७ वैशाख २०८१ शुक्रबार
समाज

कटारीमा कृषि क्याम्पस खुल्ने

उदयपुर – उदयपुरको कटारीमा कृषि क्याम्पस खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लाको प्राकृतिक स्रोत व्यवस्थापन तथा विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ उन्मुख गराउने उदेश्यले कटारी नगरपालिका ५ मा कृषि क्याम्पस खोल्न लागिएको हो।

कटारी ५ स्थित सुस्मा मेमोरियल ट्रष्टको नाममा फिल्डबुकमा नापी उतार गरिएको २६ विगाहा जग्गामध्ये आवश्यक क्षेत्रमा क्याम्पस निर्माण गर्न प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आउदो शैक्षिक वर्षदेखि अध्ययन अध्यापन सुरु गर्न अनुमतिसमेत लिइसकेको क्याम्पसलाई जग्गा व्यवस्थापनमा मात्र समय लागेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। उनका अनुसार क्याम्पस स्थापना गर्न कटारी नगरपालिकाकाले चालु आर्थिक वर्ष ७० लाख रुपैंया बजेट विनियोजनसमेत गरिदिएको छ।

नगरपालिकाले छुट्याएको ७० लाखसँगै पुर्वसांसदद्वय नारायणबहादुर कार्की र भेषकुमारी राउतको संसदीय कोषबाट ४० लाख गरी १ करोड १० लाख रुपैंया क्याम्पस निर्माण शीर्षकमा विनियोजन भईसकेको छ। क्याम्पस सञ्चालनका लागि नेकपा (माओबादी केन्द्र) का नेता केपी बरालको संयोजकत्वमा क्याम्पस व्यवस्थापन समितिसमेत गठन भएर तयारीमा जुटिरहेको छ। समितिले तत्कालीन शिक्षामन्त्री गिरीराजमणि पोखरेलको पालामा पठाएको कटारी कृषि क्याम्पस स्थापना गर्ने प्रस्ताव प्रचण्ड प्रधानमन्त्री र धनीराम पौडेल शिक्षामन्त्री भएका बेला स्वीकृत भएको संयोजक बरालले बताए।

बरालका अनुसार नगरपालिका र संसदीय विकास कोषको रकमबाट भवन निर्माण गर्न आवश्यक जग्गा खरिद गर्ने काम भईरहेको छ। सरकारी अनुदानका लागि भने भवनलगायत पूर्वाधार तयार हुनुपर्ने प्रावधान भएकाले अनुदान पाउनुअघि सुरुवाती चरणमा आप्mनै बलबुतामा क्याम्पस चलाउनुपर्ने बरालले बताए। ‘नगरपालिकाको ७० लाख र संसदीय कोषको ४० लाखबाट भवन बनाउन चाहिने जग्गा खरिद प्रक्रिया चलिरहेको छ’ बरालले भने ‘अनुदान पाउनुअघि पूर्वाधार निर्माण अनिवार्य प्रावधान भएकाले सुरुमा केही समस्या छ।’

क्याम्पसका लागि राष्ट्रिय विश्व विद्यालय अनुदान आयोगले पनि चालु आवमै बजेट विनियोजन गरिसकेको छ। आयोगले यो वर्ष ७ वटा क्याम्पसलाई अनुदान दिन २१ करोड रकम विनियोजन गरिसकेको तर, सबै क्याम्पसले लिन नसक्ने भएकाले ३ वटालाई उक्त रकम वितरण हुने बताइएको छ। जस अनुसार कटारीलाई ७ करोड रकम भाग पर्नसक्छ तर, त्यसका लागि पहिले पूर्वाधार निर्माण हुनुपर्छ। त्यसैले जग्गा व्यवस्थापनको काम चाँडो  गर्नुपर्ने खाँचो संयोजक बरालले औंल्याए।

सबभन्दा पहिले जग्गा चाहिने हुनाले कटारी नगरस्तरीय सर्वदलीय बैठक राखेर जग्गा प्राप्तीको लागि द्रुतगतिमा काम अघि बढाइएको छ। नगरपालिका र संसदीय कोषको पैसाबाट सार्वजनिक खरिद ऐन अथवा जग्गा प्राप्ती ऐनअन्तरगत रहेर प्रक्रिया अघि बढाइएको छ। कृषि तथा वन विज्ञान संकायको पठनपाठन हुने क्याम्पसले अनुदान पाउन न्यूनतम ८ विगाह जग्गा चाहिने आयोगको मापदण्ड रहेको जनाइएको छ।

जग्गा प्राप्त भएको प्रमाण पेश गरेलगत्तै पूर्वाधार निर्माणका लागि आयोगले रकम निकासा गर्ने छ। त्यसो भएमा आउँदो शैक्षिक सत्रदेखि पठनपाठन थालिहाल्ने क्याम्पस व्यवस्थापन समिलिको तयारी छ। ‘यही महिनाभित्र जग्गा व्यवस्थापन कार्य सम्पन्न गर्नेतर्फ हामी क्रियासिल छौं’ संयोजक बरालले भने ‘जग्गा मिल्नेबित्तिकै पूर्वाधार बनाउन आयोगले दिएको रकम परिचालन गरेपछि पठनपाठनको बाटो खोल्ने हाम्रो योजना छ।’

प्रकाशित: १६ माघ २०७४ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App