७ वैशाख २०८१ शुक्रबार
खेल

थ्री स्टार अन्तिम चारमा

थ्री स्टारका सुशन श्रेष्ठ (निलो जर्सी) लाई रोक्ने प्रयासमा एपिएफका खेलाडीहरु । तस्बिर : उमेश पुन/नागरिक

पोखरा – इटहरीमा मदन भण्डारी स्मृति गोल्डकपको उपाधि उचालेको तेस्रो दिन रुस्लान थ्री स्टार क्लबले सोमबार सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई टाई–ब्रेकरमा हराउँदै आहा–रारा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पोखरा रंगशालामा चार पटक सम्म आहा–रारा गोल्डकप जितेको थ्री स्टारले सोमबार पेनाल्टी शुटआउटमा ५–३ को विजयी नतिजा निकाल्यो । निर्धारित  ९० मिनेट र थप गरिएको २० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाई–ब्रेकरबाट लिइएको थियो ।

टाई–ब्रेकरमा थ्री स्टारका रन्जित धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे । राजेन्द्र रवालको पेनाल्टी खेर जाँदा नेपाल एपिएफ सेमिफाइनलमा जानबाट बञ्चित बन्यो । एपिएफको तर्फबाट नवीन लामा, अन्जन विष्ट र रञ्जन विष्टले गोल गरेका थिए । थ्री स्टारका गोलकिपर एलेन न्यौपाने म्यान अफ दी म्याच घोषित भए ।

एपिएफले पाएका केही अवसरलाई चुकाउनुपर्दा हार बेहोर्नुपर्यो । खेलको ३०औं मिनेटमा टोपबहादुर विष्टले  ४० यार्डबाट गरेको प्रहार थ्री स्टारका गोलकिपर एलेनले बचाएका थिए । ५४औं मिनेटमा सुदीप शिख्राकारको पासलाई युवराज खड्काले सदुपयोग गर्न नसक्दा बल बाहिर पुग्यो । लगत्तै दुई मिनेटपछि आदित्य चौधरीको फ्रि–किकले पनि गोलको गन्तब्य पाएन ।एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा तालमेल नमिल्दा हार्नुपरेको बताए । ‘खेलाडीहरु बढि दबाबमा खेल्न थाले,’ उनले भने, ‘दोस्रो हाफमा राम्रो भएको थियो । तर दूर्भाग्य, गोल हुन सकेन् ।’

थ्री स्टारले पनि पाएका केही मौकामा चुक्चुकाउनु परेको थियो । १२औं मिनेटमासुनिल बलको प्रहार पोष्टमा ढोक्किएर फर्कियो । रिबाउन्डमा त्यही बललाई जीवन गुरुङको हेड प्रहारले पोष्टको दिशा लिन सकेन । यसैगरी निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा जीवनले गरेको प्रहार विपक्षी टिमका गोलकिपरले बचाए । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले क्लबको पूरा टिम खेलाउन नपाउँदा खेल ट्राई–ब्रेकरमा धकेलिएको बताए । उनले यसअघि इटहरीमा खेलेर लगत्तै यहाँ आउँदा आराम नपुगेको गुनासो गरे । ‘अर्को म्याच खेलाडीले राम्रो खेल्नेछन्,’ उनले भने, ‘यो खेल थ्री स्टारको जस्तो भएन अझै राम्रो हुनुपर्ने हो ।’
भरतलाई सम्मान
नेपाल आर्मी क्लबका कप्तान भरत खवास सोमबार पोखरामा राष्ट्रिय सर्बोत्कृष्ट फुटबल खेलाडी २०७३ बाट सम्मानित भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेको पुरस्कारको पहिलो संस्करणमा सम्मानित भरतले नगद ३५ हजार रुपैयाँ पाएका थिए ।

 

प्रकाशित: १६ माघ २०७४ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App