coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अखाद्य वस्तुको बिगबिगी

काठमाडौ–पानीपुरी र चटपटे नखाने टिन–एजर सायदै होलान् । टिन–एजरलाई लक्षित गरेर अधिकांश कलेज बाहिर, सडक पेटीमा चटपट, पानीपुरी बेच्न राखिएको हुन्छ तर तिनै पानीपुरी र चटपटेको प्रयोग गर्दा मानव स्वास्थ्यमा पर्ने असरको बारेमा ध्यान गएको पाइँदैन । रंगसहितको अखाद्य वस्तुमात्र नभएर गुणस्तहीन तेल प्रयोग गरेर बनाइएका वस्तु सडक पेटीमा बेच्ने गरेको भेटिएको छ । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनको क्रममा पानीपुरी पकाउँदा प्रयोग गर्ने कुहिएको गुणस्तरहीन तेल बरामद गरेको थियो ।

पानीपुरीमा मोबिलजस्तो कालो तेल प्रयोग गर्ने गरेको भेटिएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले बताए । ‘सडक पेटीमा बिक्री हुने पानीपुरी र चटपटेमा अखाद्य वस्तु प्रयोग गरेको भेटियो,’ पोख्रेलले भने, ‘खुला ठाउँमा बिक्री हुने खाद्यवस्तु खाँदा मानव स्वास्थ्यमा असर पुग्छ ।’

पानीपुरीमा मोबिलजस्तो कालो तेल प्रयोग गर्ने गरेको भेटिएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले बताए । ‘सडक पेटीमा बिक्री हुने पानीपुरी र चटपटेमा अखाद्य वस्तु प्रयोग गरेको भेटियो,’ पोख्रेलले भने, ‘खुला ठाउँमा बिक्री हुने खाद्यवस्तु खाँदा मानव स्वास्थ्यमा असर पुग्छ ।’

म्याद सकिएका कुहिएका तेलको प्याकेट खोलेर बिक्री गर्ने गरेको भेटिएको पोख्रेलले बताए । अनुगमनस्थलमा उत्तम, बिगुल, गंगा, सौभाग्यलगायत नामै नसुनेका तेल बिक्री गरेको भेटिएको पोख्रेलले बताए ।

विषादीले पार्ने दीर्घकालीन असर

  • क्यान्सर हुने जोखिम ।
  • ट्युमर हुने खतरा ।
  • अन्धोपना आउन सक्छ ।
  • नपुंसकता तथा बाँझोपन ।
  • विकृत बच्चाको जन्म हुन सक्ने ।
  • नशासम्बन्धी समस्या ।
  • शरीरका विभिन्न अंगहरुमा असर ।
  • दृष्टि कमजोर ।

यस्तो तेल बिक्री गर्ने राजेश चौरासिया र उनकी श्रीमती सरितालाई पक्राउ गरी अनुगमन टोलीले गौशाला प्रहरीलाई हालै जिम्मा लगाइएको छ । उक्त गुणस्तरहीन तेल प्रयोग गरेर बेच्ने रामसहरत साह र बालेश्वर साहलाई पनि पक्राउ गरिएको छ ।

सरकारी निकायले गर्ने अक्कलझुक्कल अनुगमनमा भेटिएको यो त प्रतिनिधिमूलक उदाहरण हो । खाद्य प्रविधिले गरेको बजार अनुगमनमा तेल मात्र नभएर प्रशोधित पिउने पानी, बेसन, प्रशोधित दूध, आइसक्रिम, घिउ, चामल, दाल, प्रशोधित सूर्यमुखी तेल, तोरी तेल, पाउरोटी, पप, बन, बिस्कुट, चकलेट, नमकिन, क्यान्डी, काजु गुणस्तरहीन भेटिएका छन् ।

एक दर्जन उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन गरेको भेटिएपछि मुद्दा दायर गरेको छ । अखाद्य तेल प्रयोग गर्दा मानव स्वास्थ्यमै गम्भीर असर पुग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्ती बताउँछन् । ‘गुणस्तरहीन तेलले फुडप्वाइजन हुछ,’ वस्तीले भने, ‘विभिन्न रोगको सिकार बन्ने सम्भावना हुन्छ ।’

गुणस्तरहीन खाद्यवस्तुको प्रयोगले झाडापखाला, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन् । यस्तो समस्या नियन्त्रण गर्नका लागि ५० वटा उद्योगलाई मुद्दा दायर गरिएको विभागका महानिर्देशक सञ्जिव कुमार कर्णले बताए । ‘अनुनगमको क्रममा सबै प्रकारका खाद्य वस्तुमा कैफियत देखिएको छ,’ कर्णले भने, ‘सामान खरिद गर्दा उपभोक्ता पनि सचेत हुनुपर्छ ।’ मुद्दा दायर गर्नेमा खाने तेल, दूध उद्योग, पिउने पानी, चामल, दाल, चिया, मिठाई, बेसन, बिस्कुट लगायतका उद्योग रहेका छन् ।

उपभोक्ताले कुनै पनि वस्तु प्रयोग गर्दा खाद्य बस्तुको नाम, उत्पादकको ठेगाना, ब्याच नं., उत्पादन मिति, उपभोग्य मिति, सम्मिश्रण गरिएका खाद्य वस्तुहरुको नाम, लेबलको बारेमा जानकारी लिनुपर्ने विभागका अधिकारी बताउँछन् । ‘सकेसम्म खुला ठाउँमा पकाएको वस्तु प्रयोग गर्नु हुँदैन,’ महानिर्देशक कर्णले भने, ‘उपभोक्ता नै सचेत हुनुपर्छ ।’

विषादीयुक्त तरकारी कसरी थाहा पाउने ?

  • प्राकृतिकभन्दा बढी हरियो देखिएमा
  • कुनै किरा लागेको दाग नभएको देखिएमा
  • विषादी राखेलगत्तै बजारमा लगिएका खण्डमा विषादी प्रयोगको गन्ध आएमा
  • पकाउने फलफूलमा कालो दाग देखिएमा
  • बैमौसमका तरकारी बजारमा आएमा
  • सर्लक्क परेका तरकारी या साग देखिएमा

तरकारीमा पनि विषादीको प्रयोग

कांग्रेसका नेतृ किरण यादवले विषादीको डरले भान्सामा टमटर निकै कम प्रयोग गर्छिन् । ‘तरकारीमा विषादी प्रयोग बढेको छ,’ सिंहदरबारमा आयोजित एक कार्यक्रममा यादवले भनिन्, ‘विषादीले पार्ने असरको बारेमा कसैले ध्यान दिएको छैन ।’

विषादी प्रयोगले क्यान्सरसम्मका गम्भीर रोग लाग्ने चिकित्सकले बताइरहँदा सरकारी अधिकारीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गर्दै विषादी प्रयोगको नियमनमा कसैले चासो दिएको छैन ।

 तरकारी, फलफूल, खाद्य वाली उत्पादनमा प्रयोग भएको विषादीले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने भए पनि यसको मापन, न्यूनीकरण र नियन्त्रणमा चासो दिइएको छैन । खाद्यान्न, तरकारीको नमुना संकलन गरेर विषादीको मात्रा मापन गरी खान योग्य छ÷छैन सिफारिस गर्नुपर्ने निकायले काठमाडौंको कालिमाटी तरकारी बजारबाहेक अन्यत्र परीक्षण गरेका छैनन् ।

राजधानी भित्रने तरकारीमा विषादीको मात्रा धेरै भएको आलोचना भएपछि उपत्यका भित्रने चार नाकामा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाली संरक्षण निर्देशनालयले जाँच्न थाले पनि प्रभावकारी हुन सकेको छैन । बालाजु, भक्तपुर, कीर्तिपुर, थानकोटमा निरीक्षण सुरु गरेका ती निकायले बीचमै छाडेका छन् ।

मुलुकभर विस्तार गर्नुपर्ने माग उठिरहँदा अहिले ती नाकामा समेत परीक्षण गर्न छाडिएको छ । कालिमाटीको तरकारीमा हानिकारक विषादीको मात्रा धेरै फेला नपरेको बहाना बनाएर सरकारी अधिकारीले उपभोक्ताको स्वास्थ्यमा संवेदनशील नभएका हुन् ।

काठमाडौं बाहिर पोखरा, वीरगञ्ज, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रमा तरकारीको धेरै खपत हुने भए पनि त्यहाँको बजारमा आउने तरकारीमा प्रयोग भएको विषादीको मात्राको परीक्षण हुन सकेको छैन । पाँचै विकास क्षेत्रमा खाद्य प्रविधिको ल्याब भए पनि विषादीको मापन गर्ने ल्याब नभएको भन्दै उक्त कामबाट विभाग पन्छदै आएको छ ।

तरकारी र खाद्यान्नमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै चिकित्सकसहित सरोकारवालाले चिन्ता व्यक्त गरे । तरकारी, खाद्यान्न, कुखुरामा प्रयोग हुने विषादीले विभिन्न प्रकारका रोग निम्त्याएको डा.तरुण पौडेलले बताए । ‘छिटो फलाउने नाममा विभिन्न प्रकारमा विषादी प्रयोग भैरहेका छन्,’ उनले भने, ‘तरकारी, कुखुराको मासुको कारण विभिन्न संक्रमण भित्रिएको छ ।’ चिकित्सकले सकेसम्म प्राकृतिक उत्पादन प्रयोग गर्न सुझाव दिए । आँप, केरा पकाउनको लागि प्रयोग गर्ने विषादीले असर पुग्ने भएकोले यसमा राज्यले अनुगमन गर्नुपर्ने बताए ।

विषादी प्रयोग गरेर छिटो फलाउने, छिटो बजारमा बेच्ने र छिटो आम्दानी गर्ने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रण गर्नुपर्नेे चिकित्सकको सुझाव छ । विषादीका कारण मुटु, कलेजो, किड्नी, ब्रेनमा समेत समस्या देखिने उनले बताए । ‘निरन्तर विषादी प्रयोग गरेका खाद्यान्न, तरकारी, मासु उपभोग गरे मानव स्वास्थ्यमै गम्भीर समस्या देखिन्छ,’ पौडेलले भने, ‘सरकारले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ ।’

खाद्यान्न र तरकारीको नमुना परीक्षण गरेर उपभोगका लागि ठीक भए÷नभएको सिफारिस गर्ने निकाय उदासिन भएको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले बताए । ‘तरकारीमा विषादीको प्रयोग निकै बढेको छ,’ बानियाले प्रश्न गर्दै भने, ‘कालीमाटीमा मात्र जाँच गरेर पुग्छ ? अन्य सहरमा बस्ने जनताको स्वास्थ्यमा खेलबाड गर्न पाइन्छ ?’ उनका अनुसार विषादी प्रयोग भएको तरकारी कालिमाटी बजारमा नलगी अन्य बजारतर्फ लैजाने गरिएको छ ।

नेपालमा प्रत्येक वर्ष भित्रने विषादीको ८५ प्रतिशत विषादी तरकारीमा मात्रै खपत हुने बाली संरक्षण निर्देशनालयको तथ्यांकले देखाउँछ । नेपालमा हाल विषादी ३ सय ९६ ग्राम विष प्रतिहेक्टरमा प्रयोग भएको छ । नेपालमा एक वर्षको अवधिमा करिब ५५ करोड रुपैयाँको साढे चार सय टन विषादी आयात भएको छ ।

सरकारले गरेका प्रयास, विषादीसम्बन्धी कानुनी प्रावधान, विषादी परीक्षण र गुणस्तर मापनका लागि प्रयोगशालाको अवस्था, विषादी आयात निर्यात, परीक्षणका लागि प्रभावकारी व्यवस्थापन नहुँदा समस्या हुँदै आएको छ ।

विषादीयुक्त खानाबाट कसरी बच्ने ?

  • मौसमी तरकारी मात्र खाने
  • सकेसम्म किरा नलागी फल्ने तरकारी, फर्सी, लौका, मुला, लटेको साग, सिमे साग, लुँडेको साग प्रयोग गर्ने
  • बजारबाट ल्याइएको तरकारीलाई राम्रोसँग पखालेर मात्र प्रयोग गर्ने
  • काँक्रा, मेवाजस्ता सर्लक्क परेका फलफूल तथा सलाद नखाने, खानु परेमा सकेसम्म अर्गानिकको पहिचान गरेर मात्र खाने
  • मौसमी फलफूल मात्र खाने
  • विषादी प्रयोग गरेको तीन हप्तापछि मात्र तरकारी प्रयोग गर्ने
  • अर्गानिक तरकारीको उत्पादन र प्रयोगमा जोड दिने
  • हेर्दा धेरै आकर्षक देखिने काँक्रा, फलफूल नखाने
  • बेमौसममा उत्पादन गरिएका कुनै पनि तरकारी या फलफूलको प्रयोग नगर्ने ।

विषादीको मात्राको परीक्षण देशभर गर्नुपर्ने भए पनि सरकारले उपत्यकाबाहिर संयन्त्र तयार गरेर काम गरेको छैन । विभागका पाँच विकास क्षेत्रमा कार्यालयमा तरकारीको विषादी जाँच गर्ने प्रयोगशाला नै छैन । विभागमा मात्र उच्च प्रविधिको ल्याब रहेको छ । ‘पाँच प्रदेशमा कार्यालय रहे पनि तरकारीको विषादी प्रयोग गर्ने ल्याब स्थापना गर्न सकेका छैनौं,’ विभागका महानिर्देशक कर्णले भने, ‘काठमाडौंको कालिमाटीमा मात्र नियमित परीक्षण भएको छ ।’ सरकारले तरकारी भित्रने उपत्यकाका चार नाकामा नियमित नमुना संकलन हुन नसकेको उनले स्वीकारे । ‘कालीमाटीबाहेक अन्य क्षेत्रमा कहिलेकाहीँ मात्र नमुना संकलन हुन्छ,’ कर्णले भने, ‘विभागमा जनशक्ति थोरै र काम धेरै भएकाले निरन्तरता दिन सकेका छैनौं ।’ संकलन गरिएको नमुनामा विषादीको मात्रा तोकेको मापदण्डभन्दा धेरै नभएको उनको दाबी छ । ‘देशभर नमुना संकलन गरेर परीक्षण गर्न सकेका छैनौं,’ उनले भने, ‘कालीमाटीको तरकारीले मापदण्ड पूरा गरेको देखिन्छ ।’ विषादीको विकल्पमा जडिबुटी प्रयोग गरेर तयार गरिएको प्राङ्गारिक र घरायसी विषादी प्रयोग गर्न सकिने भए पनि व्यावसायिक रुपमा खेती गरेका किसानले केमिकलवाला विषादी नै प्रयोग गर्ने गरेका छन् ।

 अखाद्य वस्तु बेच्नेलाई उन्मुक्ति

विभागले बजारबाट ल्याएका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा करिब १७ प्रतिशत खाद्य वस्तु मानव स्वास्थ्यको लागि प्रतिकूल देखिएको छ ।

विभागले बजार अनुगमन गरी नौ सय तीन नमुना संकलन गरेकोमा एक सय १५ नमुना दुषित रहेको कर्णले बताए । ‘बजारमा बिक्री हुने वस्तुको नमुना परीक्षण गर्दा प्रतिकूल देखिएका हुन्,’ कर्णले भने, ‘दुषित वस्तु बेच्नेलाई कानुनी दायरामा ल्याएका छौं ।’

अनुगमनको क्रममा सबैभन्दा धेरै प्रशोधित पिउने पानी नै दुषित भेटिएका छन् । ३८ पिउने पानीका नमुना, २० दुध, खाद्यान्न १८, तेल तथा घिउ नौ, गुलियो पदार्थ नौ, सागपात चार नमुना अखाद्य भेटिएका हुन् ।

अखाद्य वस्तु बेच्ने उद्योगलाई मुद्दा दायर गरे पनि कारबाही भने हुने गरेको छैन । विभागले बजार अनुगमन गरे पनि उपभोक्ता ठगी गर्नेले सधैँ उन्मुक्ति पाउँदै आएका छन् । गुणस्तरहीन खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्री गर्ने उद्योगलाई कारबाही नगरी फितलो छाड्दा गैर कानुनी काम गर्नेको मनोबल बढेको छ । अखाद्य वस्तु बेच्नेलाई खाद्य ऐन २०२३, कालोबजार गर्नेलाई उपभोक्ता संरक्षण ऐन २०५४, कालोबजार तथा सामाजिक अपराध ऐन २०३२, आवश्यक सेवा सञ्चालन ऐन २०१७ले कानुनी दायरामा ल्याउन सकिने व्यवस्था छ । प्रस्ट व्यवस्था हुँदाहुँदै नियामक निकायले त्यसै छाड्ने गरेका छन् । खाद्यसम्बन्धी कसुर गर्नेलाई खाद्य प्रविधि, कम तौल दिनेलाई गुणस्तर तथा नाप तौल, गुणस्तरहीन मासु बेच्नेलाई पशु विभागले कारबाही गर्न सक्छन् तर गुणस्तरहीन दैनिक उपभोग्य वस्तु बेच्नेलाई कारबाही भएको छैन । मुद्दा दायर गरे पनि विभिन्न बहानामा छुट्ने गरेका छन् ।

 

प्रकाशित: १६ माघ २०७४ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App