coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यमनमा विद्रोहीद्वारा सरकारी भवन कब्जा

एडेन – यमनको बन्दरगाह सहर एडेनमा दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू पनि कब्जा गरेको पछिल्लो समाचार प्राप्त भएको छ।

यहाँको सरकारी फौजसँग उनीहरुले व्यापक रुपमा झडप गरिरहेका छन्। आइतबार राति नै उनीहरूले ती भवनहरू कब्जा गरेका समाचारमा जनाइएको छ।

सरकारी सेना र दक्षिणी सङ्क्रमणकालीन परिषद् सम्बद्ध शक्तिबीच आइतबार ब्यापक मात्रामा झडप भएको थियो। त्यसमा परी दुवैपक्षका गरी कैयौँ नागरिकको मृत्यु भएको छ। तर मृत्यु हुनेको सङ्ख्या के कति हो भन्ने बारेमा भने केही बताइएको छैन।

वर्तमान यमनी सरकारले साउदी अरबको समर्थन प्राप्त गरेको छ। एडेनमा रहेको सहयोगी समूह र विद्रोहीबीच भएका झडपमा आम सर्वसाधारणले भने दुःख पाएका बताइएको छ।

प्रधानमन्त्री अहमद बिन डागरले एडेनमा पृथकतावादीहरूले सत्ता हातमा लिन खोजेको बताएका छन्। उनका अनुसार पृथकतावादीहरुले सरकारी भवन कब्जा गर्नुका साथै सर्वसाधारणलाई ढाल बनाउन खोजेको पनि आरोप लगाएका छन्।

हादी सरकारको अस्थायी आधार क्षेत्रको रूपमा बन्दरगाह सहर एडेन रहेको छ। हुथी विद्रोहीहरूले राजधानी सानामा पनि नियन्त्रण कायम गरेका समाचार यसअघि नै आएको थियो।

वर्तमान यमन देश सन् १९९० मा बनेको हो। त्यस समयमा उत्तरी र दक्षिणी यमन मिलेर वर्तमान यमन बनेको हो। तर पृथकतावादीहरूले दक्षिणी यमनलाई स्वतन्त्र होस् भन्ने चाहेका बताइन्छ।

यमनको बन्दरगाह सहर एडेनमा भएको यो पछिल्लो हिंसाले उक्त नगरमा यसअघि देखि नै कायम रहेको पाइएको खराब मानवीय अवस्थामा पुनः ह्रास आएको छ।

उक्त नगरमा विद्रोहीले ‘शान्तिपूर्ण प्रदर्शन’ आह्वान गरेको गरेको थियो। तर सरकारले भने त्यसमा रोक लगाउन कडा निर्देशन दिएको थियो। उक्त निर्देशन पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच सुरुमा उक्त क्षेत्रमा झडप भएका हो।

झडपबाट सुरु भएको विद्रोहीहरुको हिंसा घण्टौँ लामो समयसम्म शसस्त्र कारबाहीपछि सैन्य शिवीरलाई नै विद्रोही लडाकूले कब्जा गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

दुबै पक्षका सयौँ सेना उपचारका लागि अस्पताल पु¥याइएको अस्पताल स्रोतले जनाएको छ। साउदी नेतृत्वको सेनाले घटनास्थलमाथि हवाई सेनालाई पठाएको तर सेनाले हवाई आक्रमण भने नगरेको स्थानीयले बताएका छन्।

यस दक्षिणी बन्दरगाह सहरलाई सन् २०१५ देखि यमनको अस्थायी राजधानीका रूपमा यमन सरकारले सञ्चालन गर्दै आएको स्थान हो।

दक्षिण यमन स्वतन्त्र होस् भन्ने चाहने पृथकतावादी र साउदी समर्थित सरकारका फौजहरू बीचको उक्त लडाईंमा एडेनमा कम्तीमा पनि १० जना मारिएका छन् भने अन्य कैयौँ घाइते भएका छन्।

सोमबार बिहानबाट भने सरकार र पृथकतावादी नेतृत्वले आफ्ना फौजहरूलाई झडप रोक्न आदेश दिएका छन्। त्यसयता भने हिंसा कम भएका खबरहरू आएका छन्।

प्रकाशित: १५ माघ २०७४ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App