coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्वतमा खडेरीका कारण हिउँदे खेती प्रभावित

पर्वत – झण्डै ४ महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ। गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए। 

सिँचाइको अभावले कमै मात्रामा गहुँ र तोरीको खेती हुने गरेको छ । वर्षा नहुँदा कृषकले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । सिँचाइको सुविधा भएका ठाउँमा पनि गत वर्षको जस्तो उत्पादन हुन सकेको छैन । जिल्लाको ९ हजार ७० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको सुविधा छ । हिउँदमा ६ हजार ४२० हेक्टरमा मात्र सिँचाइ गर्न सकिन्छ। 

जिल्लामा २ हजार ६१५ हेक्टरमा गहुँ र करिब १ हजार हेक्टरमा तोरी उत्पादन हुँदै आएको छ भने त्यति नै संख्यामा जौ र १ हजार ५४० हेक्टरमा आलु उत्पादन हुन्छ । जिल्लाको पाङ, फलेवास, कटुवाचौपारी, बर्राचौर, कुर्घालगायत फाँटमा गहुँ र तोरीको बढी खेती गरिँदै आएको छ । उच्च पहाडी र समथर भूभागमा पनि धान काटेलगत्तै आलुलगायत हिउँदे बाली लगाइन्छ। 

वर्षा नहुँदा तरकारीबालीमा विभिन्न किसिमको रोग कीराको प्रकोप बढ्छ । हिउँदे बाली थन्क्याएर बर्खे बालीका रुपमा मकै र कोदो लगाउने बेलासम्म पनि पानी नपर्दा बाँझो जोत्न नपाएको ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए। 
(रासस)

प्रकाशित: १६ माघ २०७४ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App