८ वैशाख २०८१ शनिबार
कला

कामना फिल्म अवार्ड : छक्का पञ्जालाई ८ अवार्ड (भिडियो)

काठमाडौं – पुराना समयका प्रेमध्वज प्रधानदेखि नयाँ पुस्ताकी मिना निरौलासम्मका अनुहार आफ्ना चलेका गीत गाउँदै पालैपालो स्टेजमा आउँदा त्यहाँको माहौल दर्शकका लागि ऐतिहासिक बन्छ।

राजधानीमा मंगलबार भएको तेस्रो संस्करणको ‘कामना फिल्म अवार्ड २०७४’ मा यस्तै माहौल देखियो। प्रेमध्वजले ‘नमान लाज’ गाएर पुरानो समयको स्मृति ताजा गराउँदा अहिलेका पुस्ताका युवराज चौलागाईले फिल्म ‘पलाँस’को ‘तिमी साथमा हुँदा नी’ गुनगुनाए। कमेडी अभिनयमा रुचाइएका गायक मदनकृष्णले फिल्म ‘के घर के डेरा’को गीत ‘हे भगवान’ सुनाउँदा गायिका मीनाले ‘कान्छी मटयाङ ट्याङ’ गीत सुनाइन्।

स्टेजमा मदन, मीना, युवराज र प्रेमध्वजबाहेक यम बराल, शम्भुजित बास्कोटा, आनन्द कार्की, ताराप्रकाश लिम्बू र तारा थापाको सोलो गायन पनि कम आकर्षक थिएन। पालैपालो गीत गाएर पछि सामूहिक रुपमा स्टेजमा देखिँदा दर्शकले तालीबाट सम्मान गरेका थिए।

चौधरी ग्रुपको सिजी इन्टरटेनमेन्टसँग सहकार्य गर्दै कामना पब्लिकेशनले आयोजना गरेको अवार्डमा दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा’ले ‘सर्वोत्कृष्ट फिल्म’सहित सर्वाधिक ८ विधामा अवार्ड जित्यो। फिल्मका लागि जितु नेपाल ‘सर्वोत्कृष्ट सहअभिनेता’, दीपकराज गिरी ‘सर्वोत्कृष्ट खलपात्र’, केदार घिमिरे ‘सर्वोत्कृष्ट हास्य कलाकार’, दीपाश्री निरौला ‘सर्वोत्कृष्ट नवनिर्देशक’, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल ‘सर्वोत्कृष्ट संवाद’, कृष्ण काफ्ले ‘सर्वोत्कृष्ट पाश्र्व गायक’ र कविराज गहतराज ‘सर्वोत्कृष्ट नृत्य निर्देशन’ बने।

अवार्डमा पाँच विधामा फिल्म ‘गाजलु’ अब्बल बन्यो। फिल्मका लागि हेमराज बिसी ‘सर्वोत्कृष्ट निर्देशक’ र ‘सर्वोत्कृष्ट कथा’, सृष्टि श्रेष्ठ ‘सर्वोत्कृष्ट नवअभिनेत्री’, सुरेन्द्र पौडेल ‘सर्वोत्कृष्ट सम्पादन’ र उत्तम न्यौपाने ‘सर्वोत्कृष्ट ध्वनी मिश्रण’ विधाका हकदार बने।

चार विधामा अवार्ड जितेको फिल्म ‘डाइङ क्यान्डल’का लागि सिर्जना सुब्बा ‘सर्वोत्कृष्ट अभिनेत्री’, लाक्पा सिंघे तामाङ ‘सर्वोत्कृष्ट बालकलाकार’, रविन आचार्य ‘सर्वोत्कृष्ट छायांकन’ र सरोज बुढाथोकी ‘सर्वोत्कृष्ट श्रृंगार’ बने। अवार्डमा फिल्म ‘जात्रा’का लागि विपिन कार्कीले ‘सर्वोत्कृष्ट अभिनेता’को अवार्ड जित्दा यही फिल्मका लागि प्रदीप भट्टराईले ‘सर्वोत्कृष्ट पटकथा’ मा अवार्ड जिते ।

त्यस्तै फिल्म ‘के म तिम्रो होइन र’का लागि नायक आर्यन अधिकारी ‘सर्वोत्कृष्ट नवअभिनेता’, एलिस कार्की ‘सर्वोत्कृष्ट पाश्र्व संगीत’ र हिमाल केसी ‘सर्वोत्कृष्ट द्वन्द्व निर्देशन’ विधामा अब्बल बने। यसैगरी फिल्म ‘होमवर्क’का लागि गौरी मल्ल ‘सर्वोत्कृष्ट सहअभिनेतृ’, फिल्म ‘शब्द’को ‘हरपल’का लागि डा. कृष्णहरि बराल ‘सर्वोत्कृष्ट गीतकार’, फिल्म ‘लुट २’को ‘ठमेल बजार’का लागि संगीतकार कालीप्रसाद बास्कोटा ‘सर्वोत्कृष्ट संगीतकार’, फिल्म ‘किस्मत २’को ‘यी आँखा लैजाउ’का लागि गायिका अञ्जु पन्त ‘सर्वोत्कृष्ट पाश्र्व गायिका’ बने। अवार्डमा नायिका केकी अधिकारी ‘लक्स पपुलर च्वाइस अवार्ड’ अवार्डमा उत्कृष्ट ठहरिइन्।

कार्यक्रममा प्राविधिक तर्फ छाँयाकार मञ्जुकुमार श्रेष्ठलाई र कलातर्फ हरिहर शर्मा र सकुन्तलाई शर्मालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड– २०७४’ दिइएको थियो। दुवै अवार्डको राशी जनही १ लाख रुपैंयाँ र ताम्रपत्र रहेको छ।

प्रकाशित: १६ माघ २०७४ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App