coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खाल्डाखुल्डी र खपीनसक्नु धुलो

धुलिखेलस्थित धुलाम्य अरनिको राजमार्ग । तस्बिर : नागरिक

बनेपा – अरनिको राजमार्गको धुलिखेलबाट पाँचखालतर्फ ओहोरदोहोर गर्दा सडकभरि खाल्डाखुल्डी छन् । सवारीसाधन आवतजावतमा समस्या छ । मोटरसाइकल चालक र बटुवा धुलाम्मे हुने गरेका छन्।

धुलो उडेर राजमार्ग आसपासमात्रै नभई धुलिखेल बजारका घरमा पनि कुहिरो लागेझैं हुन्छ । धुलोकै कारण रुखाघोकीलगायत श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दो छ । धुलिखेल हुँदै चीनको सीमा कोदारी जोड्ने कोदारी राजमार्गमा जोकोहीले आजकल भोग्ने समस्या हुन् यी।

दैनिकजसो अरनिको राजमार्ग हुँदै यात्रा गर्ने काभ्रेसहितका सिन्धुपाल्चोक, रामेछाप र दोलखाका हजारौं यात्रुलाई मर्का परिरहँदा समेत जिम्मेवार निकाय र निर्माणमा संलग्न ठेकेदारले वास्ता गर्नै छाडेका छन् । राजमार्ग निर्माणमा भएको हेलचक्र्याइँले यात्रामा कठिनाइ त छँदैछ, पछिल्लो समय राजमार्ग दायाँबायाँका र पर्यटकीय नगर धुलिखेलका बासिन्दा धूलो र धुवाँको प्रत्यक्ष मारमा पर्दै आएका  छन्।

दैनिकजसो अरनिको राजमार्ग हुँदै यात्रा गर्ने काभ्रेसहितका सिन्धुपाल्चोक, रामेछाप र दोलखाका हजारौं यात्रुलाई मर्का परिरहँदा समेत जिम्मेवार निकाय र निर्माणमा संलग्न ठेकेदारले वास्ता गर्नै छाडेका छन् ।

‘एक साताको बिदा सकिएलगत्तै स्कुल खोल्दा त कक्षाकोठामा धुलोको पत्रैपत्र लागेको भेटियो । अहिले झ्याल थुनेरै पढाउनुपर्ने अवस्था आएको छ । यसबाट विद्यार्थीको पठनपाठनमै समस्या आएको छ’, राजमार्ग छेउमै रहेको माउन्ट भ्यू इंग्लिस स्कुलका संस्थापक एवं धुलिखेल–७ का वडाध्यक्ष रोमीप्रसाद ब्यान्जूले भने।

राजमार्ग आसपासबाट दिनहुँ उड्ने धुलोले कौसीमा रहेका बोटबिरुवासमेत छोपिएर मर्न थालेको उनको भनाइ छ । ‘आफ्नै घरमा रहेका बिरुवाको हाल देख्दा आक्रोश बढ्छ तर के गर्ने, लाचार छु’, उनले थपे । धुलोकै कारण बालबालिका र ज्येष्ठ नागरिकलाई बढी सास्ती थपिएको ब्यान्जूको भनाइ छ।

एक दशकदेखि धुलिखेल चोकमा एग्रोभेट व्यवसाय गर्दै आएका किसान भेटेरिनरी पसलका सञ्चालक माधव पोखरेलले धुलोकै कारण महिनौंदेखि सास्ती खेप्दै आएको सुनाए । ‘सरस्वती बजारको प्रवेशस्थल यो चोक हुँदै हजारौं गाडी गुड्थे । त्यतिखेर धुलोधुवाँ भन्ने नै थिएन । अहिले खप्नै नसक्ने धुलो उड्न थालेपछि पसललाई पारदर्शी प्लास्टिकको पर्दा लगाएर राखेको छु तैपनि ससानो कण पसलभित्रै आउँदोरहेछ’, उनले भने।

पोखरेलका अनुसार धेरै नै धुलो उड्न थालेको ६ महिनाजति हुन थालेको छ । ‘सुरुमा बसपार्क बनाउने भनेर राजमार्गको भित्ता खन्ने काम भयो । ग्राभेल नगरिएको स्थानमै बस ओहोरदोहोर गरिराख्दा धुलो उड्न थालेकोमा अहिले त अरनिको राजमार्गको पिचसमेत उप्काएर त्यसै छाडिएको छ । यसले थप धुलो उड्यो’, पोखरेलले भने।

स्थानीय बासिन्दा त धुलोको मारमा पर्ने नै भए धुलिखेल चोकपोस्टका प्रहरीसमेत धुलोले समस्या आउन थालेको बताउँछन् । ‘हामी त पालैपालो चौबीसै घण्टा ड्युटीमा खट्छौं । बिहानै र राति कम समस्या भए पनि दिउँसोको समयमा धुलोले खपिसाध्य हुन्न’, ड्युटी खटिएका एक हबलदारले गुनासो गरे।

यतिखेर धुलिखेलको सुरुको सीमा २८ किलो चोकदेखि थाक्ले डाँडासम्मको अरनिको राजमार्ग र बिपी राजमार्गको अस्पतालचोकसम्म खपिनसक्नु धुलो उड्न थालेको छ । धुलिखेलदेखि थाक्लेसम्मको दुई किलोमिटर खण्डका खाल्डाखुल्डीले साना सवारीसाधन गुड्नमै समस्या छ । यी स्थानसहित धुलिखेल वडा नं. ७ र ८ नै अहिलेका सबैभन्दा प्रभावित वडा बनेका छन् ।
धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटेलले नयाँ स्वरुपमा सेवा दिनका लागि रङरोगनलगायत बगैंचामा लगानी थपेकोमा सडकको धुलोले सबैथोक बिगारेको गुनासो गरेको छ । ‘धुलिखेलका होटलमध्ये धुलोले सबैभन्दा बढी मर्का मेरो होटेललाई पुगेको छ । दिउँसोको समयमा धुलोले गर्दा गेस्ट आउन नमान्ने समस्या थियो । अहिले त भत्काइएको सडकमा गुड्ने गाडीको आवाजले रातिसमेत सुत्न नसक्ने भएर गेस्ट आउनै मान्दैनन्’, होटेल सञ्चालक ज्योत्स्ना सैंजूले भनिन्।

अरनिको राजमार्गको धुलिखेल–पाँचखाल खण्डको मर्मत र पिचको ठेक्का लिएको द कञ्चनजंघा÷मोतिदान जेभीले पुरानो पिच उप्काएर बेलैमा नयाँ पिच नगर्दा धुलोको समस्या बढेको स्थानीयको भनाइ छ । पुनर्निर्माण प्राधिकरणको बजेटबाट सम्पन्न हुनेगरी सडकले सो कामको ठेक्का दिएकोमा भुक्तानी रोकिएको भन्दै ठेकेदारले निर्माणमा आलटाल गर्दै आएको छ । ‘बिल भुक्तानीको प्रक्रियामा रहेको छ तर यही बहानामा ठेकेदारले पिच गर्नुअघिका काम रोक्न मिल्दैन । उसले तत्कालै पिच नगर्ने योजनामा थियो भने परानो पिच उप्काएर त्यसै छाड्न हुँदैनथ्यो’, डिभिजन सडक कार्यालय भक्तपुरका इन्जिनियर सुदर्शन कार्कीले भने।
ठेकेदारले मूअकबाहेक सडक मर्मत सम्भार, पिच र चौडा पार्ने कामका लागि १५ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। यसमध्ये काम सम्पन्न गरेबापतको केही रकम भुक्तानी पाए पनि अझै धेरै रकम पाउन बाँकी भनेर काम छाडेको ठेकेदारले बताएको छ।

धुलोले बिरामी बढे
सडककै धुलोका कारण यतिखेर धुलिखेल अस्पतालको इमर्जेन्सी विभागमा श्वासप्रश्वासको समस्या लिएर आउने बिरामी पनि बढेका छन् । ‘दिनहुँ श्वासप्रश्वासका बिरामी आउने क्रम बढेको छ । यिनमा धुलिखेल नगरकै बासिन्दाको बाहुल्य छ । यस्तो रोग बढाउनमा धुलोले समेत मद्दत गरिरहेको हुन्छ’, विभागकी चिकित्सक डा. प्रतिज्ञा भट्टराईले भनिन् ।
धुलिखेलमा बढ्दो प्रदूषणलाई वातावरण विभागको यहाँस्थित वायुको गुणस्तर मापनयन्त्रको शनिबार अपराह्नको नतिजाले समेत पुष्टि गरेको छ । त्यति खेरको औसत प्रदूषण तह (पीएम २.५) को मात्रा २६ माइक्रोन प्रतिघनमिटर रेकर्ड भएको छ । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो । यो क्रम बढ्दो छ । ‘यत्तिकै नतिजाको भरमा अहिल्यै आत्तिहाल्नु हुँदैन तर धुलोमा बढेका २.५ पीएमभन्दा साना आकारका कण प्रत्यक्ष रुपमा मानिसको फोक्सोमा पुग्दा श्वासप्रश्वासको रोग निम्तिन सक्छ । बेलैमा सावधानी अपनाउनुपर्छ’, केयू, वातावरण विभागका एसोसिएट प्रोफेसर डा. नवराज खतिवडाले भने ।

धुलिखेल नगरपालिकाको निर्वाचन भएलगत्तै मेयर अशोक ब्यान्जूले धुलिखेललाई धुलोधुवाँरहित हरितनगरका रुपमा विकास गर्दै गिनेचुनेको पर्यटकीय नगर बनाउने उद्घोष गरेका थिए । यसैअनुरुप प्रथम नगरसभाले विभिन्न प्रस्ताव पारित पनि गरेको थियो । यसैले पनि नगरपालिकाले अहिलेको धुलो पखाल्न ट्यांकरबाट पानी छर्दै आएको छ । उता, बसपार्क बनाएको ठाउँमा धुलो नउड्ने बनाउन ग्राभेल बिछ्याउन थालिएको छ।

‘हामीले चार लाख लिटरभन्दा बढी पानी छर्किसक्यौं तर यसबाट धेरै तलदेखिको हिलो गाडीको पाङ्ग्रामा टाँसिएर धुलिखेलसम्मै आइपुग्न थाल्यो । यो उपाय प्रभावकारी देखिएन’, धुलिखेलका प्रमुख प्रशासकीय अधिकृृत महेश बरालले भने ।
अरनिको राजमार्गको मर्मत सम्भार र चौडा पार्ने ठेक्का पाएको कम्पनीले कामको भुक्तानी नपाएको भनेर पिचको काम रोकेको जानकारी दिएको उनको भनाइ छ । ‘पुनर्निर्माण प्राधिकरणको बजेटबाट ठेक्का पाएको रहेछ । भुक्तानी भएन भनेर ठेकेदारले अधुरो राखेको सडकलाई नगरपालिकाले बनाउने सम्भावना नै छैन । उसलाई भुक्तानी दिनुपर्ने रकम नै हाम्रो एक वर्षको बजेट हुन आउँछ’, बरालले सुनाए।

दिनहुँको धुलोले हैरानी भएपछि धुलिखेल उद्योग वाणिज्य संघ, स्थानीय संघसंस्था र स्कुलले समेत धुलो नियन्त्रणका लागि सडक बढार्ने र पानी छर्कने काम थालनी गरे पनि प्रभावकारी हुन सकेको छैन । ‘हामी फागुनमा धुलिखेल महोत्सव आयोजना गर्ने तयारीमा छौं । यही क्रमले धुलिखेलमा धुलाम्य भइरहने हो भने कार्यक्रममात्रै नभई धुलिखेललाई सफा, सुन्दर र हरियाली सहर भनेर घुम्न आउने पर्यटकसमेत नआउने चिन्ता थपिँदो छ’, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजूले गुनासो गरे।

उता वायु प्रदूषणको क्षेत्रमा लामो समयदेखि अनुसन्धानरत संस्था लिडर्स नेपालले हालै एक प्रतिवेदनमार्फत उपत्यकाको प्रदूषित हावा साँगा हुँदै काभ्रे प्रवेश गर्ने गरेको र साँगाबाट बनेपा, धुलिखेल हुँदै पाँचखाल पुग्ने उल्लेख भएबाट पनि धुलिखेलका स्थानीयमा धुलो र प्रदूषणबाट कसरी जोगिने भन्नेमा चिन्ता बढेको छ ।


 

प्रकाशित: १५ माघ २०७४ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App