७ वैशाख २०८१ शुक्रबार
अर्थ

४३ वर्षपछि चौधरी ग्रुप फेरि पूर्वमा फर्कियो

चौधरी ग्रुपले स्थापना गर्न लागेको औद्योगिक पार्कको शिलान्यास गर्दै चौधरीलगायत नेताहरु । तस्बिर / नागरिक

इटहरी – मुलुकको सबैभन्दा ठूलो व्यावसायिक घराना चौधरी ग्रुप चार दशकपछि पूर्वी क्षेत्रमा लगानी गर्न फर्किएको छ ।

उद्योगपति विनोद चौधरीका बुवा लुनकरणदास चौधरीले २०३१ सालमा सुनसरीको दुवहीमा पशुपति बिस्कुट उत्पादन गर्न उद्योग खोलेका थिए । उनकै छोरा विनोदले आइतबार सुनसरीकै गढी गाउँपालिकामा औद्योगिक पार्क निर्माणको शिलान्यास गराए । प्रारम्भिक चरणमा एक अर्बको लगानी रहने औद्योगिक पार्कको शिलान्यास उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, उद्योगपति चौधरी र एमाले नेता भीम आचार्यले संयुक्त रुपमा गरे ।‘चौधरी ग्रुप ४३ वर्ष पछि फेरि आफ्नो ठाउँमा फर्किएको छ,’ अध्यक्ष चौधरीले भने, ‘मुलुक संघीयतामा गएको बेला एक नम्बर प्रदेशमा उद्योग खोल्न पाउँदा खुसी लागेको छ ।’

उनले अब प्रदेश सरकारको प्रमुख रुपमा दुईवटा काम भएको बताए । ‘पहिलो काम लगानी बढाउने नीति अगाडि ल्याउने हो । नयाँ उद्योग सञ्चालनको वातावरण बनाउने हो,’ चौधरीले भने, ‘दोस्रो काम आफ्ना प्रदेशमा भएका रुग्ण उद्योग कसरी सञ्चालनमा ल्याउने भन्ने हो ।’ उनका अनुसार उत्पादन क्षेत्रमा लगानी नगरी विकासको प्रतिफल पाउन सकिँदैन । जनताको सपना भनेको पनि विकास नै हो ।

अध्यक्ष चौधरीले मुलुक संघीयतामा गएको र सबैको अजेन्डा आर्थिक विकास भएकाले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे । अध्यक्ष चौधरीले अब मुलुकमा विकासको लामो दौड सुरु भएको बताउँदै जुन राज्यले लगानीको वातावरण तयार गर्छ उन्नति उसैको हुने जानकारी दिए । भारतमा पनि एक राज्य र अर्को राज्यबीच लगानी भित्र्याउन प्रतिस्पर्धा रहेको उदाहरण दिँदै उनले जुन राज्यले वातावरण बनायो उही राज्य सफल भएको बताए ।

औद्योगिक ग्राम शिलान्यासका क्रममा मन्त्री गच्छदारले अब राजनीतिक अधिकारको लडाइँ टुंगिएकाले राजनीतिक दलका शीर्ष नेता आर्थिक क्रान्तिमा अग्रसर हुनुपर्ने बताए । ‘उद्योग स्थापनाले समग्र मुलुकको आर्थिक उन्नतिमा टेवा पुर्याउनेछ र बेरोजगारीको अन्त्य हुन सघाउ पुग्नेछ,’ उनले भने ।
उद्योग शिलान्यास कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश नं. १ भूगोल, संस्कृति र स्रोत–साधनको हिसाबले अघि रहेको अवस्थामा औद्योगिक ग्राम बनाउँदा देशलाई नै समृद्धिको बाटोमा अघि बढाउन सहयोग पुग्ने बताए ।

सोही अवसरमा एमालेका सचिव भीम आचार्यले अब दलका नेताहरुले विकास र समृद्धिको अजेन्डामा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।चौधरीका अनुसार यो ग्राममा एक वर्ष भित्रमा वाइवाई चाउचाउ उत्पादन गर्ने लक्ष्य राखिएको छ । ग्रुपले यहाँ २२ बिघा जग्गा खरिद गरेको छ । अरु उद्योग विस्तारै स्थापना गरिने छ । ग्रुपले यहाँ १० वटा उद्योग स्थापना गर्ने गुरु योजना तयार पारेको छ ।

सुरुवातमा चाउचाउ उत्पादन गरिएपछि बियर, जुसलगायतका उद्योग स्थापना गर्ने लक्ष्य राखेर काम थालिएको चौधरीले जानकारी दिए । चौधरीका अनुसार देशका सातवटा प्रदेशमध्ये १ नं. प्रदेशलाई उच्च तहमा पुर्याउने सोच राखेर औद्योगिक ग्राम बनाउन लागिएको हो ।

चौधरी गु्रपले सुनसरीमा चार दशकअघि सुरु गरेको व्यावसायिक यात्रा अहिले अन्तर्राष्टिय क्षेत्रमा पनि पुगेको छ । नवलपरासीमा २७ वर्षअघि सुरु गरेको उद्योग ग्राम राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी ख्याति कमाउन सफल भएको छ । नवलपरासीजस्तै प्रदेश नं. १ मा स्थापना गर्न लागिएको उक्त उद्योगले पनि ख्याति कमाउने चौधरीले बताए ।  

‘प्रदेश नं. १ मा औद्योगिक, व्यावसायिक र बैंकिङ गतिविधिबाहेक महŒवपूर्ण उपस्थिति देखाउन औद्योगिक ग्राम बनाउन लागिएको हो,’ चौधरीले भने, ‘प्रदेश नं. २ र ३ मा चौधरी ग्रुपले वित्तीय संस्था, शिक्षा, आवासलगायत परियोजना सञ्चालन गर्दै आएको छ ।’ उनका अनुसार, प्रदेश नं. ४ मा १२ भन्दा बढी उद्योग रहेका छन् । यी उद्योगमा दुई हजारभन्दा बढी कामदार कार्यरत छन् ।

चौधरीका अनुसार कास्की र पर्वतमा हाइड्रोपावर परियोजनाको निर्माण अघि बढाएको छ । तीन वर्षअघि नै प्रदेश नं. ५ को बर्दियाको अर्को औद्योगिक पार्क निर्माण थालिएको छ । प्रदेश नं. ६ र ७ मा चौधरी ग्रुपको शैक्षिक र वित्तीय संस्थाका शाखाबाहेक अन्य उपस्थिति छैन । चौधरीले अब सबै राज्यमा ग्रुपको उपस्थिति नभए अन्तर्राष्ट्रिय उपस्थितिको अर्थ नरहने जानकारी दिए । उनका अनुसार पटक–पटक राजनीतिक क्रान्ति र परिवर्तनले पनि यी दुई राज्यका जनतालाई छुन नसकेको छैन । ‘प्रदेश नं. ६ र ७ को हकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन हुन सकेको छैन,’ उनले भने आगामी दिनमा यी राज्यमा चौधरी ग्रुपले आफ्नो उपस्थिति जनाउने छ ।

 

प्रकाशित: १५ माघ २०७४ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App