८ वैशाख २०८१ शनिबार
अर्थ

‘क्लिंकर’ समस्या यथावत्

वीरगन्ज – सीमावर्ती भारतीय रेल्वेको रक्सोल स्टेसनमा अनलोड भई आउने क्लिंकर एक्कासी रोकिएपछि सिमेन्ट उद्योगलाई परेको समस्या यथावत छ । भारतीय रेल्वे र रक्सोलका स्थानीयबीच प्रदुषण सम्बन्धी विवादबीच रक्सोलमा झार्ने ‘क्लिंकर’को खेपका लागि भारतीय रेल्वेले नयाँ बुकिङ बन्द गरेको थियो । गत पुस ७ को उक्त निर्णयपछि रेल्वेको रेकमा नयाँ खेप क्लिंकर नेपालका लागि आउन सकेको छैन ।

यसको असर नेपाली सिमेन्टको मूल्यमा परेको छ । ५० किलोको बोरामा आउने सिमेन्टमा प्रतिबोरा करिब डेढ सय रुपैयाँको वृद्धि भएको छ । सँगै सिमेन्ट उद्योगको भविश्य धरापमा परेको भन्दै उद्योगीले समाधानका निम्ति नेपाल सरकार उदासिन देखिएको आरोप लगाएका छन् । ‘रक्सोलदेखि डेढ सय किलोमिटर टाढा रहेको नारायणपुर रेल्वे स्टेसनबाट अहिले सिमेन्ट आइरहेको छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका सदस्य तथा रक्सोल नाका सम्बन्धी समितिका संयोजक माधव राजपालले भने, ‘प्रतिटन एक हजार पाँच सय रुपैयाँ भाडामा रक्सोलबाट क्लिंकर ढुवानी हुँदै आएकामा अहिले तीन हजार पाँच सय रुपैयाँ भाडा परिरहेको छ ।’

यहाँका लागि आयात भएर आउने डस्टी (धुलोयुक्त) कार्गो नेपाल सरकारले आफ्नो ठाउँमा मगाउने योजनासमेत देखाउन नसकेपछि भारतीय पक्षले पछिल्लो निर्णयमा पुनर्विचार नगरेको राजपालले बताए । रक्सोलका स्थानीयले त्यहाँ रेल्वे रेकबाट क्लिंकर अनलोड हुँदा र ट्रिपरमा लोड हुँदा धुलो उडेर स्वास्थ्य र जनजीवन प्रभावित भइरहेको भनी आन्दोलन गरेका थिए । त्यसैबीच रक्सोलका स्थानीयले वायु प्रदुषणविरुद्ध पटना उच्च न्यायालयमा नागरिक अधिकार अन्तर्गत रिट निवेदन दिएका थिए । प्रदुषण नियन्त्रण बोर्डबाट टोली खटाएर अदालतले स्थलगत छानबिन प्रतिवेदन झिकाएको थियो । मुद्दाको सुनुवाइ गर्दै उक्त आदालतले भारतीय रेल्वेलाई ‘डस्टी कार्गो’बाट हुने प्रदुषण नियन्त्रण गर्न गत अगस्त २५ मा आदेश दिएको थियो ।

भारतीय रेल्वेले अदालतको आदेशअनुसार संरचना स्तरोन्नति यसै भारतीय आर्थिक वर्षभित्र गरिसक्नु पर्ने छ । त्यसअगावै भारतको केन्द्र सरकारमा रहेको भारतीय जनता पार्टीका स्थानीय अगुवा महेशकुमार अग्रवालको अगुवाइमा आन्दोलन सुरु भयो । त्यसपछि पुस ७ का दिन भारतीय रेल्वेले रक्सोलमा झार्ने गरी क्लिंकर ढुवानी रोकेर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा क्लिंकर लग्न सहमतिको पत्राचार गरेको थियो । यता सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने नेपाल सरकारले सहमति दिएको छैन । त्यहाँ उपयुक्त पूर्वाधार पनि नभएको बताइएको छ । यस्तोमा भारतबाट नयाँ खेप क्लिंकर कुनै पनि सिमेन्ट उद्योगले ल्याउन सकेका छैनन् ।

भारतबाट क्लिंकर लगायत कच्चा पदार्थ ल्याएर पिसाइ गर्ने ‘ग्रान्डिङ युनिट’को रुपमा सञ्चालित उद्योगले क्लिंकरको अभाव र ढुवानी खर्च वृद्धि देखाउँदै सिमेन्टको भाउ बढाएका छन् । उनीहरुले वृद्धि गरेको सिमेन्टको भाउ उचित छ वा छैन भन्ने अनुगमन भने भएको छैन । ‘क्लिंकर समस्या सुरु भएदेखि सिमेन्ट महंगो भएको हो,’ विभिन्न ब्रान्डको सिमेन्टका खुद्रा बिक्रेता अलि अख्तरले भने, ‘भाउ बढेपछि बिक्री घटेको छ, कतिपय निर्माण काम ठप्प पनि छन् ।’

यता दर्घिकालीन समाधानको लागि काम अघि बढाउदै तत्कालीन समस्याको समाधान निकाल्न निजी क्षेत्रबाट पहल सुरु भएको छ । ‘हामीले नेपाल र भारत दुवैतिरको सरकारलाई घचघच्याउने काम गरेका छौं, समाधानका लागि नेपाल सरकार अघि सर्नुपर्ने छ,’ नेपाल शालिमार सिमेन्ट प्रालिका सन्चालक समेत रहेका प्रदेश २ को उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोककुमार वैदले भने, ‘हामीले समाधाका लागि केही बाटो सुझाएका छौं, केही दिनभित्र परिणाम आउने आशा छ ।’

डस्टी कार्गोका लागि वीरगन्ज सिर्सिया सुक्खा बन्दरगाह नजिक बेग्लै यार्ड बनाउने प्रस्तावित योजना अघि बढाउन नेपाल सरकारले जग्गा प्राप्ति, टेन्डरलगायत प्रक्रिया अघि बढाएर भारतीय पक्षले ६ महिनाका लागि यथावत रक्सोल स्टेसन क्लिंकर आयातका लागि प्रयोग गर्न दिने मनसाय देखाएको उद्योगी बताउँछन् । यसअघि नेपालतिर कुनै तयारीसमेत नभएकाले समस्या बल्झिएको सरोकारवालाहरुको बुझाइ छ । वीरगन्ज पथलैया कोरिडोरमा १३ वटा सिमेन्ट उद्योग छन् । उद्योगी वैदले कच्चा पदार्थको मूल्य वृद्धिसँगै आपूर्तिमा अवरोध पनि भएपछि स्वाभाविक रुपमा सिमेन्टको भाउ बढेको बताए ।
 

प्रकाशित: १७ माघ २०७४ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App