५ वैशाख २०८१ बुधबार
खेल

अभ्यास खेलमा नेपालको जित

काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन दुईका लागि नामिबिया जाने क्रममा अभ्यासका लागि दुबई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले जितका साथ भ्रमण सुरु गरेको छ ।दुबईको आइसिसी ओभल वान क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि २५ रनको जित हासिल गरेको थियो ।

टस जितेर ब्याटिङ रोजेपछि दिलीप नाथको अर्धशतक प्रेरित नेपालले निर्धारित ५० ओभरको तीन बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय ४६ रनको योगफल तयार गरेको थियो । नेपालका लागि ओपनर दिलीपले सर्वाधिक ६१ रन बनाउँदा राष्ट्रिय टोलीमा पहिलो पटक परेका रोहितकुमार पौडेलले ४३ रनको योगदान गरे । यसै गरी करण केसीले ३५ रन बनाए भने अनिलकुमार शाहले ३१, वसन्त रेग्मीले २१ तथा ओपनिङमै गएका उपकप्तान ज्ञानेन्द्र मल्लले १८ रन जोडेका थिए ।

युएई ‘ए’ का लक्ष्मण श्रीकुमारले तीन विकेट लिए भने मोहम्मद कसिम र कार्थिक मायाप्पनले दुई÷दुई तथा शिराज पिया, बिलाल चिमाफाहाद नवाजले एक-एक विकेटमा नाम लेखाए ।जबाफमा आएको युएई ‘ए’ लाई ४८.४ ओभरमा २ सय २१ रनमा रोक्दै नेपालले भ्रमणको विजयी सुरुआत गर्यो । कप्तान पारस खड्काले ५ तथा दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदै विपक्षीलाई सानो स्कोरमा रोकेका थिए । यसबाहेक ललित भण्डारी र करण केसीले एक-एक विकेट लिए ।

युएई ‘ए’ का लागि नेइल लोबोले सर्वाधिक ५९ रन बनाए भने ओपनरद्वय चिराग सुरीले ४५ तथा फाहद नवाजले ३६ रन जोडेका थिए । यसै गरी अंश टन्डन र वासी शाहले समान १७ रन जोड्दा मोहम्मद अलीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् ।

नामिबिया जानुअघि नेपालले दुबईमा थप दुई अभ्यास खेल खेल्नेछ । नामिबियामा ६ टोली सम्मिलित प्रतियोगितामा नेपालले माघ २५ गते आयोजक नामिबियासँग खेल्नेछ भने त्यसको भोलिपल्ट ओमानसँग खेल्नेछ । यसै गरी माघ २८ मा युएई, २९  गते केन्या र फागुन २ मा क्यानाडासँग खेल्नेछ ।

प्रकाशित: १७ माघ २०७४ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App