७ वैशाख २०८१ शुक्रबार
समाज

ईआइए नहुँदा महाकाली करिडोरको काम रोकियो

महाकाली करिडोर अन्तर्गत बैतडीको त्रिपुरारासुन्दरीबाट ट्याक खोलिएको सडक । तस्बिर : नागरिक

बैतडी – कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोडने महाकाली करिडोरको काम रोकिएको छ। विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) नहुँदा सडक निर्माण रोकिएको छ। चालु आर्थिक वर्षमा ३० करोड बजेट छुट्याइए पनि ईआइए नबन्दा सडक निर्माण कार्य रोकिएका हो।

कञ्चनपुर, डडेल्धुरा बैतडी र दार्चुला तराई पहाड हिमाल जोडने चार सय २६ किलोमिटर सडकखण्डको निर्माण कार्य पछिल्लो समय ईआइए नबन्दा रोकिएको दार्चुला–टिकंर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताए। कञ्चनपुरको ब्रह्मदेवमा भने सडक निर्माणका लागि ठेक्का समेत भएको छैन। करिडोरको जिम्मा दार्चुला टिकंर सडक आयोजनाले लिइरहेको छ। स्थानीय र जिल्ला वन कार्यालय बैतडीले सडक निर्माण कम्पनीलाई ईआइ नगरि सडक नखन्न दबाव दिएपछि निर्माण कार्य रोकिएको छ।

निर्माण सम्बन्धी हुन लागेका ठूला योजनाको काम ईआइए नगर्दा वातावरणमा प्रतिकूल प्रभाव पर्ने जिल्ला वन कार्यालय बैतडीका निमित्त जिल्ला वन अधिकृत रामप्रसाद चौधरीले बताए। ‘वनजंगल क्षेत्रमा सडक निर्माण रोएिको हो,’ निमिक्त जिल्ला वन अधिकृत चौधरीले भने, राष्ट्रिय राजमार्ग जस्तो ठूलो योजना बिना ईआइए काम गरेको पाइयो, वनजंगल नष्ट हुने अवस्थामा समेत कसैले चासो नदिइउको पाइयो।’

आयोजनातराई पहाड जोडने छोटो मार्गको रुपमा रहेको यस क्षेत्रमा अधिकांश वन क्षेत्र रहेको छ। दशरथचन्द नगरपालिका–८ को कैलपाल सामुदायिक वन र वडा नं. ९ मा रहेको बेवरी सामुदायिक वन उपभोक्ता समितिले जिल्ला वन कार्यालयलाई गुनासो गरेपछि निर्माण कम्पनीलाई  सडक निर्माण रोक्न दबाव दिएको निमित्त जिल्ला वन अधिकृत चौधरीले बताए।

महाकाली करिडोर चुरे वन क्षेत्र हुँदै बैतडी र दार्चुलाको वन क्षेत्रमा बन्न लागेकाले वातावरणीय प्रभाव मूल्यांकन नभइ ट्रयाक खोल्न नमिल्ने वन कार्यालयले भन्दै आएको छ। २०६६ सादेखि निर्माण थालिएको दार्चुला–टिंकर सडक योजना अन्तर्गत सरकारले गत वर्ष महाकाली करिडोर निर्माण अघि बढाएको हो। महाकाली किनारैकिनार कञ्चनपुरदेखि चीनसँग जोडिएको टिंकरसम्म सडक पु-याउने सरकारको लक्ष्य छ। दार्चुला–टिंकर सडकको पहिले नै ईआइए गरिए पनि कञ्चनपुरदेखि दार्चुलासम्म बाँकी रहेको योजना प्रमुख शाहले बताए। करिडोर अन्तर्गत बैतडीको त्रिपुरासुन्दरीबाट १० किलोमिटर ट्रयाक खोलिएको छ।

वातावरणीय प्रभाव मूल्यांकन गरेपछि मात्रै बाँकी काम गर्न दिने वन कार्यालयले जनाएको छ। दार्चुला टिंकर सडक निर्माणको लागि विष्फोटक पदार्थ अभावमा ८ वर्षमा ३४ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ। अहिले सडक विभागले वन मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाउन विवरण पठाइसकेको छ। उक्त वातावरणीय प्रभाव मूल्याकन बनाउन अझै २ महिना लाग्ने बताइएको छ। तराईसम्म पुग्न भीमदत्त राजमार्गभन्दा छोटो दुरीको भएकाले महाकाली करिडोर द्रुत मार्ग बनेपछि आवतजावत सहज हुने स्थानीय बताउँछन्।

ईआइए  बनाएर रोकिएको सडक छिटो सुचारु गर्नुपर्ने स्थानीय लालसिंह बिष्टले बताए। राष्ट्रिय गौरवको आयोजनाका रुपमा चिनिएको महाकाली कारिडोरजस्तो ठूलो योजना निर्माण सुरु गर्नुभन्दा पहिले वातावरणीत प्रभाव मूल्यांकन ईआइए गर्नुपर्ने जगन्नाथ बहुमुखी क्याम्पसका प्राचार्य पृथ्वीराज अवस्थीले बताए।

प्रकाशित: १५ माघ २०७४ १६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App