coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्तामा माओवादीलाई ३० प्रतिशत

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६० र ४० को अनुपातमा उम्मेदवारी भागबन्डा गरेका एमाले र माओवादी केन्द्र प्रदेशसभा सरकार गठन तयारीसम्म आइपुग्दा पदको बाँडफाँट अनुपात ७० र ३० मा पुगेका छन्।

६० र ४० को हैसियतमा पार्टी एकता हुने बहस चलिरहेकै समयमा माओवादी केन्द्रले प्रदेश सरकार गठनमा न्यूनतम ३० प्रतिशत हैसियत पाएको छ। यसअघि राष्ट्रियसभा उम्मेदवार छनोटमा त्यसैअनुपातमा भागबण्डा गरिएको थियो । राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने ५६ मध्ये ४३ स्थानमा मात्रै उम्मेदवार बनाउने निर्णय गरेका दुवै दलले दुईतिहाइ र एकतिहाइ हुनेगरी  सिट बाँडफाँट गरेका थिए।

सहमतिअनुसार एमाले नेतृत्वमा चार र माओवादी केन्द्रको नेतृत्वमा दुई प्रदेशमा सरकार गठन हुने भएको छ । सातमध्ये ६ वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने अवस्थामा रहेको वाम गठबन्धनका दुई प्रमुख घटक एमाले र माओवादीबीच आइतबार प्रदेश नेतृत्व बाँडफाँट भएको हो।

वाम गठबन्धन कार्यदलको आइतबार अपराह्न एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री, सभामुख र उप सभामुखसहित प्रदेश सरकारको भागबण्डा गरेको हो। आइतबार भएको सहमति अनुसार प्रदेश सरकारमा एमाले र माओवादीले क्रमशः ७० र ३० प्रतिशत पद लिने सहमति छ।

६ वटा प्रदेशमा सरकार गठन तयारीमा रहेका एमाले र माओवादीले प्रदेश मन्त्रिपरिषद् ७ देखि ११ सदस्यीय बनाउने निर्णयसमेत छ। संविधानले  प्रदेशसभा कुल सदस्यको २० प्रतिशत मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ।

सहमति अनुसार एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्री र माओवादी केन्द्रले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाउने छन्। १ र ३ नम्बर प्रदेशसभामा एमालेको एकल बहुमत छ । त्यसैगरी एमालेले चारवटा प्रदेशको समाभुख र माओवादी केन्द्रले दुईवटा प्रदेशको सभामुख पाउने सहमति छ । एमालेले १, ३, ६ र ७ प्रदेशमा सभामुख प्राप्त गर्ने छ । माओवादीले केन्द्रले ४ र ५ प्रदेशमा सभामुख पाउने छ । यसैगरी माओवादी केन्द्रले प्रदेश १, ३, ६ र ७ मा उपसभामुख र एमालेले ४ र ५ प्रदेशमा उपसभामुख लिने सहमति दुई दलले गरेका छन्। यो बाँडफाँट ६०/ ४० को पुरानो भागवण्डाभन्दा १० प्रतिशतले कम हो।

पद बाँडफाँट कार्यदलमा रहेका एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माओवादी केन्द्रले प्रदेश सरकारमा ३० देखि ४० प्रतिशतसम्म स्थान पाउने बताए । ‘अबका सबै बाँडफाँट चुनावमा प्राप्त जनमतका आधारमा जानेछन् । पद र सिट बाँडफाँट त्यसैअनुसार गर्दै आएका छौं,’ पाण्डेले  भने, ‘माओवादीसँगको बाँडफाँट ४० प्रतिशतभन्दा माथि जाँदैन र ३० प्रतिशतभन्दा तल घट्दैन।’

प्रतिनिधिसभा चुनावमा वामपन्थी गठबन्धनले प्रत्यक्ष र समानुपातिकमा गरेर १ सय ७४ सिट जितेको छ। जसमा एमालेको १ सय २१ र  माओवादी केन्द्रको ५३ सिट छ।  जुन ७० र ३० को अनुपात हो।

प्रकाशित: १५ माघ २०७४ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App