८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश प्रमुखलाई सुरक्षाकर्मी ‘सकस’

सुर्खेत  -‘बाबुहरू ! मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि बिहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’ प्रदेश ६ प्रमुख दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो । यसो भन्नुमा उनको बाध्यता थियो– कठ्यांग्रिदो चिसो अनि निवासमा सुरक्षाकर्मीका लागि बस्ने ठाउँ नहुनु । ‘मलाई त केही छैन, बिचरा यी बाबुहरू (सेना) लाई अहिले पनि उस्तै समस्या छ,’ मंगलबार खनालले सञ्चारमाध्यमसामु मुख खोले, ‘सरकारका तर्पmबाट केही पनि व्यवस्थापन भएको छैन ।’

मर्यादाक्रममा प्रदेशको पहिलो नम्बरमा रहने प्रदेश प्रमुख नियुक्त गरे पनि सरकारले उनको निवास तथा कार्यालय व्यवस्थापनमा भने बेवास्ता गरेको छ । सुरक्षाका लागि नेपाली सेनाको १३ जनाको डफ्फा खटाएको छ । तर, सरकारी निवासको व्यवस्था नहुँदा सुरक्षाकर्मी नै उनका लागि ‘सकस’ भइरहेका छन् ।

‘उहाँ (प्रमुख) स्वभावैले पनि ‘अति–सम्मान’ नरुचाउने मान्छे, त्यसमाथि बसोबासको उचित प्रबन्ध नगरी सुरक्षाकर्मीमात्र खटाउँदा अप्ठेरो मानिरहनुभएको छ,’ खनालका निजी सहयोगीका रूपमा काम गरिरहेका छोरा सुशीलकेशरले भने, ‘सम्बन्धित ठाउँमा थुप्रैपटक कुरा पु¥याउँदा पनि सुनुवाइ भएको छैन ।’

नियुक्त भएको दुई साता बिते पनि प्रदेश प्रमुख खनाल इत्रामस्थित टिनले छाएको साँघुरो घरमा बसिरहेका छन् । तत्कालीन क्षेत्रीय प्रशासकको नेतृत्वमा रहेको प्रादेशिक संरचना व्यवस्थापन समितिले उनको कार्यालय र निवासका लागि क्षेत्रीय वन निर्देशनालय र क्षेत्रीय वन तालिम केन्द्रको भवन सिफारिस गरेको थियो । यद्यपि, सम्बन्धित निकायले भवन खाली नगर्दा उनको बास आफ्नो पुरानो र साँघुरो घरमै छ । कार्यालयका लागि भने तालिम केन्द्रका तीनवटा कोठा उपलब्ध गराइएका छन् । ‘हामीले अपमानपूर्वक सरकारी कर्मचारीलाई निकालेर भवन खाली गराउन त भएन नि !’ प्रदेश प्रमुख खनाल आपूm निकटसँग भन्ने गर्छन्, ‘भरसक सरकारले समयमै यो पहल गरिदिए हुन्थ्यो ।’

सरकारी निवासको व्यवस्था नहुँदा घरमा आउने आफन्तलाई पनि निकै सास्ती हुने गरेको प्रदेश प्रमुखको परिवारको गुनासो छ । अन्य काम लिएर घरमा आउने आफन्तलाई समेत सुरक्षाकर्मीले कर्तव्यपालनाको सिलसिलामा सोधपुछ गर्दा असहज हुने गरेको सहयोगीले बताए । ‘उहाँहरू (सेना) लाई पनि हामीले सोधपुछ नगर भन्ने कुुरा भएन, आफ्नो ड्युटी पूरा गर्न दिनैप¥यो,’ सुशीलकेशरले भने, ‘तर यही सानो कुराले आफन्तले दुःख झेलिरहनुभएको छ ।’

प्रदेश प्रमुखको सचिवालयले वन निर्देशनालय वा तालिम केन्द्रमा असम्भव भए तत्कालका लागि सरकारी निवासका रूपमा क्षेत्रीय खानेपानीको आवासगृह व्यवस्था गर्न सुझाएको छ । तर, यसमा पनि सुनुवाइ नभएको सहयोगी सुशीलकेशरले बताए । प्रदेश प्रमुखको कार्यालयका सचिव आउनुअघिसम्म यी सम्पूर्ण कार्यको समन्वय प्रमुख सचिव मातहतको कर्मचारी समूहले गरेको थियो । प्रमुख सचिवले नै ससाना कामका लागि प्रदेश प्रमुखलाई माथिल्लो निकायमा फोन गर्न लगाएको उनको गुनासो छ । ‘यस्तो काम त ‘ब्युरोक्रेसी’ले गर्नुपर्ने हो नि !’ उनले भने, ‘तर ‘हामीले भनेको सुनुवाइ भएन’, भन्दै उहाँ (प्रदेश प्रमुख) लाई नै फोन गर्न लगाउनुहुँदो रहेछ ।’ चार दिनअघि प्रदेश प्रमुख कार्यालयका सचिव आएपछि भने निकै सहज भएको उनले बताए।

निजी सचिवालय गठन
प्रदेश प्रमुख खनालले मंगलबार आफ्नो निजी सचिवालय गठन प्रक्रिया सुरु गरेका छन् । प्रमुख स्वकीय सचिवमा डा. राजेशकेशर खनालसहित सातजनालाई नियुक्ति गरिएको छ । राजेशकेशर महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जका सहप्राध्यापक हुन् । सचिवालय गठनपछि प्रदेश प्रमुखको काम चुस्त हुने अपेक्षा गरिएको छ ।  

‘अभ्यस्त’ हुनै समस्या
बिहान ५ बजे नै उठेर ‘मर्निङवाक’ मा हिँड्ने खनाललाई नजिकका शुभचिन्तकले पदीय मर्यादालाई ख्याल गर्दै मर्निङवाकको स्थान र समय व्यवस्थापन गर्न सुझाव दिइरहेका छन् । तर, उनका लागि यो निकै जटिल छ । ‘स्वास्थ्यका कारण पनि यो बानीलाई त रोक्नै सकिँदैन,’ ७० वर्षीय प्रदेश प्रमुख खनालले ठट्टाको शैलीमा भने, ‘अझ त्यसमाथि सुरक्षाकर्मी पनि पछिपछि हिँड्दारहेछन्, कताकता असजिलो लाग्ने ।’

मंगलबार दिउँसो पनि उनले यस्तै असहजता देखाए । मातृशोकमा रहेका पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको घरमा जाने क्रममा उनलाई सचिवालयका कर्मचारीले गाडीमा हिँड्न सुझाए । ‘तर उनको भनाइ थियो, ‘हा.. ! यति नजिक पनि के गाडी चढ्नु, हिँड जाम् ।’

त्यसपछि उनी प्रमुख स्वकीय सचिव र अंगरक्षकसँगै हिँडेर खड्काको घरतिर लागे । ‘उहाँको बानी नै यस्तै छ, जतिसक्दो सरल हुन खोज्नुहुन्छ,’ यो दृश्य हेरिरहेका सहयोगी सुशीलकेशर भन्दै थिए, ‘हामीले ओहदाअनुसार अभ्यस्त बनाउन प्रयास गरिरहेका छौं, बिस्तारै होला नि !’



००
तस्बिर ः ६ नम्बर प्रदेश प्रमुख दुर्गाकेशर खनाल निजी निवासबाटै निस्किँदै । निजी निवासको बाहिर तैनाथ सेना ।
तस्बिर ः कलेन्द्र÷नागरिक

प्रकाशित: १७ माघ २०७४ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App