७ वैशाख २०८१ शुक्रबार
अर्थ

एकीकृत चेकपोस्ट स्थापना


रसुवा – चीनसँगको व्यापारीक नाका रसुवागढीमा एकिकृत चेकपोस्ट स्थापना गरिएको छ । चारवटा कार्यालय एकै ठाउँमा सञ्चालन हुने गरी चेकपोस्ट स्थापना गरिएको हो।

प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाका अनुसार चेकपोस्टमा अध्यागमन कार्यालय, भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरी रहने छ । चेकपोस्ट स्थापनाले यात्रुलाई सहज हुने प्रमुख भन्सार अधिकृत कोइरलाले बताए।

‘सीमा वारपार गर्ने यात्रुको चेकजाँच गर्नका लागि नाकामा चेकपोस्ट स्थापना गरिएको हो, उनले भने, ‘न्यूनतम भन्सार शुल्क तिर्नुपर्ने यात्रुले त्यहीँ शुल्क तिर्न सक्ने छन् ।’ नाकामा रहेको भन्सार कार्यालय भूकम्पका कारण पूर्ण क्षति भएपछि दुई किलोमिटर वरबाट कार्यालय सञ्चालन हुँदै आएको छ।

जसका कारण भन्सार शुल्क तिर्नका लागि टिमुरे आएर पुनः रसुवागढी पुग्नुपर्ने अवस्था आएको थियो । चेकपोस्ट स्थापनाले यात्रुको चेकजाँच गर्न र यात्रुले भन्सार शुल्क तिर्नका लागि सहज हुने छ । चेकपोस्टमा केही समयभित्रै एक्सरे मेसिन जडान गरिने प्रमुख भन्सार अधिकृत कोइरलाले बताए।

उनले भने, ‘विभागले केही समयभित्रै एक्सरे मेसिन उपलब्ध गराउने भनेको छ, एक्सरे मेसिन जडान गरेपछि अबैध सामग्री ओसारपसारमा कमी आउने छ।’

भन्सार सुधार कार्यक्रम अन्तर्गत एक करोड सात लाखको लागतमा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय रसुवाले प्रिफ्याब भवन निर्माण गरेको हो । २०७३ साउनदेखि निर्माण सुरु भएको करिब तीन महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

 

प्रकाशित: १४ माघ २०७४ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App