तेह्रथुम – जिल्लामा सम्पन्न प्रतिनिधी र प्रदेशसभामा जित्ने भन्दा हार्ने उम्मेदवारको खर्च बढी देखिएको छ। जिल्ला निर्वाचन कार्यालय तेह्रथुममा दलका उम्मेदवारले बुझाएको खर्च विवरणमा जित्ने उमेदवारले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको हो।
जिल्लामा सबैभन्दा बढी नेपाली कांग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार सीता गुरुङको खर्च विवरण बढी रहेको छ। प्रतिनिधीसभामा पराजित गुरुङले २४ लाख ३३ हजार ६ सय ४० खर्च भएको विवरण पेश गरेकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेबाट निर्वाचित भवानी खापुङले ३ लाख ७२ हजार मात्र खर्च भएको विवरण पेश गरेकी छन्।
प्रतिनिधीसभातर्फ साना दलका उम्मेदवारले समेत ठूला दलका जित्ने उम्मेदवारभन्दा बढी खर्च विवरण पेश गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्मल कुमार राईका अनुसार संघीय समाजबादी फोरमका प्रतिनिधीसभा सदस्य उम्मेदवार तुलसी प्रसाद अधिकारीले १५ लाख २३ हजार, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार सागरनाथ रेग्मीले ५ लाख १० हजार खर्च भएको विवरण पेश गरेका छन्।
निर्वाचनमा प्रदेश क्षेत्र नम्बर (क) का एमालेबाट बिजयी उम्मेदवार लक्ष्मण तिवारीले ३ लाख २१ हजार ५ सय, प्रदेश क्षेत्र नम्बर ख का विजयी तेजमान कन्दङवाले २ लाख ९६ हजार ५ सय, समानुपातिक तर्फ प्रतिनिधीसभा सदस्य डाक्टर बिजय सुब्बाले २ लाख ६ हजार २ सय, प्रदेशतर्फ अनुभुतिबम नेपालीले १ लाख ८६ हजार खर्च भएको बिबरण पेश गरेका छन्।
यस्तै, प्रदेशसभा (क) तर्फ नयाँ शक्ति पार्टीका बिष्णु प्रसाद दाहालले ३ लाख ४० हजार, क्षेत्र नम्बर (ख) का राजेन्द्र कन्दङवाले १ लाख १९ हजार, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका गौरी प्रसाद कन्दङवाले ३ लाख ९४ हजार, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मान बहादुर लिम्बुको ३ लाख ४० हजार, सुर्य बहादुर थापाको ३ लाख ४० हजार, संघीय समाजबादी फोरम नोपलका सुर्य बहादुर मादेनको ८ लाख ८१ हजार ५ सय, मानध्वोज सम्बाहाङफेको ८ लाख ८१ हजार ५ सय र संघीय समाजबादी फोरम प्रदेश समानुपातिक उम्मेदवार सर्बजीत निङलेखुले समेत १ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च भएको बिवरण पेश गरेका छन्।
निर्धारित मितिसम्म अझै पनि केहि ठूला दलका उम्मेदवारले समेत खर्च बिवरण नबुझाएको र खर्च बुझाउने उम्मेदवारले पनि बिल भरपाई बिना बिवरण बुझाएकोले बिल भरपाईका लागि पुनः ताकेता गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राईले बताए।
प्रकाशित: १४ माघ २०७४ १६:०० आइतबार