८ वैशाख २०८१ शनिबार
अर्थ

६ महिनामा पाँच हजार टेम्पो आयात

वीरगन्जको मेनरोडमा बिक्रीको लागि राखिएको टेम्पो। तस्बिर : रितेश/ नागरिक

वीरगन्ज – सार्वजनिक यातायातका लागि साना सवारीको रुपमा टेम्पो प्रयोग बढेपछि त्यसको आयातमा पनि भारी वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष ०७४–७५ को मध्यसम्म अर्थात पहिलो ६ महिनामा वीरगन्ज भन्सार नाका भएर पाँच हजारभन्दा बढी टेम्पो आयात भएको छ । यस अवधिमा गत आव ०७३–७४ को साउनदेखि पुससम्मको तुलनामा झन्डै दोब्बरको संख्यामा टेम्पो आयात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांक छ।

गाउँगाउँसम्म पुग्ने बाटोघाटो खुल्न थालेपछि यातायातका साधनका सेवाग्राही र माग बढेपछि टेम्पो आयात पनि बढेको हो

कार्यालयको तथ्यांकअनुसार गत आव पुससम्ममा दुई हजार ६ सय ३७ टेम्पो भित्रिएको थियो । यो वर्ष सोही अवधिमा पाँच हजार ६० टेम्पो आयात भएका छन् । गाउँगाउँसम्म पुग्ने बाटोघाटो खुल्न थालेपछि यातायातका साधनका सेवाग्राही र माग बढेकाले त्यही अनुसार टेम्पोको आयात पनि बढेको हो । वीरगन्ज नाका भएर भित्रिएका टेम्पो, तराईका जिल्लादेखि पहाडी सहर बजारसम्म जाने गरेका छन् । विभिन्न कम्पनीका टेम्पो विभिन्न ठाउँमा रहेका आधिकारिक बिक्रेतामार्फत टेम्पो चलाउनेहरुको हातमा पुग्ने गरेको छ।

‘अहिले टेम्पो आयातमा वृद्धि देखिएको हो,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेबन्तक पोखरेलले भने, ‘टेम्पोको मूल्यमा ३० प्रतिशत भन्सार महसुल, ५५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ९८ प्रतिशत राजस्व प्राप्त हुने गरेको छ ।’ बजारमा टेम्पोको माग बढेकोले आयातमा वृद्धि देखिएको भन्सार अधिकृतहरुको ठम्याइ छ । यो वर्ष ६ महिनामा आयात भएको पाँच हजार बढी टेम्पोबाट वीरगन्ज भन्सार कार्यालयलाई ९२ करोड ४७ लाख ८९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।

भन्सारमा आयातकर्ताले घोषित गरेको मूल्य र त्यसमा लागेको भन्सार महसुल जोड्दा प्रतिटेम्पोको मूल्य करिब तीन लाख रुपैयाँँ पर्न जान्छ । आयातकर्ताले वितरकको सोरुमसम्म पु¥याउँदा यसको मुख्य एउटाको साढे तीन लाख रुपैयाँ नाघिसकेको हुन्छ । बजारमा अहिले चार लाखदेखि साढे पाँच लाख रुपैयाँसम्मका टेम्पो छन् ।

‘यस्तो टेम्पो व्यक्तिगत प्रयोगका लागि कसैले किन्दैन, कनेर भाडामा चलाई रोजगारी गर्छन्, यसमा नगद आम्दानीको स्रोत भएकाले बैंकले पत्याएर लगानी पनि गरिरहेको छ, दैनिकदेखि मासिकसम्म किस्तामा तिर्ने ऋण सुविधा भएपछि यसका किन्ने ग्राहक बढेका हुन्,’ शान्ति मोटर्सका सञ्चालक विनय यादवले भने, ‘यसको कारोबार अहिले राम्रो चलेको छ, बिक्री बढ्दो छ ।’ सडकमा अहिले भारतका आधा दर्जन बेग्लाबेग्लै ब्रान्डका टेम्पोको संख्या बाक्लिँदै गएको छ।

 

प्रकाशित: १४ माघ २०७४ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App