७ वैशाख २०८१ शुक्रबार
खेल

यसरी सुरु भयो सन्दीपको क्रिकेट यात्रा

 काठमाडाै‌ - विश्व क्रिकेटमै क्रान्तिकारी परिवर्तन ल्याउन सफल इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका सन्दीप तिनै किशोर हुन, जसलाई तीन वर्षअघि मार्च ४, २०१५ मा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले चितवन क्रिकेट एकेडेमीको नेटमा अभ्यास गर्दैगर्दा देखेका थिए ।

 श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु त्यति बेला खाली थिए । धनगढी क्रिकेट एकेडेमीका प्रमुख सुवास शाहीले त्यही मौका छोपेर पुबुदुलाई धनगढी लान खोजे । धनगढीमा आफ्नो एकेडेमीका साना खेलाडीलाई केही दिन पुबुदुबाट विशेष प्रशिक्षण गराउने सुवासको योजना थियो । पुबुदु त्यसमा राजी भए ।
सुवाससँग उनकै कारमा पुबुदु धनगढी जान राजी हुनुमा अर्को कारण पनि थियो, राष्ट्रिय खेलाडी वसन्त रेग्मीको विवाह । पुबुदुलाई वसन्तको विवाहको निम्तो मान्नुपर्ने थियो । विवाह धनगढीको बाटोमै पर्ने भैरहवामा थियो । सुवासले बाटोमा पर्ने सबै ठाउँका क्रिकेटकर्मीलाई आफू पुबुदुसहित धनगढी जान लागेको जानकारी गराउन भ्याइसकेका थिए । चितवन क्रिकेट एकेडेमीका पदाधिकारीले पुबुदुलाई केही बेर आफ्नो एकेडेमी भ्रमण गरेर खेलाडीलाई प्रेरित गर्न अनुरोध गरे । पुबुदुले त्यसलाई सहजै स्विकारे ।

‘चितवनको एकेडेमी बाटोमै थियो । पुबुदु सरले ‘हुन्छ’ भनेपछि हामी त्यहाँ गयौं । एकेडेमीले सबै खेलाडी बोलाएर क्याम्पजस्तै आयोजना गरेको रहेछ । त्यहाँ पुगेपछि पुुबुदु सरको सम्मान भयो । अनि नेटमा अभ्यास गराइयो । पुबुदु सरले त्यही बेला सन्दीपलाई पहिलो पटक देख्दा उसको बलिङमा अपार सम्भावना भएको भेट्नुभयो,’ शाही सम्झन्छन्, ‘हामी एकेडेमीमा केही समय बिताएर भैरहवामा वसन्त दाइको विवाहमा गयौं । त्यही बेला क्यान (नेपाल क्रिकेट संघ) बाट पुबुदु सरलाई तुरुन्त काठमाडौं आउनू भनेर बोलाइयो । उहाँ धनगढी नगईकनै काठमाडौं फर्कनुभयो । पछि काठमाडौं आएपछि उहाँले मसँग त्यो केटालाई यु–१९ को क्याम्पमा बोलाउनुपर्यो भन्नुभयो । मैले चितवन एकेडेमीका दाइहरुको नम्बर दिएँ ।’

धनगढीका लागि काठमाडौंबाट हानिएका पुबुदु त्यहाँ नपुगी फर्किए पनि उनले त्यही भ्रमणबाट नेपाली क्रिकेटमा भविष्यको एउटा स्टार पहिचान गरेका थिए । २०१५ को अक्टोबरमा मलेसियामा भएको आइसिसी यु–१९ ग्लोबल क्वालिफायरका लागि नेपाली युवा टोली बन्द प्रशिक्षण शिविरमा थियो । पुबुदुको जोडबलमा सन्दीप नामका १४ वर्षे किशोर पनि प्रशिक्षणमा सामेल भए । तत्काल उनले अन्तिम १४ मा स्थान बनाउन नसके पनि पुबुदुको परख खेर गएन । २०१६ फेब्रुअरीमा बंगलादेशमा भएको यु–१९ क्रिकेट विश्वकपमा उनी नेपाली टोलीमा छानिए र समूह चरणमा आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिए । उक्त विश्वकपमा ह्याट्रिक लिने उनी एक्लो खेलाडी थिए । यु–१९ विश्वकपको इतिहासमा ह्याट्रिक विकेट लिने पाँचौं खेलाडीका रुपमा उनको नाम दर्ता भएको थियो ।

नेपाली टोली विश्वकप क्वार्टरफाइनल पुग्दा सन्दीपले ६ खेलमा १४ विकेट लिए । प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी दोस्रो नम्बरमा थिए ।
त्यही वर्ष सेप्टेम्बरमा हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा उनले अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँग एउटै टिमबाट खेल्ने मौका पाए । क्लार्कलाई पनि प्रभावित गर्न सफल भएपछि उनले अस्ट्रेलियामा माइकल क्लार्क क्रिकेट एकेडेमीमा अभ्यास तथा स्थानीय प्रतियोगितामा केही खेल खेल्ने मौका पाए । क्लार्ककै प्रायोजनमा सन्दीपले त्यो मौका पाएका थिए ।
संयोगवश अस्ट्रेलियाली टिममा क्लार्कपछिका कप्तान रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्ली डेयरडेभिल्सले आइतबार उनलाई आधार मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध ग¥यो ।

हङकङको कोलोन क्याटालनमा सँगै खेल्दा सन्दीपलाई मार्गनिर्देश गरेका क्लार्कले आइतबार आइपिएल अक्सनमा पूर्व टिम सहयात्री अनुबन्ध भएपछि खुसी व्यक्त गरे । सन्दीपको करियरमा पहिलो प्रशिक्षकजत्तिकै महŒवपूर्ण भूमिका रहेका क्लार्कले ट्विटमा लेखेका छन्, ‘साह्रै खुसी लाग्यो । म कुनै टिमको हिस्सा भएको भए उनलाई लिन एकछिन पनि ढिलो गर्दिनथें । उनी एउटा असाधारण प्रतिभा र फुच्चे च्याम्पियन खेलाडी हुन् ।’

 

प्रकाशित: १५ माघ २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App