जाँदा–आउँदा बाटोभरि हाकु यातायात भेटियो । हाकुमा यातायातको साधन अहिले पनि खच्चर नै हो । स्थानीयले खाद्यान्नदेखि निर्माण सामग्रीसमेत खच्चरबाट ढुवानी गर्छन् । हाकुवासी भन्छन्, सामान ढुवानी गरेर घर बनाउन ज्यादै समस्या छ । सरकारले दिएको तीन लाख रुपियाँले ढुवानी खर्च पनि पुग्दैन। 

केही हप्ताअघि हाकुकै एक हुल नुवाकोटको त्रिशूली बजारमा भेटेको थिएँ । उनीहरू सिमेन्ट र रड किन्नका लागि नुवाकोट पुगेको बताउँदै थिए । रसुवाको बजारमा निर्माण सामग्री सहज नपाएको हुँदा उनीहरू नुवाकोट पुगेका हुन् । धुन्चेबाट एक केजी सामान हाकु पु¥याउन बोकाएको ज्याला १३ रुपियाँदेखि २५ रुपियाँसम्म तिर्नुपर्छ । बजारमा एक हजारदेखि १२ सय रुपियाँ र ढुवानीसमेत गरेर १ बोरा सिमेन्ट हाकु पुग्दा धेरै खर्च हुन्छ । घरका लागि डिपिसी गर्नका लागि सिमेन्ट–रड चाहिने हुँदा यही खरिद गर्न गाउँहरूले अहिले नुवाकोट बजारसम्म पुग्नपर्ने बाध्यता छ । एकातिर बजारको महँगी, अर्काेतर्फ गाउँसम्म सहज ढुवानी गर्न नसक्दा पुनर्निर्माणमा समस्याहरू यत्रतत्र देखिन्छन् । गरिब हाकुवासीलाई पुनर्निर्माण अर्काे चुनौतीको पहाड बनेको छ । जताततै समस्या छ। 

प्रकाशित: १७ माघ २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App