७ वैशाख २०८१ शुक्रबार
राजनीति

पहिलोपटक खुमलटार पुगे ओली, दाहालसँग ५ घण्टा वार्ता

काठमाडौं – नेकपा (एमाले)का केपी शर्मा ओली अध्यक्ष पहिलोपटक खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका छन्। ओली पार्टी एकताबारे छलफल गर्न आइतबार खुमलटार पुगेका हुन्। यसअघि माओवादी अध्यक्ष दाहाल एकता प्रक्रियाबारे छलफल गर्न ओली निवास बालकोट जाने गरेका थिए।

ओली र दाहालबीच खुमलटारमा भएको छलफलमा पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु-याउने सहमति भएको छ।

राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएकाले सबैभन्दा पहिले त्यसलाई सफल बनाउने र प्रदेशका मुख्यमन्त्रीको विषयमा संयुक्त कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा निर्णय गर्न समेत दुई पार्टीका अध्यक्ष तयार भएक छन। अध्यक्ष ओली र अध्यक्ष दाहालबीच ५ घण्टा एक्लाएक्लै छलफल भएको हो।

राष्ट्रियसभामा वामपन्थीका उम्मेद्वारलाई जिताउन प्रयास गर्ने र त्यसका लागि सबै तह र तप्कालाई संयुक्त निर्देशन दिने, स्थानीय तह र प्रदेशसभाका सदस्यलाई प्रभावकारी रुपमा निर्वाचनमा सहभागी भएर वामगठबन्धनका उम्मेदवारको पक्षमा मत दिने वातावरण बनाउन दुवै पार्टीका अध्यक्ष सहमत भएको दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो। नयाँ सरकार गठन, पार्टी एकताबारे छलफल भएपनि निष्कर्षमा नपुगिएको र छलफल जारी राख्दै शीघ्रातिशीघ्र पार्टी एकतालाई तार्किक निष्कर्षमा पु-याउन अध्यक्षद्वय सहमत भएक छन्।

पार्टी एकता, प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल भए पनि कार्यदलले टुङ्ग्याएर ल्याउने प्रस्तावलाई अनुमोदन गर्ने सहमति पनि उनीहरुबीच भएको छ।

पार्टी एकताका सन्दर्भमा बाँकी रहेको विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गर्ने विषयमा नै छलफल केन्द्रित रहेको प्रेस संयोजक तिमिल्सिनाको भनाइ छ।

पार्टी एकताका विषयमा सांगठनिक र वैचारिक विषयमा रहेका केही मतभेदमा सामान धारणा बनाउने क्रम जारी रहेको बताइएको छ। सो विषयमा शुक्रबार र शनिबार समेत अध्यक्षद्वयकाबीच एक्लाएक्लै छलफल भएको थियो।

प्रकाशित: १४ माघ २०७४ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App