७ वैशाख २०८१ शुक्रबार
खेल

टाई–ब्रेकरमा धरानको जीत

बलको लागि संघर्ष गर्दै नेपाल आर्मी क्लब र धरान (निलो)का खेलाडी । तस्विर : उमेश पुन-नागरिक


पोखरा – नेपाल त्रिभुवन आर्मी क्लबलाई टाई–ब्रेकरमा हराउँदै धरान फुटबल क्लबले आइतबार आहा–रारा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । जारी सिजनमा तीनवटा उपाधि जितिसकेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पहिलो खेलबाटै घर फर्काउने क्रममा धरानले पोखरा रंगशालामा पेनाल्टी सुटआउटमा ५–४ को विजयी नतिजा निकाल्यो । त्यसअघि निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटमा खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

एरिक विष्टको पासमा भरत खवासले गोल गर्दै १८औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । धरानका निशान लिम्बुले ६३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि २० मिनेट अतिरिक्त समय थप गरियो । त्यसमा पनि गोल नभएपछि खेल निर्णयार्थ टाई–ब्रेकरमा धकेलिएको थियो ।

टाई–ब्रेकरमा धरानका कप्तान विष्णु सुनार, सुरज बिक, रोमन लिम्बु, बुद्धिराम राई र निशान लिम्बुले गोल गरे । जर्ज प्रिन्स कार्कीको पेनाल्टी खेर जाँदा आर्मी पहिलो खेलमै निराश भयो । आर्मीका तर्फबाट पेनाल्टीमा नवयुग श्रेष्ठ, दीप लामा, दीपक गुरुङ र विवेक बस्नेतको प्रहार गोलमा परिणत भएका थिए । खेलमा धरानका निशान लिम्बु म्यान अफ दी म्याच बने ।

त्रिभुवन आर्मीले पाएका केही अवसर चुकाउनुपर्दा हार सहनु पर्यो । २१औं मिनेटमा भरत खवासको पासलाई टंक बस्नेतले सदुपयोग गर्न नसक्दा गोल हुन सकेन् । ५२औं  मिनेटमा नवयुग श्रेष्ठले प्रहार गरेको बल क्रसबार भन्दा माथिबाट बाहिरिन पुग्यो ।त्रिभुवन आर्मी क्लबका नवीन न्यौपानेले लय समाउन नसकेको बताए । ‘पहिलो गोल गरेपछि खेलाडीले खेललाई सजिलो रुपमा लिए,’ उनले भने, ‘त्यसैको फाइदा धरानले लियो र बराबरी गर्यो ।’

खेलमा धरानले पनि थुप्रै अवसर चुकाएको थियो । १४औं मिनेटमा धरानका सौजन राईले प्रहार गरेको बल विपक्षी गोलकिपरबाट रिबाउन्ड हुन पुग्यो । सोही बललाई दिपेश मगरले पेनाल्टी एरियाबाट प्रहार गर्दा गोल हुन सकेन् । पहिलो हाफको इन्जुरी समयमा बुद्धिमान राइले प्रहार गरेको बल बाहिरिएको थियो । ८०औं मिनेटमा रोमन लिम्बुले पाएको फ्रि–किक विपक्षी टिमका खेलाडीले क्लियर गरे ।धरानका टिम व्यवस्थापक अशोक राईले अवसर पाए पनि खेलाडीले गोल गर्न नसकेको बताए । ‘आगामी खेलमा सुधारिएको प्रदर्शन हुनेछ,’ उनले भने, ‘पहिलो हाफमा धेरै उत्कृष्ट अवसर गुमेका थिए ।’

 

प्रकाशित: १५ माघ २०७४ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App