मिलान– स्ट्राइकर द्रिइस मार्टिन्सको दुई गोलप्रेरित नेपोली आइतबार बोलोग्नामाथि ३–१ को जित हासिल गर्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ ।
यस जितपछि नेपोली युभेन्ट्सलाई १ अकले पछि छोड्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो । यसअघि युभेन्ट्सले शनिबार किइभो भेरोनालाई २–० को नतिजामा पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो ।
पहिलो मिनेटमा रोडरिगो पालासियोले गरेको गोलमा बोलोग्नाले अग्रता लिएको थियो । पालासियोले फेडरिगो डी फ्रान्सिस्कोको पासलाई पोस्टको दिशा दिएका थिए ।
पाँचौ मिनेटमा बोलोग्नाका इब्राहिमा एमबायले आत्मघाती गोल गरेपछि नेपोली खेलमा फर्कियो ।
मध्यान्तर हुन ७ मिनेट बाँकी रहँदा मार्टिन्सले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । बोलोग्नाका एडम मासिनाले जोस मारिया कालेजोनमाथि खराब फाउल गरेपछि नेपोलीले पेनाल्टीको अवसर पाएको थियो ।
५९औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै नेपोलीको अग्रता ३–१ मा पुर्याएका थिए । मार्टिन्सले लोरेन्जो इन्जिाघीको पासलाई जाली चुमाएका थिए । जारी सिजनमा उनको यो १३औं गोल थियो ।यस जितपछि २२ खेलमा ५७ अंक जोडेको नेपोली शीर्ष स्थानमा फर्किँदा समान खेलमा एक अंक कम जोडेको युभेन्ट्स दोस्रो स्थानमा झरेको हो । २७ अंक जोडेको बोलोगना १२औं स्थानमा छ ।
‘हामी आफूलाई युभेन्ट्ससँग तुलना गर्दैनौ,’ नेपोलीका प्रशिक्षक माउरिसियो सारीले भने, ‘उनीहरु सबै पक्षमा हामी भन्दा अब्बल छन् । युभेन्ट्सले ९० प्रतिशत खेल जितेको छ । हाम्रो लक्ष्य भनेको राम्रो फुटबल खेल्नु हो ।’यता एसएपिएलसँग १–१ को बराबरीमा रोकिएपछि इन्टर मिलानले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।
४४ अंक जोडेको इन्टर चौथो स्थानमा छ । जुन लाजियो भन्दा २ अंक बढि हो । लाजियो एसी मिलासँग २–१ को हारका बाबजुद तेस्रो स्थानमा यथावत छ ।१५औं मिनेटमा प्याट्रिक क्रोटोनीले गरेको गोलमा मिलानले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि एडम मारुसिचले गोल गर्दै लाजियोलाई खेलमा फर्काए । तर मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा जियाकोमो बोनाभेन्टुराले गोल गर्दैमिलानलाई जित दिलाए ।
यस जितपछि ३३ अंक जोडेको मिलान सातौं स्थानमा छ ।इटालियन सिरी ‘ए’मा आइतबारै सम्पन्न अन्य खेलमा एएस रोमाले साम्पडोरियालाई १–० को नतिजा सुम्पँदा फियोरेन्टिना हेलास भेरोनासँग ४–१ ले पराजित भएको छ । त्यस्तै युडिनेसीले जिरोनालाई १–० ले पराजित ग¥यो ।
प्रकाशित: १६ माघ २०७४ ०२:०६ मंगलबार