७ वैशाख २०८१ शुक्रबार
अन्य

अनि 'कान्छी' बनिन् शर्मिला

शर्मिला मल्ल।

२०४१ साल। रेडियो नेपालमा साँझको ५ बजे लगत्तै सुरु भयो बाल कार्यक्रमको धुन। कार्यक्रम चलाउने सुरसारमा थिए वासुदेव मुनाल। बीचमै बज्यो एउटा विज्ञापन। 'नेपाली फिल्म 'कान्छी'का लागि सोझी गाउँले अनुहारकी हिरोइन चाहिएकाले इच्छुक हुनेले सम्पर्क राख्नुहोला।'

कानबाट हेडफोन झार्दै वासुदेव मुनालले बालरुपकमा बोल्न आएकी चन्चले केटीलाई भने, ‘तिमी बन त्यो फिल्मको हिरोइन, राम्री पनि छौ, सुहाउँछ तिमीलाई?' केटी खिस्स हाँसिदिई। केही प्रतिवाद गरिनन्।

 बाल कार्यक्रम सकियो। अर्का कार्यक्रम प्रस्तोता पाण्डव सुनुवारले पनि ती केटीलाई त्यसै भने। घर फर्केपछि ती चन्चले केटीले ऐनामा आफ्नो अनुहार यसो हेरी।

‘छि के राम्रो भनेका होलान्,' नाक खुम्चाउँदै मनमनै बोलिन्, ‘म त राम्री त छैन त।' पुक्क परेको अनुहार। ठूला आँखाका बीच थेप्चोथेप्चो नाक। रंग चाहिँ गोरो। पटकपटक अनुहार हेरेरै बित्यो त्यो दिन।

हिरोइन बन्ने कुनै छेकछन्दै नकाटेकी उनी थिइन् शर्मिला शाह (मल्ल) वर्ष १३। कक्षा ६ की विद्यार्थी। कविता सुनाउन खुबै मन पराउने। फिल्म हेर्नु, नाटक हेर्नु उनको ठूलो रुचि थियो। स्कुल जाँदा किताबकाबीच कपडा कोच्थिन्। बाटैमा साथीकोमा लुगा फेर्थिन्। अनि जान्थिन् भारतका मिथुन चक्रवर्तीका फिल्म हेर्न भिडियो हलमा। बन्दिनुस् न त, अनायास, भोजन भट्ट, मुनामदन जस्ता त्यतिबेला चलेका नेपाली नाटक उनले छुटाइनन्।

नेपाली फिल्म 'सिन्दुर' त कति पटक हेरे–हेरे उनलाई सम्झना छैन। हलमा हिरोहिरोइनको डाइलग उनीहरुभन्दा पहिले भट्याउँदा नजिक बसेका दिक्क मान्थे। भारतीय फिल्म 'लैलामजनु' पनि उनले कण्ठै हुनेगरी हेरिन्।

उमेर सानै भए पनि शारीरिक रुपले अग्ली थिइन्। तर बानीव्यहोरा भने बच्चाकै जस्तो। कलाकार जयनन्द ठाकुरले उनलाई रेडियो नेपालमा देखेका थिए। उनले भारतबाट आएका निर्देशक बिएस थापासँग कुरा गरे।

‘एक पटक लिएर आऊ न त म नि हेर्छु कस्ती रैछ?' थापाले भनेछन्। जयनन्दले शर्मिलालाई फकाउन थाले। ‘हेर नारीप्रधान फिल्म हो तिमीलाई राम्रो हुन्छ।' शर्मिलाले सोझो जवाफ दिइन्, ‘नाइँ मुमाले मारिसिन्छ, दिइसिन्न, म गर्दिनँ।' ठाकुर आफैं उनको आमा सीता शाहकोमा कुरा गर्न गए। ‘पढाइ बिग्रिन्छ हुन्न त्यसै त लखरलखर हिँडेर हैरान पार्छे,' शाहले ठाकुरलाई फर्काइदिए।

उनका दाजु सागर शाहलाई ठाकुरले 'बहिनीको भविष्य राम्रो हुन्छ' भन्दै आकर्षित गरे। त्यसपछि सागर र शर्मिलाहरु बिएस थापालाई भेट्न गए।

हिमालमा हिउँ परेजस्तै सेतै कपाल। उज्यालो मुहार। फरासिलो व्यक्तित्व। उनी थिए बिएस थापा। भारतमा बसेर फिल्म क्षेत्रमा नाम कमाएका निर्देशक। ठाकुरसँग आएकी चन्चले शर्मिलातिर पुलुक्क हेरे।

'केही डायलग बोल्दै अभिनय गर,' उनले निर्देश गरे। आज्ञाकारी बालकझंै शर्मिलाले रेडियोमा गर्ने रुपकको कण्ठस्थ डायलग हात हल्लाउँदै बोलिदिइन्।

उनलाई त्यतिबेला देखेको बिएस थापा कुनै तपस्वी भगवानजस्तै लाग्यो। ‘देख्दै सम्मान गर्न मनलाग्ने खालको हुनुहुन्थ्यो,' पहिलो भेटको वर्णन गर्दै मल्लले सुनाइन्, ‘म त कस्तो उज्यालो मान्छे भनेर घरिघरि उहाँकै अनुहार हेर्थें।'

रुपजस्तै निर्दोष बोली सुनेपछि थापाले मख्ख परेेर भने, ‘ल साइन गर यहाँ, अब तिमी मेरी ‘कान्छी' भयौ।' दाइतिर पुलुक्क हेरिन् शर्मिलाले। दाइले गर भनेर इशारा गरे पछि उनले साइन गरिन्। अनि बनिन् थापाकी ‘कान्छी'। उनको घरमा भने मारामारजस्तै पर्‍यो। दाइले यो नै पहिलो र अन्तिम हो सबै मेरो जिम्मा भयो भनेपछि उनकी मुमा चुप लागिन्।

 फिल्ममा नाँच्नुपर्थ्यो। नृत्य भने उनको मठ्ठै। ‘दाइले नै सिकाउन लग्नेल्याउने गर्‍यो,' ८० वर्षीया वृद्धाले स्मरण गरिन्, ‘मलाई त मन परिरहेको थिएन।' पहिलो सुटिङ नै गीतबाट गरियो। राम्ररी नफस्टाएको शरीरमा साजसज्जाले युक्त बनाएर तयार बनाइयो बिएस थापाकी सोझी ‘कान्छी।'

खै कताकता के–के पोका हालेर तरुनी बनाइदिए,' उनले सम्भि्कइन्, 'कुनैकुनै बेला बिर्सिएर फिल्ममा पनि सप्प थियो शरीर। उनीहरु के के दल्थे म पुस्थे त्यो लगाएपछि झन नराम्री लाग्थ्यो।'

त्रिपुरेश्वरको होटल ब्लुबर्डमा भव्य शुभमुहूर्त भयो। शिव श्रेष्ठ हिरो। कालेकाले। अग्लो। पातले। ‘जीवनरेखा फिल्मको हिरो हो क्या' सँगै आएका साथीहरुले भने। ‘यसो गर है,' थापा भन्थे, ‘शर्मिला त्यसै गर्थिन्। हिरोको वरिपरि घुम्ने अनि अँगालोमा बस्ने सबै सिकाउनु हुन्थ्यो, म त केही जान्दिन थिएँ,' सुटिङको स्मरण गरिन् उनले।

 

जति सोझी देखिन्थिन् शर्मिला, उति नै जिद्दी पनि थिइन्। फिल्म र नाटक हेर्न छाड्दिन थिई। ज्ञानेश्वरमा सुटिङ चलिरहेको थियो। एकदिन मिथुन चक्रवर्तीको फिल्म भिडियो हलमा लागेछ। उनलाई नगई भएन। उता साँझ ५ बजेको सुटिङ। ‘मुमा फिलिम हेर्न जाउँ न है,' उनले आग्रह गरिन्, ‘हुन्न मार्छन्।' उनको जिद्दीको अगाडि आमाको केही लागेन।

फिल्म हेरिसकेर सुटिङस्थल फर्कंदा रात पर्‍यो। कोही भर्‍याङमा, कोही भुइँमा, कोही कता, कोही कता, सबै टाउकामा हात लाएर अलपत्र परेका। डाइरेक्टर थापा पनि कुर्सीमा टाउकामै हात राखेर मुुर्मुरिँदै बसेका। जसै उनले शर्मिला देखे। ‘एउटा फिल्म खेलेको छैन, सुपरस्टार भयौ तिमी?' सोझै शर्मिलामाथि खनिए थापा ।

जिद्दी न हो। ‘म तिमीलाई फिल्म खेलाइदेऊ भन्न आएको पनि थिइन। मलाई इन्ट्रेस्ट पनि छैन।कसलाई खेलाउने हो खेलाउ,' भनेर थापासँग् मुख लाग्दै हिँडिन् शर्मिला।

फिल्म युनिटका अन्य सदस्यले भने ‘यसो गर्नु हुन्न भन्दै फकाउदँै रोके।' बाहिर निस्कन नपाएपछि उनी बाथरुम छिरिन्। दुई घन्टासम्म उनी बाहिर निस्किनन्। हार मानेर थापा आफैं गए। जसले गाली गरेको हो उसले भनेपछि उनी बल्ल निस्किन्।

‘तँ सानै छेस्। अहिले तेरो बुद्धि छैन। सबै तेरै लागि भनेको हो। तँलाई भनेको चित्त दुखेको भए माफ गर,' थापाले माफी नै मागे। ‘उतिबेला यत्रो बुढो मान्छेले माफी त माग्यो भनेर फुरुक्क भएँ। तर जति पछि भयो मलाई उति त्यो सम्झेर पछुतो लाग्यो,' शर्मिला नरमाइलो मान्छिन्।

‘तँ कान्छी होस्। कान्छीले जसो गर्छे घरमा पनि त्यही गर। त्यसैगरी बोल अनि कान्छीभित्रै डुबेर काम गर,' थापाले सम्झाएको अहिले पनि उनलाई याद आउँछ। तर, घर आएपछि उही बिन्दास पारा।

अहिलेका निर्देशक कलाकारलाई एकसय चार डिग्री ज्वरो आए पनि काम गराउँछन्। उतबेला मैले हाँछ्यु गरेपनि हाहाकार मच्चिन्थ्यो। निर्देशक थापा 'कान्छी'का सबै कलाकार तथा युनिटको स्वास्थ्यको ख्याल राख्थे।

हिरोइनको अनुहारमा चाहिने चमक प्राकृतिक रुपमै ल्याउन खुब प्रयास गरे। किलोका किलो स्याउ, मौसम शर्मिलाका कोठामा पुग्थे। ‘मलाई फलफूल मन पर्दैनथ्यो, भात पाए दिनको तीनपटक पनि खाने, फलफूल सबै बाँडिदिन्थे,' उनले थपिन, ‘तर लुकेर किचेनमा भात माग्न गए पनि दिन्नथे।' दियो भने जसले दियो उसको सातो थापाले खान्थे।

 

‘अरु पछाडि हुन्छन्, तिम्रा अनुहार अगाडि आउँछ, त्यसैले फ्रेस हुनुपर्छ फलफूल खाऊ, रोटी खाऊ, भात नखाऊ। मोटाउनु हुन्न,' शर्मिलालाई सम्झाउँथे थापा। घरमा आएपछि उता खान पाएको झोकमा एक थाल भात खाइहाल्थिन्।

उनले पारिश्रमिक आठ हजार रुपैयाँ तोकिएको थियो। मुम्बई आउँदाजाँदा दिनको दुईसय, गाडी, घुमफिर सबै दिन्थे। त्यतिबेला त्यो पैसा फालाफाल भएको थियो उनलाई।

 कथा अनुसार शिव श्रेष्ठले छाडेपछि उनलाई खोज्दै मुम्बई जानुपर्थ्यो कान्छी। विछोडमा आमाबुबा र साथीसंगीहरुका साथ रुनुपर्थ्यो। हिरोइनको पीडा देखाउन क्लोजअप सट लिइँदै थियो। तर जति ग्लिसिरिन हाले पनि आँसु चुहिएन्।

थापा रोऊ भन्थे, शर्मिला हाँस्थिन्। ‘सबैको आँखामा आँसु आयो, कृष्टी मैनाली मेरो साथी र मेरो आँखामा आँसु नै आएन, यसो हेरेको त मेरो आमा बन्नु भएको शान्ति मास्केको आँखा त आँसुले टन्नै। '

‘उहाँ साँच्चैको रोएको देखेर मेरो आँखा आफैं रसायो, धर्धरी रोएँ, थापा सर खुब खुसी हुनुभयो,' शर्मिलाले सम्झी।

अन्तिम दृश्य थियो होस हराएका शिव श्रेष्ठको अर्की हिरोइन सुष्मा शाहीसँग बिहे हुने। अर्कातिर विछोडको वियोगले अलपत्र कान्छीको शवयात्रा। सिन्दुर पोते आफैं लाएर शिवकी पत्नी भएर प्राण त्याग गर्छे कान्छी।

 'कान्छी'ले जोेडेको थापा र शर्मिलाको सम्बन्ध ‘मायाप्रीति'मा झन कसिलो भयो। एक छोराकी आमा बनिसके पनि उनको मुहारमा निर्दोषिता उस्तै थियो। भनेजस्तो नायिका नपाएपछि उनै शर्मिला दोहोरिन् थापाको 'मायाप्रीति'मा।

त्यतिबेला उनी अलि परिपक्व भइसकेकी थिइन्। 'थापा सरले सिकाएकोमा थपथाप गर्थें, म यसो गर्छु, हुन्छ कि हुन्न भनेर देखाउँथे,' उनले सम्भि्कइन्। उक्त फिल्ममा शर्मिलाका पति कृष्ण मल्लको पनि अभिनय थियो।

त्यस बीचमा बिएस थापा र शर्मिला मल्ल एकअर्काका घरपरिवारमा आउजाउ गर्थे। थापा कान्छीलाई डिमान्डिङ बन्न र राम्रो रोलमात्र खेल्न सुझाउँदै चिठी लेख्थे।

'दुई वर्षअघिमात्र आएर जानुभयो। तिम्रो लागि राम्रो फिल्म बनाउँछु भन्नुहुन्थ्यो,' थापाको निधनप्रति दुःखी हुँदै भनिन्, ‘मलाई छोरीजसरी माया गरेर कान्छी बनाएर जानुभयो।'

'कान्छी'कै रोलका कारण आज पनि उनलाई सडकमा मान्छेहरु नमस्कार भन्छन्। अहिलेका हिरोइनलाई सिट्टी बजाउँदा आफूले पाएको त्यो सम्मान थापाले दिएको ओजपूर्ण भूमिका नै ठान्छिन् उनी।

 

प्रकाशित: २९ श्रावण २०७३ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App