coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसीमा भारतीय ठेकेदारको लापबारही

माथिल्लो तामाकोसी जलबिघुत् आयोजनाको कार्यालय भवनहरू । तस्बिर : आयोजनाको वेबसाइट

दोलखा – निर्माण सम्पन्न हुने चरणमा रहेको भनिएको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा काम गरिरहेको एक भारतीय ठेकेदार कम्पनीले निर्माण कार्यमा अवरोध पु¥याउने मनशायले गम्भीर लापबारही गरेको छ ।

स्वदेशी लगानी मोडलको अहिलेसम्मकै ठूलो मेगावाटको यो आयोजनामा हाइड्रो मेकानिकको ठेक्का पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेलवे इन्जिनियरिङले आयोजना निर्माणमा अवरोध पुग्ने गरी काममा ढिलाइ गर्नुका साथै लापबारही गरिरहेको छ । चार सय ५६ मेगावाटको आयोजना दोलखाको लामाबगरमा निर्माण भइरहेको छ ।

२०७५ पुसभित्र बिजुली बाल्ने लक्ष्य राखिएको आयोजनामा सिभिल, हाइड्रो, इलेक्ट्रो र ट्रान्समिसन लाइन गरी चारवटा अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीमार्फत चार लट ( प्याकेज)मा काम भइरहेको छ । दोस्रो लट (हाइड्रोमेकानिक)को ठेक्का लिएको टेक्सम्याकोले अन्य ठेकेदारका काम र समग्र आयोजनालाई नै प्रभावित पार्ने तवरले काममा ढिलासुस्ती गरिरहेको अधिकारीहरुले बताएका छन् । कामको गति नमिल्दा र उसको ढिलाइका कारण समग्र आयोजना नै कम्तीमा १८ महिनासम्म पछि धकेलिन सक्ने चेतावनी अधिकारीले दिएका छन् ।

‘साह्रै कछुवा गति भयो, उसको मनशाय बुझ्नै सकेका छैनाै,’ आयोजनाका एक अधिकारीले भने, ‘हाम्रो स्तरबाट कुरा गर्दा ढुवानीको समस्यासहित विभिन्न बहनाबाजी गरेर पन्छिनेबाहेक केही गर्दैन,’ । ती अधिकारीका अनुसार सरकारी स्तरबाट कूटनीतिक दबाब दिएर ठेकेदारलाई लगाम लगाउने गरी काममा रफ्तार दिन नसके समग्र आयोजना नराम्ररी प्रभावित हुनेछ।                                                   

यो कम्पनीलाई आयोजनाको बाँधस्थल, सुरुङमार्गसहित विभिन्न ठाउँमा पाइप, गेट लगायत हाइड्रोमेकानिक्स सम्बन्धी संरचना जडान गर्ने जिम्मा छ । मुख्य ठेकेदारसमेत रहेको सिभिलतर्फको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले १८.४ किमि सुरुङमार्ग र बाँधस्थलको सिभिल काममध्ये केही छिटपुटबाहेक प्रायः काम सम्पन्न गरिसकेको छ ।

सिभिलले बनाएका सुरुङमार्गमा ठुल्ठूला पाइप जडान गर्ने र बाँधस्थलसहित विभिन्न भागमा ठूला गेट लगायत संरचना जडान गर्ने काम भारतीय कम्पनी टेक्सम्याको इन्जिनियरिङको रहेको छ ।
तेस्रो प्याकेज इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रो कम्पनीले पावर हाउसमा टर्बाइन जडान, पावर हाउसभित्र ठुल्ठूला जेनेरेटर, मेसिन लगायत उपकरण जडान गर्ने काम गर्छ । चौथो प्याकेज ट्रान्समिसन लाइनको जिम्मा भारतीय कम्पनी केइसी इन्टरनेसनल कम्पनीले आयोजनामा उत्पादित बिजुलीलाई खिम्ती सबस्टेसनसम्म लैजान टावर निर्माण गरी तार टांगेर ट्रान्समिसन लाइन निर्माणको काम गर्छ ।

हाइड्रोमेकानिकलको जिम्मा पाएको भारतीय कम्पनीले सुरुङमार्ग निर्माण सम्पन्न भएसँगै आठ सय मिटर पाइप जडान गरिसक्नु पथ्र्यो । मुख्य सिभिल ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले गत मंसिर पहिलो साता आयोजनाको सुरुङमार्ग छिचोलेर पूरा गरेको थियो । ‘सुरुङ छिचोलेर ‘ब्रेक थ्रु’ भएको अवधिसम्म यो कम्पनीले कम्तीमा सँगसँगै सुरुङमा पाइप जडान गरेर अरु काम बाँकी राख्नुपथ्र्यो,’ आयोजनाका ती अधिकारीले भने, ‘तर अहिलेसम्म त्यस क्षेत्रमा राम्ररी हात हाल्न पनि सकिरहेको छैन’ ।

एउटै पाइप हाल्न तीन दिन
बाँधस्थलमा थुनेको पानी पावर हाउससम्म ल्याउन दुई भागमा सिधै ठाडो र एक भागमा तेर्सो आकार गरेर बनाइएको सुरुङमा उक्त पाइप जडान गरिन्छ । जसलाई पेनस्टक र भर्टिकल साफ्ट भनिन्छ । तीन सय १० मिटर ठाडो, एक सय मिटर तेर्सो र उही पाइप फेरि तीन सय १० मिटर ठाडो पारेर पावर हाउससम्म पु¥याइन्छ । आयोजनामा कार्यरत प्राविधिकका अनुसार एउटा पाइप पाँच मिटर लम्बाइ र ३.६ मिटर गोलाकार चौडाइको हुन्छ, जसलाई सुरुङमा जडान गर्न कम्तीमा तीन दिन लाग्छ । ‘एक सय ६० वटा पाइप जडान गरिसक्नुपर्नेमा अहिलेसम्म ४० वटा पनि जडान भएका छैनन्,’ सुरुङ मार्ग हेर्ने आयोजनाका एक प्राविधिक कर्मचारीले भने, ‘यही हिसाबले अरु एक वर्ष यो पाइप जडानमा बित्छ र अरु प्याकेजका काम पनि प्रभावित हुँदा आयोजना कम्तीमा दुई वर्ष पछि धकेलिने खतरा छ ।’

ढुवानी कार्य कछुवा गतिमा
ठेकेदार कम्पनीले भारतबाट ल्याउने पाइप ढुवानी प्रक्रिया कछुवा गतिको छ । एउटा ट्रेलरले एउटा पाइप बोक्छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार सिमराबाट एउटा पाइप बोकेर आउने ट्रेलर आयोजना स्थल लामाबगर आइपुग्दा कम्तीमा १२ देखि १५ दिन लगाइरहेको छ,’ उनले भने, ‘ढुवानी अलि छिटो गर्न ताकेता गरिरहेका छौं ।’ उनले ठेकेदार कम्पनी खाडीचउरदेखि चरिकोटसम्मको बाटोको समस्या देखाएर पन्छिने गरेको सुनाए । ताकेता गरेपछि पनि दैनिक तीनवटा भन्दा बढी पाइप आउन नसकेको उनले बताए । हाइड्रोमेकानिकलको ढिलाइले सुरुङमार्गमा कंक्रिट गर्ने लगायत केही सानातिना काम बाँकी राखेको चिनियाँ कम्पनी सिनो हाइड्रोको काम समेत प्रभावित बनेको छ ।

तदारुकताका साथ काममा लगाउन प्रयारसरत छौं
आयोजना निर्माणको सुरुवाती चरणदेखि नै हाइड्रोमेकानिकल महाशाखामा समेत काम गरेका आयोजना प्रमुख दिनेशजंग राणाले ढिलाइ गर्ने ठेकेदार कम्पनीलाई काम गराउने प्रयास भइरहेको जानकारी दिए ।
‘ढुवानीको कारण देखाएर ढिलाइ गरिरहेको छ,’ उनले भने, ‘कम्पनीको माथिल्लो तहदेखि दबाब दिने काम गरिरहेका छौं ।’ आयोजना प्रमुख राणाले ढुवानी समस्या देखाएर कम्पनीले नेपाल भित्र्याएका पाइप आधा वीरगन्ज र आधा सुनकोसी जलविद्युत् आयोजना क्षेत्रमा राखेको जानकारी आयोजनालाई दिएकाले तत्काल त्यसको ढुवानीको वातावरण बनाउने प्रयासमा रहेको सुनाए । तदारुकताका साथ अब काम लगाउन सकेमा आठ महिनामा यो काम पूरा हुने राणाको ठम्याइ छ ।निर्माणको अन्तिम समयमा आएर कारबाही वा अन्य प्रक्रियामा आयोजनाको काममा अझ भद्रगोल परिस्थिति उत्पन्न हुनसक्ने कारण उक्त कम्पनीलाई जसरी पनि दबाब दिएर काम गराउनुपर्नेमा आयोजनाका अधिकारीसमेत छन् ।  

शंका उत्पन्न गराउँदैछ
दोलखा १ का प्रदेश सभा सांसद विशाल खड्काले माथिल्लो तामाकोसीमा भारतीय ठेकेदारको ढिलासुस्तीले शंका उत्पन्न गराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । ‘कागजमा ९० प्रतिशत काम सकिएको देखिन्छ,’ उनले भने, ‘तर एउटा ठेकेदार कम्पनीको गम्भीर लापबारहीले यति ठूलो समस्या निम्त्याउने खतरा बढ्दैछ, यसप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं’ । उनले नेपाली लगानीको पहिलो र सबैभन्दा ठूलो आयोजना भएकाले असफल बनाउने प्रयास सुरुदेखि भएकाले आयोजना निर्माणमा हुने हरेक ढिलासुस्तीविरुद्ध सरकारी स्तरबाट कुटनीतिक रुपमा समेत उक्त ठेकेदार कम्पनीलाई काम गराउन दबाब जरुरी भएको प्रतिक्रिया दिए ।

प्रकाशित: १७ माघ २०७४ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App