coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आम्दानीको स्रोत बन्दै च्याउखेती

च्याउखेती रेखदेख गर्दै समिता लामा । तस्बिर : सरिता- नागरिक

 धादिङ – धादिङको धुनीबेसी नगरपालिका–९ सिम्लेफाँटका दिपेश लामाले च्याउखेतीबाट मासिक ३० हजार कमाउँछन् । गाउँमा काम नपाएपछि भौंतारिएका उनले पाँच रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेका थिए । विदेश जाने तरखरमा रहेका उनले साथीको सल्लाहमा च्याउखेती गरेका हुन् । अहिले उनी गाउँमै उदारणीय बनेका छन् ।

अहिले आफूमात्र होइन उनले ६ जनालाई रोजगारीसमेत दिएका छन् । ‘च्याउखेतीबाट ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ,’ दिपेशले भने, ‘विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ ।’ उनको २६ वटा च्याउ घर रहेकामा प्रत्येक घरमा दुई सय ५० बल राख्ने गरेका छन् ।

 साढे दुई वर्षअघिदेखि च्याउखेती सुरु गरेका दिपेशले उत्पादन गरेको च्याउ काठमाडौंको कालीमाटी, पोखरा, त्रिशूली लगायत ठाउँमा निर्यात हुने गर्छ । प्रतिकिलो एक सय ५० देखि दुई सय रुपैयाँ किलोसम्म बिक्री हुने गरेको छ । घरबाटै पनि बिक्री हुने गरेको र माग अनुसारको उत्पादन गर्न नसकेको उनले बताए । ‘दैनिक २५ केजी च्याउको माग छ,’ दिपेशले भने, ‘यहाँका मानिसले अहिले मासुभन्दा च्याउ बढी खोज्ने गरेका छन् ।’ सानो लगानीबाट व्यवसाय सुरु गरेकाले धेरै उत्पादन गर्न नसकेको दिपेश बताउँछन् । अब बिस्तारै उत्पादन बढाउँदै लैजााने योजनामा रहेको उनले सुनाए ।

च्याउ बेचेर आएको आम्दानीले घर खर्च राम्ररी टरेको दिपेश बताउँछन् । च्याउखेती गर्न उनका श्रीमती समिताले पनि उनलाई सघाउँछिन् । घाँस काट्न बारीमा गएका बेला लडेर समिताको खुट्टा भाँचिएको छ । उकालो ओरालो हिँड्न सक्दिनन् तर पनि च्याउको हेरचाहमा लागिरहेकी छन् । कृषि विकास कार्यालयले पनि हरेक वर्ष किसानलाई च्याउखेती गर्न अनुदान दिने व्यवस्था गरेको छ । तर लामा दम्पतीलाई अनुदानबारे केही जानकारी छैन । सामान्य तालिम लिएर सुरु गरेको समिताले किसानलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने बताइन् । ‘हामी गाउँका स्थानीयलाई समय समयमा तालिम र प्रोत्साहन नै छैन ।’ समिताले भनिन्, ‘अवसर पाएदेखि त गाउँमै राम्रै कमाइ गर्न सकिने रहेछ ।’

खनियावास गाउँपालिकास्थित सत्यदेवीका बुद्धिबहादुर तामाङले पनि च्याउखेतीबाट मासिक १० हजार कमाउँछन् । उनले १५ हजार लगानी गरी च्याउखेती सुरु गरेका हुन् । आम्दानीको अन्य स्रोत नभएको र कृषिमै भर पर्नुपर्ने भएकाले छोराछोरीको पढाइसमेत राम्रोसँग अगाडि बढाउन नसकेको उनले बताए । अहिले दुई छोरा रोजगारीका लागि विदेशमा छन् । अन्य तीन छोराछोरी गाउँमै पढ्दै छन् । ठूली छोरी १० कक्षा, सानी छोरी ३ कक्षा र सानो छोरा १ कक्षामा पढ्दै छन् । तर, बुद्धिबहादुरको आफ्नै नाममा एक रोपनी जग्गा समेत छैन ।

महिनामा चारपटकसम्म टिप्न मिल्ने च्याउ बिक्रीका लागि एकपटक टिपेपछि अर्कोपटकका लागि तयार हुन सातदेखि नौ दिन लाग्ने गरेको उनले बताए । थोरै परिमाणमा उत्पादन भएकाले अहिलेलाई भने बजारको समस्या नभएको उनले सुनाए । च्याउखेतीका लागि सबै सामग्री उनी आफैं तयार पार्छन् । अहिले प्रतिकिलो दुई सय ५० रुपैयाँका दरले च्याउ बिक्री गर्दै आएको र महिनामा १० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएको उनको भनाइ छ ।

घर खर्च चलाउन ज्यादै समस्या भएपछि छोरालाई बीचैमा पढाइ छोडाई विदेश पठाएका छन् । अरु छोराछोरीको पनि आर्थिक अवस्था कमजोर भएका कारण बीचमै पढाइ छाड्न बाध्य छन् । बुद्धिबहादुरले भने, ‘आठजनाको परिवार सासुको नाममा रहेको पाँच रोपनी जग्गाबाट हुने उत्पादनले खान समेत धौ–धौ भयो । त्यसपछि छोराहरुलाई विदेश पठाए, उनीहरुको कमाइले उनीहरुलाई नै विदेश पठाउँदा लागेको ऋण तिर्नै ठिक्क छ, त्यसैले घरखर्च चलाउन अहिले आफैं च्याउखेती गर्न थालेको हुँ ।’

बालबच्चाको पठनपाठन र सामान्य घरखर्च चलाउन समेत धौ–धौ हुन थालेपछि बुद्धिबहादुरले अहिले गाउँमै च्याउखेती सुरु गरेका हुन् । च्याउखेतीमा उनको लगनशीलता देखेर जिल्ला कृषि विकास कार्यालयले पनि उनलाई तीनदिने च्याउखेती गर्ने तरिका र प्राविधिक सहयोगबारे तालिम दिएपछि उनले च्याउखेती सुरु गरेका हुन् । च्याउ बेचेर आएको आम्दानीले घरखर्च राम्ररी टरेको उनी बताउँछन् । आम्दानी राम्रै भएपछि व्यवसाय गर्न ढिलो गरेकोमा पछुतो मान्छन् । ‘हामी गाउँका स्थानीयलाई तालिम र प्रोत्साहन नै छैन,’ बुद्धिबहादुरले भने, ‘अवसर पाएदेखि गाउँमै राम्रै कमाइ गर्न सकिने रहेछ । छोराहरुलाई विदेश पठाउनुभन्दा पहिले नै तालिम लिन पाएको भए उनीहरुलाई विदेश पठाउनै पर्दैनथ्यो ।’


 

प्रकाशित: १६ माघ २०७४ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App