coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निजी स्वास्थ्य संस्थामा बढी शोषण

काठमाडौं – किष्ट मेडिकल कलेजकी एक स्टाफ नर्स अस्पतालको पदपूर्ति प्रक्रिया पूरा गरेर नियुक्ति भएकी हुन् । उनले यो अस्पतालमा सेवा दिँदै आएको ११ वर्ष भइसकेको छ । उनको तलब १६ हजारबाट बढ्न सकेको छैन । काम सुरु गर्दा त्रिविवि शिक्षण अस्पताल सरहकै तलब सुविधा होला भन्ने उनको सोच थियो । तर उनको सोच सोचमै सिमित भइरहेको छ ।

घर पायक भएकाले उनले पुरानो जागिर छोडेर किष्टमा परीक्षा दिइन् । योग्यता पुगेको थियो । अनुभवको कमी थिएन् । छनोट पनि भइन् । तर ११ वर्षमा पनि तलब सुविधा वृद्धि नहुँदा उनी दिक्क छिन् । तर के गर्नु घरव्यवहार त चलाउनै पर्यो । ‘घरपायक पर्ने भएर यहाँ काम सुरु गरें, अन्य शिक्षण अस्पतालसरहकै तलब सुविधा मिल्नुपर्ने हो । ११ वर्षमा बल्ल १६ हजार पुगेको छ । अन्यत्र गरेको भए कति पुगिसक्थ्यो ?’ उनले दुखेसो पुगिन् ।

तलब मात्र कम होइन नर्सहरूको चित्त दुख्ने कुरा अरू पनि छन् । किस्ट अस्पतालले खाजा खाने समय, जोखिम भत्ता, रात्रिकालीन सेवा सुविधा, बिदाको सुविधालगायतका सुविधा नदिएको उनको गुनासो छ । अस्पतालले घण्टाका दरले नर्सलाई काम लगाएको उनको आरोप छ । ‘४८ घण्टामा दुई घण्टा नपुगे पनि ‘डे अफ’ नलिई काम गर्नु पर्छ,’ उनले भनिन् । स्थायी कर्मचारीको तलब १६ हजार भए पनि करारमा आएकालाई अझ १४ हजार मात्र छ ।

आफूहरूलाई आर्थिक कारणले नै मर्का परेपछि अस्पतालका नर्सहरूले बारबार अस्पताल व्यवस्थापनसँग आफ्ना गुनासा राखे । तर, नर्सका माग कहिल्यै सुुनुवाइ भएन । नर्ससहित अस्पतालका सबै कर्मचारी आन्दोलनमा उत्रिए । आन्दोलनको सुनुवाइ नभएपछि कामै छोडेर आन्दोलनमा उत्रिए । तर गत माघ १ गते ललितपुर जिल्ला अदालतले आन्दोलनका कारण अस्पताल बन्द गर्न नपाइने आदेश जारी गरेपछि उनीहरूले काम सुचारु गरे । यद्यपि समस्या यथावत नै छन् ।

किष्ट मेडिकल कलेजमा काम गर्ने यी प्रतिधिनि पात्रभन्दा न्यून तलबमा काम गर्छन् शंखरापुर अस्पताल, नारायणटारका नर्सहरू । देशमा ५६ औं नर्सिङ दिवस मनाइरहँदा उनीहरूले मासिक तलब ७ हजार ५ सयदेखि ८ हजार ५ सयमा काम गरिरहेका छन् । अस्पतालकै एक नर्स भन्छिन्, ‘हामीले लिखित र अन्तवार्ता दिएरै काम सुरु गरेका हौं ।’ उनले सोही अस्पतालको नर्सिङ कलेजमा स्टाफ नर्सको पढाइ पूरा गरेकी हुन् । उनी भन्छिन्, ‘नर्सिङको पढाइ गर्दा कलेजलाई पाँच लाख र थप खर्चसहित आठ लाखभन्दा बढी खर्च भयो तर जागिरको अवस्था भने यस्तो छ ।’ प्रशासनसँग नर्सहरूले पटक–पटक माग गरेपछि गत वर्ष बल्ल न्यूनत्तम तलबमा ५ सय वृद्धि भएको थियो । अस्तालकै अर्की नर्सले काम गरेको तीन वर्षमा वार्षिक गे्रडको आधारमा वल्ल १० हजार तलब पुगेको बताइन् । ‘यति तलबले त न्यूनतम आवश्यकता पनि पूरा हुँदैन, के गर्नु ?’ उनले प्रश्न गरिन् ।

नेपाल नर्सिङ संघका अनुसार नर्सहरूको शोषण गर्नेमा निजी स्वास्थ्य संस्था अग्रपंक्तिमा छन् । ‘सरकारी स्वास्थ्य संस्थाको तुलनामा निजी अस्पतालले नर्सहरूको बढी शोषण गरेको देखिन्छ,’ नेपाल नर्सिङ संघकी उपाध्यक्ष गंगा थापाले भनिन् । संघका अनुसार नर्सहरूलाई दिने बिदा, जोखिम भत्ता, सेवा सुविधा, तलब, स्तरवृद्धि लगायतका क्षेत्रमा यी स्वास्थ्य संस्थाले नर्सहरूको शोषण गर्दै आएका  छन् । निजी स्वास्थ्य संस्थाका नर्सहरूले जागिरको असुरक्षाका डरले संस्थाले दिने सेवासुविधाबारे खुुलेर बोल्न नसक्दा गलत प्रवृत्तिले प्रश्रय पाउँदै गएको हो ।

गत साउनमा मानव अंग प्रत्यारोपण केन्द्र र किष्ट मेडिकल कलेजका नर्सहरूले आपूmहरूमाथि भएको आर्थिक शोषणको विषयमा आवाज उठाउने क्रममा नेपाल नर्सिङ संघले नर्सहरूमाथि भएको सम्पूर्ण विभेदलाई संस्थागत रूपमा अघि बढाएको हो । ‘पहिला नर्सहरूको सम्मान थियो, निजी अस्पताल खुल्न थालेपछि सम्मान हरायो, शोषण पनि बढ्यो,’ नेपाल नर्सिङ संघकी उपाध्यक्ष गंगा थापाले भनिन्, ‘मासिक सात÷आठ हजार तलबको भरमा काम गर्ने नर्स पनि छन् । जागिर जाला भन्ने डरले बोलेका थिएनन् ।’
नेपालमा नर्सहरूमाथिको चर्को शोषणकै कारण नर्सहरू विदेश पलायन हुने प्रवृत्ति बढ्दै गएको र कतिपय नर्सलाई जागिर खाए पनि आमाबाबुले नै उल्टै हेर्नुपरेको थापाले बताइन् ।

तर नर्सहरूले यस विषयमा बोल्न थालेपछि संघले आन्दोलनको मुद्दा बनाउन सफल भएको थापाको भनाइ छ । ‘अब आवाज निस्केको छ, हामी नर्सका मागलाई संस्थागत गर्दै लानेछौं,’ उनले सोमबार नागरिकसँग भनिन् ।यसै बिषयलाई लिएर संघले गत पुसको अन्तिम सातादेखि देशव्यापी आन्दोलन गरी सरकारसमक्ष विभिन्न माग अघि सारेको छ । निजी स्वास्थ्य संस्थालाई सरकारले नियमन र अनुगमन नगर्दा नर्सहरूमाथि व्यापक शोषण भइरहेको संघले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नर्सिङ संघले प्रस्तुत गरेको केही माग पूरा गरिसकेको छ भने केही माग तीन महिनाभित्र पूरा गर्ने सर्त राखेको छ ।

एकजुट हुने नाराका साथ ५६ औं नर्सिङ दिवस
नर्सहरूबीचको एकताले मात्र नर्सहरूमाथि भएका सम्पूर्ण विभेद अन्त्य गर्न सकिने भन्दै नेपालमा नर्सिङ दिवस सम्पन्न भएको छ । सोमबार नेपाल नर्सिङ संघको पहलमा देशभर नर्सिङ दिवस सम्पन्न भएको छ । राजधानीमा करिब १५ सय जनाको सहभागितासहितको नर्सहरूको ¥यालीले विभिन्न नारासहित प्रभातफेरी गरे । नर्सको शोषण गर्न पाइँदैन, निजी र सरकारी संस्थामा काम गर्ने नर्सको समान तलबको व्यवस्था, नर्समाथिको सबै बिभेदको अन्त्यलगायतका नाराको प्लेकार्ड बोकेका थिए । नर्सिङ पेसाका लागि नर्सहरू एकजुट हौं भन्ने मूल नाराका साथ नर्सिङ दिवस मनाइएको थियो । प्रभातफेरीमा बोल्दै स्वास्थ्य मन्त्री दीपक बोहराले नर्सहरूले उठाएको माग जायज भएको र क्रमशः पूरा गर्दै जाने बताए ।
 

प्रकाशित: १६ माघ २०७४ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App