६ वैशाख २०८१ बिहीबार
अर्थ

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण अन्तिम चरणमा

मैलुङ–स्याफ्रुबेसी सडक निर्माणको क्रममा ब्लास्टिङको तयारी गर्दै कामदार

रसुवा – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा परिचित यो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ । २०७२ वैशाखमा निर्माण सुरु भएको सडकको ट्र्याक खोल्ने काम सकिएको बताइएको छ ।  

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीका अनुसार अहिले सडकलाई दुई लेनको बनाउने काम भइरहेको छ । ‘ट्र्याक खोल्ने काम सम्पन्न गरिसकेका छौं, सडकलाई दुई लेनको बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ,’ प्राविधिक सेनानी केसीले भने, ‘अब करिब ६ सय मिटरमा चौडा बनाउन बाँकी छ ।’ सडकको अवस्था हेरी नौदेखि ११ मिटर चौडा बनाइएको छ ।
सडकखण्डमा अहिले ब्लास्टिङ गर्ने, ड्रिलिङ गर्ने र ढुंगा–माटो पन्छाउने काम भइरहेको प्राविधिक सेनानी केसीले जानकारी दिए । त्यसका लागि १९ वटा ड्रिलिङ मेसिन र ४० वटा ज्याक ह्याम्मरको प्रयोग गरिएको छ ।

सडक निर्माणका लागि पाँच सय ४० जनशक्ति परिचालन गरिएको छ, जसमा एक सय ९० जना नेपाली सेना र तीन सय ५० अन्य कामदार छन् । बिहान ७ बजेदेखि साँझ साढे ५ बजेसम्म सडक निर्माणको काम भइरहेको कार्यदलले जनाएको छ ।

सडक खण्डको पाँच स्थानमा क्याम्प स्थापना गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । मैलुङ, गुम्चेत, सोले, त्रिशुली दोभान र स्याफ्रुमा क्याम्प राखेर आठ स्थानबाट काम भइरहेको छ ।
सिम्लेदेखि मैलुङसम्म ६ किलोमिटर र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर दुई लेनको सडक निर्माणका लागि नेपाली सेनाले जिम्मेवारी पाएको थियो । वैशाख पहिलो सातासम्ममा निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गर्ने सेनाको योजना छ ।गल्छी–बेत्रावती–मैलुङ- स्याफ्रुबेसी हुँदै रसुवागढी नाका जोड्ने यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो सडक मार्ग हो ।

यो अहिले सञ्चालन भइरहेको गल्छी–बेत्रावती–धुन्चे–स्याफ्रुबेसी हुँदै रसुवागढी नाका जोड्नेभन्दा २४ किलोमिटर कम हुनेछ । काठमाडौंबाट बेत्रावती–धुन्चे–रसुवगढीको दूरी १४५ किलोमिटर छ । काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र हुनेछ ।
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नु नपर्ने सेनाले जनाएको छ ।
नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक एवं प्राविधिक सहायक रथी रामधर सिंहले निर्माणाधीन सडकको अवलोकन गरेका छन् ।

सडक निरीक्षणका लागि रसुवा आएका सिंहले बिहीबार नेपाली सेनाको निर्माण कार्यदलले निर्माण गरिरहेका सडकमध्ये स्याफ्रुबेसीदेखि त्रिशूली दोभानसम्मको अवलोकन गरेका हुन् ।
सिंहले सडक निरीक्षण गर्दै निर्माण कार्यदललाई समयमै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न निर्देशन दिएका छन् ।

 

 

प्रकाशित: १६ माघ २०७४ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App