coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुटवलका सडकमा फूलबारी बन्दै

बुटवल- जताततै फोहर,धुलाम्मे र ट्राफिक जामले अस्तव्यस्त। हाम्रा शहरका बारेमा कुरा गर्दा दिमागमा यी विषय नाचिहाल्छन्। अब बुटवलको सडक धुलाम्मे र फोहर होइन्, सडकको दाँया—बाँया थरिथरिका फुल फुल र हरियालीले हेर्न लायक हुनेछन्।

 सधैंभरी धुलाम्मे र फोहर सडकले वाक्क बुटवल—११ कालिकानगर कालिकापथकि ५५ वर्षीया शकुन्तला पुनले डेढ महिना अघिको कुनै दिन सोचिन्—हाम्रो सडक राम्रो सडक किन नबनाउने। टोलछिमेकका महिला दिदिबहिनाको भेला बोलाइन्। भेलामा सडकको खाली भागलाई  फुलबारी बनाउने  सल्लाह भयो। यही सल्लाह भएको एक महिनामै कालिकापथको पाँच सय मिटर सडकको किनार फुलबारी भएको मात्रै नभएर बुटवल उपमहानगरमा सडकमै फुलबारी बनाउने अभियान शुरु भएको छ।

‘गरे राम्रो हुँदोरहेछ, अहिले शुरुमा सोंचे भन्दा राम्रो भएको छ—घर अगाडिको सडकमा फुलबारी बनाएकी शकुन्तलाले खुशी हुँदै भनिन्—सडकमा फोहरको साटो फुलबारी हुनु भनेको हामी नगरवासीको  प्रतिष्ठा हो।’

कालिकापथकामा १५ घर छन् । तीमध्ये आधाजसोमा बुढाबुढी र केटाकेटी छन् । आखिर काम गर्न खटिए जागँरिला ८ महिला । उनीहरुले प्रतिव्यक्ति १० हजार उठाए। काम गर्न नसक्नेको घरबाट १५ हजार। काम गर्न सक्ने ८ महिला एक महिनासम्म खटे, ज्यामी मजदुर लगाए। माटो र मलको  व्यवस्था गरे। थरिथरिका फूलका विरुवा लगाए। यी विरुवाको संरक्षण टोलसमितिले नै गर्ने छ। कालिकापथका महिलाले यो फुलवारी बनाउन ४ लाख रुपैंया खर्चिएका छन्।

 सडकमा फुलबारी बनाउने योजना सुनाउँदै कालिकापथका महिला सहयोगका लागि उपमहानगरपालिका कार्यालय पुगे । उनीहरुको योजना सुनेर मेयर निकै उत्साहित भए । मेयर शिव सुवेदीले यसैगरी समुदायलाई साथमा लिएर सिंगो बुटवललाई हरियाली बनाउने योजना बनाउँदै छन् ।  शुरुमा ६ लेन सडकको योगीकुटीदेखि राजमार्ग चौराहासम्मको दुई किमि सडकको दाँया—बाँया फुलका विरुवा रोपिने छ। त्यसपछि अन्यत्र पनि यसैरी काम हुने छ।

कालिकापथमा काम शुरु भएपछि पारिपट्टिको वडा नम्बर १० को जनकल्याणटोलमा पनि फुलबारी बनाउन थालियो। यो पार्क पनि कालिकापथको पार्कसगैं निर्माण सम्पन्न भयो। समुदायको सक्रियतामा निर्माण भएका यी दुई पार्कको नगर प्रमुख सुवेदीले मंगलबार उद्घाटन गरे।

सडक निर्माणको क्रममा ६ लेन सडक विस्तार आयोजनाले हरियाली क्षेत्र निर्माण गरी स्टोनिया लगायतका बिरुवा लगाएपनि संरक्षण हुन सकेको थिएन। अहिले समुदाय नै अग्रसर भएकाले सडकमा हरियाली क्षेत्र संरक्षण हुने देखिन्छ। उपमहानगरपालिका वा अरु कसैले हरियाली बनाउन लगाएको नभई समुदाय आफैं अग्रसर भएकाले यस्तो विकास अरुका लागि पनि अनुकरणीय हुने बुटवल उपमहानगरपालिका—१० का वडा सदस्य बलु पुनले बताए। जनकल्याण टोलमा बनाइएको शहीद पार्कमा १० लाख रुपैंया लागेको छ। यो पार्क बनाउन अनिवार्य तोकेर पैसा उठाइएको छैन्। टोलवासीले स्वच्छिक ५ हजारदेखि ५० हजार दिएका छन्।

समुदायको काम देखेर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको हरियाली पार्क शीर्षक अन्तर्गतको ५० लाख बजेटबाट ३० लाख रुपैंया यही खर्च गर्दैछ । यो पैसा मध्ये १५ लाख रुपैया वडा नम्बर १० को ६  र ११ को ७ वटा टोलले खर्च गर्ने छन्। यी दुई टोलको काम देखेर अरु टोलले पनि धमाधम माटो,गोबर मल र फुलको जोहो गर्दैछन् । उखडबाखड मिलाउन डोजर चलाइएको छ । टोल विकास संस्थाका पदाधिकारी टोलवासीसगैं काममा खटेका छन् । वडा नम्बर  १० का वडाध्यक्ष पदम थापा र ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री नियमित अनुगमन गरी टोलवासीको हौसला बढाइरहेका छन्।

आगामी चैत्र महिनाभित्र उपमहानगर क्षेत्र भित्र पर्ने ६ लेन सडकको सबै किनारमा हरियाली र आकर्षक फुलबारी निर्माण हुने मेयर  सुवेदीको भनाई छ।

बुटवल क्षेत्रमा मात्रै नभएर सगैं जोडिएको तिलोत्तमा नगरपालिकाको राजमार्गको ग्रिन वेल्टमा फुल रोप्ने अभियान चलाइएको छ । मणिग्राम,ड्राइभर टोल,नयाँमिलमा थरिथरिका फुल रोपिएका छन् । शंकरनगरमा फुल रोप्न तयारी हुँदैछ । ड्राइभरटोलदेखि शंकरनगरको ८ सयमिटर क्षेत्रको डिभाइडरमा मिशन डेभलपमेण्ट बैंकले फुल रोप्दैछ । शंकरनगरचोकदेखि माथिको ८ सय मिटरको डिभाइडरमा सामूहिक बचत तथा ऋण सहकारी संस्थाले फुल रोप्दैछ। तिलोत्तमा नगरपालिका क्षेत्रमा पनि समुदायले फुल रोपेका हुन्, फुलमा पानी राख्ने व्यवस्था नगरपालिकाले गरेको छ।

 

 

 

 

प्रकाशित: १६ माघ २०७४ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App