१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

मंगलबार मेला हेर्न आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत ।

काठमाडौं – यस वर्षको क्यान इन्फोटेकमा तीन लाख ७६ हजार दर्शकले अवलोकन गरेका छन् । ६ दिनसम्म चलेको सुबिसु क्यान इन्फोटेक–२०१८ मंगलबार सम्पन्न भएको छ ।

गत वर्षभन्दा यसपालि ६६ हजारभन्दा धेरै दर्शकले अवलोकन गरेको क्यान महासंघका प्रबन्धक सुवास पौडेलले बताए । उनका अनुसार पोहोर साल तीन लाख १० हजार दर्शकले मेलाको अवलोकन गरेका थिए । क्यानले मेला आवलोकन गर्न आएका दर्शकले काटेको टिकट र उसले निःशुल्क वितरण गरेको पासका आधारमा अवलोकन गर्न आएका दर्शकको संख्या निकालेको हो ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको अन्तिम दिन ९४ हजार तीन सयभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ । इ–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पुर्याउने हाम्रो ठम्याइ छ ।

यसपालिको मेलामा एनालाइजर सिस्टम, प्रिन्टर, प्रोजेक्टर, बारकोड स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी, स्मार्टफोन, स्मार्ट टिभी, मोबाइल वालेट, हाई स्पिड इन्टरनेट, डिजिटल टिभी, सेटअप बक्स, एन्टी भाइरस र इन्टरनेट सेक्युरिटी, हेल्थ केयरसम्बन्धी डिजिटल प्रडक्ट, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित विशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, सेल्फी स्टिक लगायत स्टल आकर्षणको केन्द्र बने । त्यस्तै, नेपाली विद्यार्थी, स्टार्टअप र रोबोटिक्स क्लबहरुले निर्माण गरेका इन्नोभेटिभ प्रडक्टहरुले पनि विद्यार्थी र युवाको मन तानेको आयोजकले बताएको छ ।

‘यसपटक नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, राजनीतिक दलका नेताहरु, कलाकार, नीति निर्मातालगायत बालकदेखि वृद्धसम्मका सूचना प्रविधिप्रेमी सर्वसाधारणको बाक्लो उपस्थिति रहेको पायौं,’ क्यान महासंघको विज्ञप्तिमा भनिएको छ, ‘यसले आम नेपालीमा सूचना प्रविधिको पहुँच विस्तार र नीति निर्माणमा योगदान पुर्याउने छ भन्ने कुरामा हामी आशावादी छौं ।’

यसपटकको मेलामा थुप्रै नयाँ प्रविधि भित्रिएको आयोजकले जनाएका छन् । त्यसबारे इन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा स्मार्ट होम प्रविधि, हेल्थ इन्फोटेकमा मोटोरोला, हुवावे, एमआई, वान प्लस, एचटिसी, डिटिसी जस्ता मोबाइल ब्रान्डको स्टलमा अवलोकनकर्ताको चासो देखिएका थिए । त्यस्तै सामाजिक सञ्जाल सगुनको मोबाइल एपले पनि दर्शकको ध्यान तानेको थियो । नेपाली सफ्टवेयर कम्पनीका लागि छुट्टै प्याभिलियन व्यवस्था गरिएको थियो । नेपालमै सफ्टवेयर, सोलुसन्स र सर्भिसेसको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि इन्फोटेकमा उपस्थिति रहेकाले थप हौसला मिलेको क्यानले जनाएको छ । कम्पनीहरुले ल्याएका शिक्षा, स्वास्थ्य, अस्पताल, कार्यालय व्यवस्थापन, लेखा, बैंक तथा वित्तीय क्षेत्रका लागि ल्याएका सफ्टवेयरको प्रवद्र्धन गर्न पनि यस इन्फोटेकले भूमिका खेलेको आयोजकको भनाइ छ ।

क्यान इन्फोटेकको २४औं संस्करणको शीर्ष प्रायोजक सुबिसु केबलनेट र एसोसिएट स्पोन्सर मोटोरोला थियो । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी एक सय ५० भन्दा बढी कम्पनीका दुई सय २२ स्टल थिए ।

क्यान महासंघले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ ।

प्रकाशित: १७ माघ २०७४ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App