७ वैशाख २०८१ शुक्रबार
समाज

किन घट्दैछन् सामुदायिक विद्यालयमा विद्यार्थी ?

लमजुङ- सदरमुकाम बेसीसहर नजिकै रानीकुवा देखि दैनिक डेढघण्टा हिँडेर ज्यारखाङ्ग गाउँस्थित महादेव प्राविमा पढाउँदै आएका शिक्षक रमेशचन्द्र घिमिरे अचेल निकै दुःखी छन्।

विगत एघार वर्षदेखि उनले विद्यालय जान डेढघण्टा र आउन उत्तिनै समय खर्चिएका छन्। अनि विद्यालयमा ६ घण्टा गरी उनको दैनिक ९ घण्टा समय विद्यालयकै लागि लगानी भएको छ। ०६३ पुस १ गतेदेखि हालसम्म ११ वर्ष साढे एकमहिना अर्थात् ४ हजार बढी दिन मध्येका करिब ३ हजार दिन उनले विद्यालयमै बिताए। विद्यालय र आउजाउको समय जोड्दा दैनिक ९ घण्टाका दरले हुन आउने करिब २७ हजार घण्टाको उपलव्धि खोज्दै गर्दा घिमिरेलाई बेलाबेलामा लामो छटपटी र अत्यासले सताउँछ।

जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा जिल्लाभरका ५६ विद्यालयमा १० जना भन्दा कम विद्यार्थी रहेको देखिन्छ।

बेसीसहर नगरपालिका ५ ज्यारखाङ्गस्थित आफुले पढाउँदै आएको विद्यालयमा गतसाल देखि नसोचेको दरमा विद्यार्थी घट्दै जाँदा सो विद्यालयका प्रधानाध्यपक समेत रहेका घिमिरेको चिन्ता भने सोही अनुपातमा बढ्दै गएको हो। उनको विद्यालयमा ९ जना भर्ना भएकोमा अहिले नियमित विद्यालय आउने ४ जना मात्रै रहेको उनले बताए। १ देखि ४ कक्षासम्म एक–एक जना छन् भने ५ कक्षामा पढ्ने विद्यार्थी नै छैनन्। ति विद्यार्थीका लागि ३ जना शिक्षक रहेका छन्।

पछिल्ला वर्षहरुमा जिल्लामा गाउँघरका विद्यालयबाट साना कक्षाका विद्यार्थीहरु एकाएक घट्दै गएपछि यतिबेला शिक्षक, विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालय लगायतका सरोकारवालाहरु चिन्तित् छन्। जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा जिल्लाभरका ५६ विद्यालयमा १० जना भन्दा कम विद्यार्थी रहेको देखिन्छ। बेसीसहर भित्रकै गाउँसहरस्थित शिवशक्ति प्राविमा ७ जना विद्यार्थी रहेकोमा हाल दैनिक विद्यालय आउने ५ जना छन्। ति मध्ये ४ जना शिशु र एकजना १ कक्षाका विद्यार्थी हुन्। २ देखि ५ कक्षासम्म एउटा पनि विद्यार्थी नभएको शिक्षिका सावित्री घिमिरेले बताईन्। केही अघिसम्म ३ र ४ कक्षामा एक–एकजना विद्यार्थी रहेकोमा उनीहरु अभिभावक सँगै अन्यत्रै गईसकेको समेत उनले बताईन्। सो विद्यालयमा ३ जना शिक्षक रहेका छन्।

सदरमुकाम बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, राईनास नगरपालिका र मर्स्याङदी, क्व्होलासोंथर, दोर्दी र दूधपोखरी गाउँपालिका लगायतका सबै स्थानीयतहका बजारक्षेत्र देखि दुर्गमवस्तीका विद्यालयमा साना कक्षामा विद्यार्थी न्युन रहेको शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम बरालले बताए। उनका अनुसार बेसीशहर नगरपालिका १० बाँझाखेत साँधुस्थित बुद्धिविकास प्राविमा एकजना मात्रै विद्यार्थी छन् । सोही वडाको खाँचे गाउँमा रहेको गणेश प्राविमा पनि ३ जना शिक्षकले २ जना विद्यार्थीलाई पढाउँदै आएका छन्।  ति विद्यालयमा विद्यार्थी वढ्न नसकेको धेरै वर्ष भएको शिक्षकहरु बताउँछन् । मस्र्याङ्दी गाउँपालिका ९ सिम्पानी भलामस्थित अरुणोयदय प्रावि र मस्र्याङ्दी ३ खुदी अर्खलेबेसीको जनचेतना प्राविमा पनि २÷२ जना मात्र विद्यार्थी छन्।

यस्तै मस्र्याङ्दी–१ घनपोखरा घोप्टेस्थित विद्याज्योति प्राविमा ४ जना, घिम्राङको जनकल्याण प्राविमा ५ जना, खुदीस्थित जिम्दुको देउराली प्राविमा ५ जना, बाहुनडाँडा डहरेको हिमालय प्राविमा ३ जना, भुलभुलेको छिनखोलास्थित सृजना प्राविमा कक्षा १ देखि ३ सम्म चारजना मात्रै विद्यार्थी छन् । ४ विद्यार्थीलाई दुईजना शिक्षकले पढाउँदै आएका छन् । यस्तै, राइनास नगरपालिकाको मोहोरियाकोटस्थित विरेन्द्रशान्ति प्राविमा ३ जना, सुन्दरबजार नगरपालिकाको कुन्छास्थित बालविकास प्राविमा ४ जना मात्र विद्यार्थी रहेका छन् । १० भन्दा थोरै विद्यार्थी संख्या रहेको विद्यालयको फेहरिस्ता लामो छ।

जिल्लाभर सामुदायिक विद्यालय ७९, आधारभूत ३१ र प्रावितहका २ सय ३९ गरी कूल ३ सय ४९ विद्यालय मध्ये झण्डै डेढसय विद्यालयमा २० जना माथि विद्यार्थी नरहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले देखाउँछ । दुर्गमभेगका वस्तीमा बसाई सराईको कारणले गाउँ रित्तिदै गएपछि विद्यार्थी पनि घट्दै गएको र सहर वा बजारोन्मुख क्षेत्रका विद्यार्थी अँग्रेजी माध्यममा पढाई हुने नीजि विद्यालयमा गएपछि सहरबजार आसपासका विद्यालयमा पनि विद्यार्थी संख्या पनि न्युन रहेको जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेल बताउँछन्। ठूला कक्षाका शिक्षकले आफ्नो योग्यता र क्षमता अनुसार पढाउँदै आएपनि साना कक्षामा पढाउने शिक्षकहरुले समयानुकूल ढंगले पढाउन नसकेकाले नै विद्यार्थी घट्दै गएको समेत उनले बताए। नीजि विद्यालय प्रतिको आकर्षणले गाउँ–गाउँबाट सहरमा झर्ने गरेको र सुविधाको खोजीमा सहरबजारमा बसाईसराई वढ्दै गएकाले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको देखिन्छ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वर्षेनी घट्दो दरमा रहेको देखिन्छ । शैक्षिकसत्र ०७१ मा प्रावि तहमा २३ हजार ६ सय २४ रहेकोमा ०७२ मा २१ हजार ९ सय २४ जना, ०७३ मा २० हजार ५ सय ३८ र चालु शैक्षिक सत्रमा १७ हजार २ सय ५३ जना विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कलाई हेर्दा वितेका ४ वर्षमा क्रमशः १ हजार ७ सय, १ हजार ३ सय र ३ हजार २ सयका दरले विद्यार्थी संख्यामा कमी आएको छ । सो अवधिमा मावि, निमावि र प्रावितहको एकमुष्ठ तथ्यांङ्क अनुसार पहिलो वर्षमा ४४ हजार २ सय ८५, दोस्रो वर्षमा ४१ हजार ९ सय ५, तेस्रो वर्षमा ४० हजार १ सय ६९ र यसवर्ष करिब २७ हजार ७ सय २९(फाईनल तथ्याङ्क आउन बाँकी) देखिन्छ । यसमा पनि विद्यार्थी घट्दो अन्तर पछिल्लो वर्ष निकै फराकिलो बन्दै गएको देखिएको छ। 

जिल्ला शिक्षा कार्यालयले यसअघि नै विद्यार्थी थोरै भएका विद्यालयलाई मर्ज गर्ने तयारी गरेको थियो। स्थानीय समुदाय, विभिन्न शिक्षक संगठन र राजनीतिक दलहरुले सहयोग नगर्दा त्यो अभियान सफल हुन सकेको छैन । तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले विद्यार्थी थोरै भएका १ सय ४१ विद्यालयलाई एकैसाथ पत्राचार गर्दै मर्ज गर्ने तयारी थालेका थिए । १ देखि ५ कक्षासम्मका  विद्यालयमा न्युनतम २५ र १ देखि ३ कक्षासम्मका विद्यालयमा कम्तीमा न्युनतम २० जना विद्यार्थी पुर्‍याउन शिक्षा कार्यालयले पत्राचार मार्फत् ताकेता लगाएपनि विद्यार्थीको घट्दो दरमा सुधार आउन सकेको छैन।

 

प्रकाशित: १६ माघ २०७४ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App