coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतीय खेलमन्त्रीको अभद्र शैली

नयाँ दिल्ली- भारतीय खेलकुदमन्त्री विजय गोयलले रियो ओलम्पिकमा निषेधित क्षेत्रमा असम्बन्धित मानिसलाई लिएर जान खोजेको तथा आक्रामक र रुखो व्यवहार गरेको भन्दै आयोजकले शुक्रबार उनको एक्रिडिएसन कार्ड रद्द गर्ने चेतावनी दिएका छन्।

गोयलले एक्रिडिएसन कार्ड नभएका मानिसलाई समेत लिएर जबरजस्ती ओलम्पिक खेलस्थलमा प्रवेश गर्न खोजेका थुप्रै गुनासो आएको रियो आयोजक कमिटीले जनाएको छ। 'तपाईहरूका मन्त्रीले निषेधित क्षेत्रमा एक्रिडिएसन कार्ड नभएका मानिसलाई लिएर जबरजस्ती प्रवेश गर्न खोजेका थुप्रै गुनासो हामीकहाँ आएका छन्,' आयोजक कमिटीकी व्यवस्थापक साराह पिटरसनले भारतीय ओलम्पिक टोलीका सेफ दी मिसन राकेश गुप्तालाई लेखेको पत्रलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ, 'ओलम्पिक आयोजक कमिटीका कर्मचारीहरूले बिना एक्रिडिएसन कार्ड प्रवेश गर्न नपाइने भनेर जानकारी गराउँदा मन्त्रीसँग भएका मानिसहरू आक्रामक र रुखो रूपमा प्रस्तुत भएका छन्। कतिपय ठाउँमा त उनीहरूले हाम्रा कर्मचारीलाई धक्का दिएको रिपोर्ट पनि हामीकहाँ आएको छ।'

पिटरसनले भारतीय खेलकुद मन्त्रीले फेरि पनि यस्तै अमर्यादित व्यवहार गरेको पाइए उनको ओलम्पिक एक्रिडिएसन कार्ड रद्द गर्ने सम्मको चेतावनी दिएकी छन्। 'हामी उनलाई यस्ता अमर्यादित व्यवहारमा रोक लगाउन अनुरोध गर्न चाहन्छौं। तर अझै यस्तै व्यवहारले निरन्तरता पाए तपाईहरूका खेलकुद मन्त्रीको एक्रिडिएसन कार्ड रद्द गरिनेछ र ओलम्पिक खेलकुदमा उनले कुनै पनि सुविधा पाउने छैनन्,' उनले पत्रमा लेखेकी छन्।

गोयलले भने आफू र आफ्नो टोलीबाट कुनै गलत काम नभएको दाबी गर्दै सामान्य असमझदारी भएको हुनसक्ने बताएका छन्। 'मेरा कर्मचारीले केही गल्ती गरेको भनिएको छ, तर मलाई त्यस्तो कुनै खराब व्यवहार कसैले गरेको केही जानकारी छैन। मेरो बारेमा केही भनिएको छैन, उनीहरूले पनि मेरा कर्मचारीले खराब व्यवहार गरेक भनिरहेका छन्,' एनडिटिभी न्युज नेटवर्कसँग रियोमा कुरा गर्नेक्रममा गोयलले भने।

गोयलले आफूबाट कुनै गल्ती नभएको दाबी गरे पनि यो विषयमा भारतमा सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ। राजनीतिक नेताहरूले शक्तिको दुरुपयोग गर्दै सबैखाले नियम मिच्नु भारतमा सामान्य मानिन्छ। राजनीतिक नेताहरूका सरकारी कारले अत्यन्तै व्यस्त ट्राफिक भएको सडकमा पनि पालो कुर्नु नपर्ने मान्यता भारतमा छ।

'हाम्रा मन्त्रीले रियो ओलम्पिकमा 'तिमीलाई थाहा छ म को हुँ भनेर? जस्तो व्यवहार देखाएकोमा लाज लागिरहेको छ,' एक टि्वटर प्रयोगकर्ता करुण चान्धोकले लेखेका छन्।

'अन्तत भारतले रियो ओलम्पिकमा एउटा पदक जितेको छ। त्यो एउटा मूर्खतापूर्ण व्यवहारका लागि हो। धन्यवाद खेलकुदमन्त्री,' अर्का एकले टि्वट गरेका छन्।

यसैगरी इन्डियन एक्सप्रेस पत्रिकाले पनि रियोमा पराजित भारतीय खेलाडीहरूसँग सेल्फी लिँदै समय बिताएको भन्दै गोयलको आलोचना गरेको छ।

भारतले ओलम्पिक खेलकुदको इतिहासमा यसपालि सबैभन्दा बढी १ सय १८ सदस्यीय टोली रियो दी जेनेरियो पठाएको थियो। भारतीय खेलकुद मन्त्रालयले रियोबाट कम्तीमा १० पदक जितेर ल्याउने लक्ष्य बनाएको थियो। तर खेलाडीहरूले अभ्यासका लागि कमजोर सुविधा, खेलकुदमा सरकारको कम लगानी जस्ता समस्याका कारण सफलता पाउन कठिन भइरहेको गुनासो गरेका छन्। १ अर्ब २५ करोड जनसंख्या भएको देशले पछिल्लो दुई दशकयता आर्थिक सुधारमा पनि लामो फड्को मारिसकेको छ। तर खेलकुदमा त्यो अनुपातमा लगानी नभएको खेलाडीहरूको गुनासो थियो।

 

प्रकाशित: २९ श्रावण २०७३ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App