८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘विदेशबाट सत्ता सञ्चालन गर्न पाइँदैन’

बार्सिलोना– स्पेनको संवैधानिक अदालतले विदेशी भूमिबाट क्याटलोनियामा सत्ता सञ्चालन गर्न नपाइने फैसला गरेको छ ।

स्वतन्त्रता पक्षधर क्याटलोनियाका नेता कार्लेस पुइगडेमन्टले बेल्जियमबाटै क्याटलन सरकारको राष्ट्रपति पद सञ्चालन गर्न लागेको भन्दै त्यसलाई रोक्ने उद्देश्यसहित स्पेनी अदालतको यस्तो निर्णय गरेको बिबिसीले जनाएको छ ।

क्याटलोनियाका पूर्व नेता पुइगडेमन्ट स्वघोषित रुपमै बेल्जियममा निर्वासनमा रहेका छन् । गत अक्टोबर महिनामा एकतर्फी रुपमा क्याटलोनियालाई स्पेनबाट अलग राज्य भएको घोषणा गरेपछि उनीमाथि राज्यद्रोह र धोकाधडीको आरोपमा अदालतले दोषी ठहर गरेसँगै उनी बेल्जियममा निर्वासन जीवन बिताइरहेका छन् । समयअगावै भएको क्याटलोनिया क्षेत्रीय निर्वाचनपछि पुइगडेमन्ट मात्रै क्याटलनको राष्ट्रपति पदका एक्ला दाबेदार भएका छन् ।

तर स्पेनको संवैधानिक अदालतले उनले क्षेत्रीय संसद्लाई विदेशी भूमिमा बसेर सञ्चालन गर्न नसक्ने फैसला गरेको छ । पुइगडेमन्टले जनमत संग्रहमा आफूलाई प्रजातान्त्रिक रुपमा प्राप्त भएको जनमतका आधारमा क्याटलन क्षेत्रलाई स्वतन्त्र राज्य भएको घोषण गरेको बताउँदै आएका छन् भने विवादित उक्त जनमत संग्रहलाई स्पेनले भने गैरकानुनी भएको र घोषणा पनि अवैधानिक भएको बताउँदै आएको छ ।

विखण्डनवादी नेता पुइगडेमन्टमाथि लागेको मुद्दा अत्यन्तै जटिल भएको र यसले उनलाई ३० वर्षसम्मको जेल सजाय हुन सक्ने बिबिसीले जनाएको छ । पुइगडेमन्टका समर्थकहरुले भने भिडियो लिंकजस्तै प्रविधि प्रयोग गरेर हाल उनी बसिरहेको ब्रसेल्सबाट नै उनले सत्ता सञ्चालन गर्न सक्ने बताउने गरेका छन् । स्पेनी सरकारले भने देशद्रोहीले क्षेत्रीय संसद् सञ्चालन गर्न नसक्ने धारणा सार्वजनिक गरेको छ । म्याड्रिडले यस विषयमा निर्णय गर्नका लागि देशको संवैधानिक अदालतलाई गुहारेको छ ।

स्पेनको संवैधानिक अदालतले जबसम्म पुइगडेमन्ट आफै क्याटलोनियाको संसद्मा भौतिक रुपमा उपस्थित हुँदैनन् तबसम्म उनको शपथ रोक्न र शपथ गराउनुपूर्व अदालतको स्वीकृति लिन विज्ञप्तिमार्फत् भनेको छ । यससम्बन्धी निर्णय अदालतले सर्वसम्मत रुपमा गरेकोसमेत विज्ञिप्तिमा जनाइएको छ ।
क्याटलोनियमा जारी राजनीतिक संकट डिसेम्बर महिनामा समयअगावै भएको निर्वाचनले हट्ने स्पेनी सरकारले विश्वास लिएको थियो ।

त्यस बेलासम्म उसले पुइगडेमन्टको सरकारलाई बर्खास्त गरी प्रत्यक्ष शासन लागू गरेको थियो । तर स्पेनको ठूलो स्वसासित क्षेत्र क्याटलोनियामा डिसेम्बरमा भएको क्षेत्रीय संसद्को निर्वाचनमा विखण्डनवादी गठबन्धनले संसद्को बहुमत सिटमा जित हासिल गरेको थियो । अब मंगलबार क्याटलोनियाको राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ र पुइगडेमन्ट बाहेक अन्य कोही यस दौडमा नरहेको बताइएको छ ।

 

प्रकाशित: १५ माघ २०७४ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App