८ वैशाख २०८१ शनिबार
अर्थ

धावनमार्ग कालोपत्रे हुँदा पनि हवाई भाडा घटेन

डोल्पा – डोल्पाको जुफाल विमानस्थलमा धावनमार्गको स्तरोन्नती गरिएपनि भाडादर घटेको छ्रैन्। सञ्चालनमा आएको ४२ बर्षपछि विमानस्थलमा वैशाख अन्तिम साताबाट धावनमार्गको स्तरोन्नती कार्य सुरु भई कालोपत्रे भइसकेको छ। निजी एयरलाइन्सले पिच धावनमा उडान गरिरहेका छन्, तर भाडादरमा कमी आएको छैन्।

जुफालमा उडान भर्दै आइरहेका तारा एयर, गोमा एयर र मकालु एयरका जहाजले कच्ची धुलाम्मे धावनमार्गको र दुर्गमताको कारण देखाउदै चर्को हवाई भाडा असुल्दै आएका थिए। तर, विमानस्थलको स्तरोन्नती भई धावनमार्ग कालेपत्रे भएपनि उनीहरुले भाडादर घटाउन नमानेको स्थानीयले गुनासो गरेका छन्।

उपचारको लागि डोल्पाबाट नेपालगन्ज आएका त्रिपुरासुन्दरी नगरपालिका १ का चन्द्रमान सार्कीले विमानस्थलको स्तरोन्नती भएपनि भाडा नघटाएको बताए। ‘एयरपोर्ट चिल्लो, फराकिलो भएपछि भाडा घट्छ, टिकट पनि सस्तो पर्छ भन्थे, तर एक रुपैयाँ घटेको रहेनछ, टिकट लिनको लागि पनि पहिलाभन्दा झनै गाह्रो पो रहेछ,’ उनले भने।

नेपालगन्जबाट डोल्पाको लागि हुने उडानमा तारा एयर, गोमा एयर र मकालु एयरले प्रति यात्रु ८ हजार ६५० रुपैया चार्टर फलाईटको नाममा भाडा असुल्दै आइरहेका छन्।

एक घन्टा हवाई दुरी भएको नेपालगन्जदेखि काठमाडौंको लागि बिभिन्न एयरलाइन्समा प्रति यात्रु हवाई भाडा दर ३ हजार ५०० देखि ९ हजार ६०० सम्म छ। तर ३२ देखि ३५ मिनेटको हवाई दुरी भएको नेपालगन्जदेखि डोल्पासम्मको हवाई भाडा दर भने ८ हजार ६५० रहेको छ। सुम्मित एयर (गोमा) नेपालगन्जका स्टेसन मेनेन्जर दिपक शाहले हवाई दुरी वा समय कम लाग्ने आधारमा नभई दुर्गम क्षेत्रहरुमा गरिने उडानको लागि जोखिम बढी हुने, दुईतर्फी यात्रुहरुको सुनिश्चितता नहुनु, प्राबिधिक कठिनाई र एयरलाइन्स कम्पनीको नीति अनुसार भाडा दर निर्धारण गरिएको बताए।

सुबिधा सम्पन्न र कम जोखिम भएका क्षेत्रमा उडान भर्ने चालक दलका सदस्यहरुको तुलनामा बिकट हिमाली तथा जोखिमयुक्त दुर्गम क्षेत्रहरुमा गरिने उडानहरुका चालकहरुको पारिश्रमिक पनि दोब्बर हुने सधै र सबै दुर्गम क्षेत्रमा यात्रुहरु पनि नपाई कहिले काँही खाली जहाज फर्कनुपर्ने लगायत कम्पनीको निर्देशन र नीति अनुसार हवाई भाडा चर्को पर्न गएको सीता एयर नेपालगन्जका स्टेशन मेनेन्जर उपेन्द्र श्रेष्ठको भनाई छ।

बिगतको तुलनामा जुफाल बिमानस्थल सुबिधा सम्पन्न र स्तरोन्नती समेत भइसकेकाले नेपाल बायुसेवा निगमको जहाजले लिदै आएको भाडादरमा निजी एयरलाइन्सका जहाजहरुले पनि आधुनिक र बैज्ञानिक भाडादर कायम गरेर भाडादरमा समायोजन गरिनुपर्ने र यसतर्फ नेपाल सरकारको ध्यान पुग्नुपर्ने, नागरिक समाज राजनीतिक दलहरुले सकारात्मक दबाबको सृजना गर्न आबश्यक रहेको नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष बबिकिशोर गुरुङ्गले बताए।

बाजुरा हुम्ला रारा जुम्ला र डोल्पाको लागि नेपालगन्जबाट उडान भर्ने निजी एयरलाइन्सले हप्तामा एउटा सहुलियत दरको उडान राखेको भएपनि प्रभावकारी र बैज्ञानिक भने बन्न नसकेको स्थानीय पवन डाँगीले बताए।

नेपाल वायुसेवा निगमले डोल्पा लगायतका पहाडी जिल्लाहरुमा भर्ने उडान भाडादरमा निजी एयरलाइन्सभन्दा ६० प्रतिशतले कम छ।

निजी एयरलाइन्सका नेपालगञ्ज प्रमुखहरुले भाडा दर घटाउने वा बढाउने आफ्नो हातमा नभएको भन्दै सबै अधिकार कम्पनीमा रहेको र केन्द्रिय निकायमा सकारात्मक दबाब भएमा हालको भाडादरमा केही फेरबदल हुनसक्ने बताउँछन्। ‘तर कम्पनी घाटामा जानेगरी नेपाल बायुसेवा निगमको भाडादरमा समयोजन भने हुन सक्दैन्,’ सीता एयरका स्टेशन मेनेन्जर उपेन्द्र श्रेष्ठले भने।

प्रकाशित: १६ माघ २०७४ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App