८ वैशाख २०८१ शनिबार
खेल

नेपालको दोस्रो जित

नेपाली खेलाडी ‐बायाँ) को प्रहार रोक्ने प्रयासमा हङकङका खेलाडी । तस्बिर : सुजन- नागरिक

हङकङ – तीन दशकभन्दा लामो समयपछि हङकङसँग अन्तर्राष्ट्रिय स्पर्धाको अवसर जुट्दा नेपाली राष्ट्रिय भलिबल टोलीले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ ।हङकङको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेलका लागि त्यहाँ पुगेको नेपालले सोमबार दोस्रो खेलमा चार सेटसम्म संघर्ष गर्दै २५–१६, २५–१४, २६–२८, २७–२५ को विजयी नतिजा निकाल्यो ।

सान सुइस्थित पो पिङ रोड स्पोर्टस् सेन्टरमा पहिलो दुई सेट पूर्ण नियन्त्रण राखे पनि त्यसपछि नेपाली टोलीले स्वभाविक लय गुमाएको थियो । जसका कारण पछिल्ला दुवै सेट टाई–ब्रेकरमा पुगेको थियो ।
नेपाली टोलीका कप्तान इम राना मगरले समग्रमा हङकङ भ्रमण सुखद रहेको बताए । ‘हिजोको तुलनामा आज टोलीले रिसिभ र डिफेन्समा राम्रो ग ¥यो । पहिलो र दोस्रो सेटमा सबथोक राम्रो भएको थियो । तर तेस्रो सेटमा हाम्रो लय विग्रियो । अन्तिम सेटमा पनि १५ स्कोरसम्म उनीहरुले हामीलाई दबाबमा राखे, तर हामीले त्यसपछि रिसिभ र ब्लकमा राम्रो तालमेल गरेर जित हात पा¥यौं,’ उनले भने, ‘हङकङमा बसोबास गर्ने नेपालीहरुबाट हामीले दरिलो साथ पायौं । जितको श्रेय म उहाँहरुलाई दिन चाहन्छु । उहाँहरुको मायाका कारण हामीलाई हङकङमा होइन नेपालमा खेलेजस्तो भयो ।’

नेपालका प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले अघिल्लो दिनको तुलनामा राम्रो प्रदर्शन गरेको बताउँदै खुलेर खेल्दा नतिजा हात लागेको बताए । ‘हङकङले सट बल र तिब्र गतिमा खेल्दा तेस्रो सेट गुमायौं । तर चौथो सेटमा सम्हालिएर खेल जित्यौं,’ चौधरीले भने ।

नेपालले आइतबार यान चाउ कोक स्पोर्टस् सेन्टरमा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७ –१५ को नतिजामा हराएको थियो । त्यसअघि शनिबार हङकङको चुनमुन ब्लाटफ्लाई बिचको कोर्टमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ नेप्लिज टिमलाई २५–२३, २५–२०, २०–२५, २५–१७ को नतिजामा हराउँदै यात्रा सुरु गरेको थियो ।नेपालले पछिल्लो पटक हङकङविरुद्ध १९८३ मा जापानमा सम्पन्न तेस्रो पुरुष एसियन भलिबल च्याम्पियनसिपमा खेलेको थियो । त्यतीबेला हङकङविरुद्ध नेपालले पहिलो खेल ३–२ को सेटमा जितेको थियो भने दोस्रो खेल १–३ ले हारेको थियो ।

मैत्रीपूर्ण खेलका लागि हङकङ र मकाउको भ्रमणमा रहेको नेपाली टोलीले बुधबार मकाउको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली मंगलबारै मकाउतिर लाग्नेछ । नेपाली टोलीका प्रशिक्षक चौधरीले हङकङमा फरक वातावरणका कारण पहिलो र दोस्रो खेलमा केही समस्या भए पनि अब त्यससँग घुलमिल भइसकेको बताए ।

‘हामी यहाँको वातावरणसँग घुलमिल भइसकेका छौं । हङकङ र मकाउको वातावरणमा खास फरक छैन । दुरी पनि लामो होइन । त्यसैले यहीकै स्पिरिटमा खेले मकाउलाई पनि हराउँछौं,’ उनले भने ।
यसैबीच मोरिससमा हुने मैत्रीपूर्ण खेललाई वन्द प्रशिक्षण सिविरमा बस्ने तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीलाई नियमित खुराकका लागि पूर्व भलिबल खेलाडी रोम गुरुङले १ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले थप सहयोग रकम पनि नेपाल पठाउने बताए । यसैगरी खेलाडीको प्रोत्साहनका लागि पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल भलिबल संघका सल्लाहकार जयनारायण चौधरीले १ लाख ३३ हजार रुपैयाँ प्रदान गरेका छन् । मकाउबाट फर्किएपछि मोरिसस भ्रमणका लागि नेपाली टोलीको बन्द प्रशिक्षण सिविर सुरु हुने बताइएको छ ।

 

प्रकाशित: १६ माघ २०७४ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App