७ वैशाख २०८१ शुक्रबार
समाज

मान्छे सहरमा, सम्भावना गाउँमा

आन्तरिक तथा बाह्य बसाईं सराईका कारण रित्तिएको महादेवस्थानस्थित एक घर । तस्बिर : नागरिक

खोटाङ – खोटाङको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको खुतुम्बुले कुनै समय बजारकैजस्तो रुप लिएको थियो। मिलेको जग्गा र बाक्लो बस्तीका कारण कुनै समय बजारको झल्को दिने खुतुम्बु हाल सुनसान बनेको छ। अध्ययन, रोजगारी र अबशरको खोजी लगायतका कारण घर छाड्दै हिँड्नेक्रम सुरु भएपछि खुतुम्बुमा हाल ३/४ घर मात्र बाँकी छन्।

यस्तै, बसाई सराईकै कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको चुमाखुस्थित सिरानटोल रित्तिँदै गएको छ। सिंगो टोलमा हाल ७ घर परिवार मात्र बाँकी रहेको छ। भएका दुई घरमा पनि एक÷एक जना मात्र बाँकी छन्। प्रायःजसो अबशरको खोजी, रोजगारी, अध्ययन, सडक, बिद्युत, बिद्यालय, अस्पताल लगायतका सुबिधाको खोजी, श्रोतसाधनको अभाव, बैदेसिक रोजगार लगायतका कारण अधिकांश गाउँ घर रित्तिए, शहर भरिए। तर, समय बदलिँदो छ। अहिले राज्य पुनर्संरचना सँगै क्रमशः गाउँ–गाउँमा पनि बिकास र परिवर्तन देखिन थालेका छन्। सडक, शिक्षा, बिद्युत, स्वास्थ्य, टेलीफोन जस्ता आधारभुत आवश्यकताको पहुँच क्रमशः बिस्तार भइरहेका छन्।

बस्ती पातलिए पनि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको सिरान टोलमा हाल कच्ची सडक पुगेको छ। खानेपानीको हाहाकार हुने सो टोलमा पानीका धारा ल्याइएका छन्। नजिकै रहेको दुर्छिम माबिमै कक्षा १२ सम्म अध्ययन गर्ने वाताबरण बनेको छ। पहिला एक दिनमा पुगिने सदरमुकाम दिक्तेल अहिले तीन घण्टामै पुग्न सकिन्छ। कुनैबेला ढाकरमा सामल बोकेर ९/१० दिन हिँडेर पुगिने काठमाडौं एकै दिनमा पुग्न सकिने अवस्था बनेको छ। आकस्मिक बिरामी परेकाबेलामा एम्बुलेन्सबाट अस्पतालसम्म पुग्न सहज बन्दै गएको छ। तर, बिस्तारै सेवा सुबिधा आइपुगेको टोलमा सेवा सुबिधा उपयोग गर्ने जनसंख्याको अनुपात भने कम भएको मुन्धुम अध्येता भोगीराज चामलीङले बताए। ‘सेवा सुबिधा खोज्दै जाँदा गाउँघर सुनसान भए। अहिले तिनै गाउँमा बिकासको लहर आउन थालेका छन्,’ दुर्छिम निबासी चामलीङले भने, ‘समय परिवर्तनसँगै गाउँमै सुबिधा आइपुग्यो, तर उपयोग गर्ने भएन।’

जिल्ला समन्वय समितिको आर्थिक वर्ष २०७२÷०७३ को व्यक्तीगत घटना दर्ता सम्बन्धी बिबरणका अनुशार दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङबाट ७३१ परिवार बिभिन्न ठाउँमा बसाई सरेका छन्। सेवा सुबिधाको खोजी मात्र बसाई सराईका कारण होईनन्। रोजगारीका सिलसिलामा शहर बस्ने घरका सदस्यले पछिबाट सिंगो परिवारलाई बसाई सार्ने गरेको पनि पाइएको छ। कुनै परिवारले छोराछोरी पढाउनकैलागि गाउँ छाडेको पाईन्छ। पढ्नका लागि शहर पसेका तिनै छोराछोरीले पेशा व्यवसाय अपनाउन थालेपछि परिवारलाई आफूसँगै लैजाने गरेका कारण पनि गाउँको जनसंख्यामा फेरबदल हुने गरेको छ। बिदेशमा कमाएको पैसाले शरहमा घर जग्गा जोडेर गाउँ छाड्नेको संख्या पनि बढ्दो छ। मेहनत गर्दा गाउँमाभन्दा शहरमा राम्रो आम्दानी हुने आशामा बसाई सर्ने परिवारको सूची पनि लामै भेटिन्छन्। बसिरहेको ठाउँमा मेहनत अनुशारको उव्जाउ नभएपछि उर्बर ठाउँको खोजीमा बसाईं सर्नेको संख्या पनि उत्तिकै रहेको जिल्ला समन्वय समितिले जनाएको छ। पानी, घाँस दाउराको समस्या, जंगली पशुपन्छीबाट अन्नबालीमा पुग्ने क्षती र हैरानीका कारण गाउँ छाड्ने परिवारको संख्या पनि उल्लेख्य छन्।

बसाईँ सर्नुअघि बिक्री नगरिएका र अधिया नदिइएका सयौँ हेक्टर खेतीयोग्य खेतबारी बाँझिएका छन्। परिस्थिति, बाध्यता वा रहरमा पूस्तौँदेखिको थाँतथलो छाड्नेक्रमले कतिपय गाउँमा खनजोत भइरहेका र बाँझिएका जग्गाको मात्रा बराबरको अवस्थामा पुगीसकेको छ। छाडिएका कुनै घर ढलिसकेका छन्, कुनै ढल्न लागेका छन्। कतिपय आकर्षक बंगलाजस्तो घरको बरण्डा, झ्याल, ढोका र थाममा पोतिएको हरियो रंगरोगन अझै उँडिसकेको छैन। कुनै घरका भग्नावशेष मात्र बाँकी छन्। ठाउँको जनसंख्यामा सिर्जना भएको असमानताले बिकासमा समेत असर पुगेको छ।

खोटाङलाई जोड्ने पक्की पुल निर्माण हुनेक्रममा छ। मध्यपहाडी लोकमार्गले छोएको जिल्लाका सडक कालोपत्रे हुँदैछन्। स्थानीय तहको कार्यान्वयनसँगै हाल स्थानीय तहको मुख्य–मुख्य केन्द्रमा शहरीकरण बढ्दो छ। गाउँ÷नगरपालिकाको केन्द्र र केन्द्र आसपासमा बसाई सर्नेक्रम सुरु भएको छ। क्रमशः सिंहदरबारको अघिकार गाउँमा आइपुग्नेक्रम जारी छ। सहरमाभन्दा गाउँघरमै सम्भावनाको ढोका खुल्दो छ। सम्भावना देखेका कतिपय स्थानीय गाउँ छाडेर तिनै केन्द्रसँग नजिकिँदैछन्। गाउँमा खुलेको सम्भावनाले शहर सरेका कतिपय स्थानीय गाउँ फर्काउने वाताबरण बनेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङले बताए। ‘सेवा सुविधा र बिकासको पूर्वाधारकै खोजीमा मान्छेहरु शहर पुगेका हुन्,’ चामलीङले भने, ‘त्यही सेवा सुविधा गाउँमा आएपछि निश्चय नै उनीहरुलाई गाउँमा फर्काउन सकिन्छ।’  

विभिन्न कारणले हुने बसाईँ सराईले उर्बर जग्गा बाँझिदा जिल्लाको कृषि उत्पादनमा नकरात्मक असर पुगिरहेको छ। कतिपय परिवार बसाई सरेर गएपनि गाउँको जग्गा बिक्री गर्न चाहँदैनन्। दाम लगाउने मान्छे आएपनि उनीहरु जग्गा बेच्न तयार हुँदैनन्। बेला–बेलामा जन्मे हुर्केको थलोमा आउने र आफ्नो इष्टमित्रसँग भेटघाट गर्ने माध्ययमका लागि जग्गा बिक्री नगरी छाडेर हिँड्ने परिवारका कारण पनि जग्गा बाँझिने गरेको छ। अर्कातर्फ बिक्री गर्न चाहनेको जग्गा भनेको बेलामा बिक्री हुँदैनन्। बिक्री हुने भएपनि भनेको दाम मिल्दैन। जसका कारण पनि जिल्लाका कतिपय उर्बर जग्गा बाँझिएको पाइएको छ।

प्रकाशित: १६ माघ २०७४ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App