coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

खोटाङ– खोटाङको दिप्रुङ गाउँपालिकाले गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रोत्साहन भत्ता कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले बजेटको व्यवस्था गरेरै ७ वडामा कार्यरत ७९ महिला स्वास्थ्य स्वयंसेविकालाई मंगलबार मासिक ५ सय रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरेको हो।

याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, सछितापोखरी, छितापोखरी र टेम्मामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई गत साउनदेखि पुससम्मको प्रोत्साहन भत्ता वितरण गरिएको दिप्रुङ गाउँपालिकाले जनाएको छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई गाउँपालिकाका स्वास्थ्य संयोजक मुस्ताड अहमद अन्सारीले जनही ३ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता हस्तान्तरण गरेका हुन् । राज्यबाट पोसाक भत्ता, गोष्ठी भत्ता र भिटामिन ए खुवाएबापतको भत्तामात्र पाउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाको योगदान र श्रमलाई मध्यनजर गर्दै गाउँपालिकाले प्रोत्साहन भत्ता दिन थालेको हो । गाउँमा बसेर वर्षौंदेखि स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेकामा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ताको व्यवस्था मिलाइएको दिप्रुङ गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए । गाउँपालिकाका ७९ महिला स्वास्थ्य स्वयंसेविकामध्ये मंगलबार ६५ जनाले प्रोत्साहन भत्ता लिएका छन् । बाँकीलाई क्रमशः प्रोत्साहन भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ।

६५ वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क सडकयात्रा
खोटाङको दिप्रुङ गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सडकयात्राको व्यवस्था मिलाएको छ। वृद्धवृद्धाको सम्मान, हौसला र सहजताका लागि गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गरिरहेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्र निःशुल्क सडकयात्रा गर्ने व्यवस्था मिलाएको जनाएको छ । दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमीबजार सडक खण्डमा पुस ३० गतेदेखि यात्रुवाहक सवारी साधन आवतजावत गर्न थालेसँगै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए।

गाउँपालिकाभित्रका वृद्धवृद्धालाई निःशुल्क सडकयात्राको व्यवस्थाका लागि गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार दिप्रुङ गाउँपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको हो । वृद्धवृद्धाका साथमा भएको नागरिकताका आधारमा यातायात व्यवसायीले टिकट काट्ने र सोही टिकटका आधारमा यातायात व्यवसायीलाई गाउँपालिकाले भाडा भुक्तानी गरिदिने गाउँपालिका प्रमुख राईले बताए । ‘गाउँपालिकाभित्रका वृद्धवृद्धाका लागि यो सेवा गाउँपालिकाभित्रका सडकयात्राका क्रममा मात्र लागू हुन्छ,’ राईले भने।

हालका लागि नागरिकताको आधारमा यातायात सेवा निःशुल्क गरिए पनि केही समयपछि छुट्टै परिचयपत्र जारी हुने जनाइएको छ । ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राका लागि उनीहरूको तथ्यांक संकलन गरिने राईले बताए । यस्तै, दिप्रुङ गाउँपालिकाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको जनाएको छ ।
गाउँपालिकाले नियमित स्वास्थ्य जाँच गराइएका बालबालिकालाई दुई वर्ष नपुगेसम्म मासिक रूपमा एक हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने नीती तथा कार्यक्रम कार्यान्वयनको तयारी थालेको छ । बच्चाको आमाले चारपटक गर्भजाँच गरेको, सबै खोपको मात्रा पूरा गरेको आधारमा मात्र प्रोत्साहन भत्ता वितरण गरिने गाउँपालिका प्रमुख राईले बताए । दुईवटा बच्चा भएसम्म मात्र गाउँपालिकाले प्रोत्साहन भत्ता दिइने गाउँपालिकाले जनाएको छ। 

प्रकाशित: १७ माघ २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App